• १३ असोज २०८१, आइतबार

बिदामा सेवा दिंदै प्रशासन कार्यालय इलाम

blog

जिल्ला प्रशासन कार्यालय इलाम । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), बैशाख १२ गते । जिल्ला प्रशासन कार्यालय इलामले १६ वटा पर्व र जयन्तीजस्ता बिदामा नागरिकलाई सेवा दिनेभएको छ । कामको चाप हुँदा शनिबार पनि सेवा दिंदैआएको जिल्ला प्रशासन कार्यालयले शनिबारसहित २०८० को १६ वटा बिदामा  नागरिकलाई सेवा दिने भएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नागरिकलाई जति सक्दो छिटो सेवा दिन शनिबारसहित बिदाका दिन पनि सेवा दिने काम थालेको जानकारी दिनुभयो । पोखरेल सरुवा भएर इलाम आउनु भएपछि शनिबार पनि राहदानी वितरण गरिंदैआएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार सरकारले  दिएका बिदाहरु उधौली,  उभौली, रक्षाबन्धन, कृष्णजन्माष्टमी, घटस्थापना, बुद्धजयन्ती, पृथ्बीजयन्ती, तमुल्होसार, सोनाम ल्होसार, माघी पर्व, जनयुद्ध दिवस, प्रजातन्त्र दिवस, महाशिवरात्री, अन्तर्राष्ट्रिय नारी दिवस, ग्याल्बो ल्होसार र इदउल फित्रलगायतका बिदामा पनि प्रशासन कार्यालय खुल्ने भएको छ ।

प्रजिअ पोख्रेलले भौगोलिक बिकट्ता भएको पहाडी जिल्लामा एक दिनमै काम सक्न नागरिकलाई असहज हुने र धेरै दिन बस्नुपर्दा सानो काम पनि खर्चीलो हुने भएपछि बिदामा पनि काम गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले दालालीमुक्त  प्रशासन बनाएका छौं, एकै दिनमा काम सकेर नागरिकलाई दिने हाम्रो लक्ष्य हो ।’ 

प्रशासन कार्यालयले कार्यालय परिसरबाट बिचौलिया हटाएर आफै सेवा दिन थालेको छ । बिचौलियाले काममा ढिलाई गरिदिने अनावश्यक झन्झट थपिदिने र महँगो शुल्क लिने गरेको पाइएपछि बिचौलिया हटाइएको प्रजिअ पाख्रेलले जानकारी दिनुभयो । 

प्रशासन कार्यालयले अनलाइनमार्फत भर्नुपर्ने फारम समेत आफै भरीदिन थालेको छ । जसका लागि स्थानीय पालिकासँग समन्वय गरी कर्र्मचारीको ब्यवस्थापन गरिएको छ । जिल्ला प्रशासनमा राहदानी सेवाको चाङ लाग्ने गरेकोमा हाल बिधुतीय बिचौलियाबिहिन बनाएर निःशुल्क फाराम भर्ने ब्यवस्था मिलाइएको छ । 

स्थानीय तहसँगको साझेदारी मोडलमा कर्मचारी थपगरी बिचौलियाबिहीन सेवा सुरु गरिएपछि राहदानी लिनेको भिड घटेको सो कार्यालयको भनाइ छ । बिहान र बेलुका गरेर दुई सिफ्टमा कर्मचारी परिचालन गरेर अहिले सेवा दिइँदैआएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । 

त्यस्तै राष्ट्रिय परिचयपत्र दैनिक ६० वटासम्म बितरण गरिदैआएकोमा हाल संख्या बढेर ८० पुगेको कार्यालयले जनाएको छ । राष्ट्रिय परिचयपत्र अहिले एकै दिनमा जारी गर्न थालिएको छ । जसका लागि एक जना कर्मचारी थप गरिएको छ । दैनिक ६५ बढी राष्ट्रिय परिचयपत्र र २५ बढी नागरिक्ता बितरण भइरहेको छ । 

इलामका १० वटा पालिकाले सेवा प्रवाह छिटो बनाउन कर्मचारी ब्यवस्थापनका लागि मासिक ८ हजार रुपियाँका दरले जिल्ला प्रशासनलाई आर्थिक सहयोग गरेका छन् । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले जिल्ला प्रशासनको काम छिटो भएर नागरिकले दुःख नपाउने भएपछि पालिकाले सहयोग गरेको जानकारी दिनुभयो । 

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी यादव राउतले प्रमुख जिल्ला अधिकारीले आँट गर्दा छरितो सेवा प्रवाह गर्न सम्भव भएको बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयमा हाल कुनै बिषयमा आर्थिक कुरा नजोडिई काम हुन थालेपछि नागरिले ब्यर्होनुपर्ने झन्झट हटेको बताउनुभयो ।