• १० पुस २०८१, बुधबार

दलबहादुर र मञ्जुलाई जुम्ला-रारा म्याराथन उपाधि

blog

म्याराथन उपाधि विजेता । तस्बिर : राखेप

काठमाडौं, वैशाख १२ गते । जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ दलबहादुर कुँवर र महिलातर्फ मञ्जु राउतले जित्नुभएको छ ।

कर्णाली स्पोर्टस् क्लबको आयोजनामा भएको ४९ किलो मिटरको दुरी दलबहादुरले चार घण्टा ५४ मिनट १० सेकेन्डमा र मञ्जुले ६ घण्टा ६ मिनट २३ सेकेन्डमा पूरा गर्नुभयो । उपाधिसँगै दुवै जनाले एक लाख रुपियाँ पुरस्कार पाउनुभयो । 

धीरबहादुर बुढा दोस्रो र सेरबहादुर बुढा तेस्रो हुनुभयो । महिलातर्फ गणना भण्डारी दोस्रो र अनिता बुढा तेस्रो हुनुभयो । दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ र ५० हजार रुपियाँ पुरस्कार पाए । म्याराथनमा पुरुषतर्फ ६१ र महिलातर्फ १० जना खेलाडीले भाग लिएका थिए ।

जुम्लाको २३५० मिटरको खलङ्ग बजारबाट सुरु भएको म्याराथन डाँफे पास, न्युरीघाट, चौथा, दाभा, चुचेमारा पास, मिली चौर हुँदै रारा तालको २९८० मिटर उचाइमा रहेको हुटुमा पुगेर सकिएको थियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङलगायतले पुरस्कार प्रदान गर्नुभयो । 

यसैबीच सदस्य सचिव घिसिङले जुम्ला कभर्डहलको उद्घाटन गर्नुभएको छ । जुम्ला चन्दननाथ नगरपालिका चारस्थित सिंघाचौरमा निर्माण हुने तीन सय क्षमताको कभर्डहलको अनुमानित लागत एक करोड ७१ लाख रुपियाँ रहेको छ ।