• १३ साउन २०८१, आइतबार

सेतीखोला जलविद्युत्मा डोल्माको लगानी

blog

काठमाडौँ, वैशाख १२ गते । सेती हाइड्रोपावर प्रालिले कास्कीको मुसाटुँडातोडामा निर्माणाधीन २२ मेगावाटको सेती खोला जलविद्युत् आयोजनामा डोल्मा इम्प्याक्ट फन्ड–२ ले ४३ करोड रुपियाँभन्दा बढी स्वपुँजी लगानी गर्ने भएको छ । कुल पाँच अर्ब पाँच करोड लागतमध्ये ऋण ७५ प्रतिशत र स्वपुँजी २५ प्रतिशतमार्फत वित्तीय व्यवस्थापनको टुङ्गो लागेको सो आयोजनाको स्वपुँजीमा ४९ प्रतिशत हिस्सा हुने गरी डोल्माले करिब ४५ करोड रुपियाँ लगानी गर्ने गरी कम्पनीसँग सम्झौता गरेको छ । 

निर्माणाधीन सो आयोजनामा सर्वसाधारणका लागि पनि ३० प्रतिशत हिस्सा छुट्याइएको छ भने बाँकी संस्थापकको लगानी रहने कम्पनीका अध्यक्ष अनुप आचार्यले जानकारी दिनुभयो । निजी क्षेत्रको आयोजना गरिएको डोल्माको यो सबैभन्दा ठूलो लगानी भएको डोल्माले जनाएको छ । आयोजनामा कुमारी बैङ्क लिमिटेडको अगुवाइमा नबिल बैङ्क र नेपाल पूर्वाधार विकास बैङ्कले ऋण लगानी गरेका छन् । आयोजना अत्यन्तै लागतप्रभावी र उच्च प्रतिफलयुक्त रहेकाले आयोजनामा उत्साहपूर्ण लगानी जुटेको आचार्यले बताउनुभयो । आयोजना निर्माणमा सम्पन्न गर्ने गरी सक्षम र व्यावसायिक समूहसमेत हामीसँग छ । सामाजिक र पर्यावरणीय सबै पक्षलाई उचित संरक्षण गर्ने गरी काम गरिरहेका छौँ ।”

वार्षिक १३ करोड ३० लाख युनिट विद्युत् ऊर्जा उत्पादन हुने अपेक्षा गरिएको सो आयोजनाको निर्माण करिब ४३ प्रतिशत सम्पन्न भएको र २०८१ साउनसम्ममा व्यावसायिक विद्युत् उत्पादन थाल्ने कार्ययोजना रहेको आचार्यले जानकारी दिनुभयो । आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्नका लागि १.५ किलोमिटर प्रसारण लाइनमार्फत लेखनाथ–दमौली १३२ केभीमा प्रसारण लाइनमा ल्याउने योजना छ । डोल्माले हालसम्म २८.१ मेगावाटको श्वेतगङ्गामा ३.२ मिलियन डलर र ६.४ मेगावाटका दुई सुरी खोला आयोजनामा २.३ मिलियन डलर र पाँच मेगावाटको सोलार बेलचौतारामा २.२ मिलियन डलर लगानी गरेको छ । तल्लो पौदारमा विद्युत्गृह रहने आयोजनाको हेडरेस टनेल ३१०० मिटरमध्ये १४५० मिटर पूरा भएको र बालुवा थिग्य्राउने पोखरी पनि ८५ प्रतिशत सम्पन्न भएको जनाइएको छ ।