• १३ साउन २०८१, आइतबार

धौलागिरि हिमालको आरोहण गर्दै स्पेनका ८३ वर्षीय आरोही कार्लोस

blog

स्पेनका ८३ वर्षीय कार्लोस सोरिया धौलागिरि हिमाल आरोहणका लागि बेसक्याम्पमा। तस्बिरः गोरखापत्र

म्याग्दी, वैशाख १० गते ।  स्पेनका ८३ वर्षीय कार्लोस सोरिया संसारको सातौँ अग्लो धौलागिरि हिमाल आरोहणका लागि यतिखेर बेसक्याम्पमा पुग्नुभएको छ । म्याग्दीको धौलागिरि गाउँपालिका -४ मुदीमा अवस्थित ८ हजार एक सय ६७ मिटर अग्लो हिमाल आरोहण कार्लोसको यो १३ औँ पटकको प्रयास हो । 

गत वर्ष १२ औँ पटकको प्रयासमा कार्लोस ७ हजार मिटरको उचाइमा रहेको पहिलो क्याम्पमा पुगेर फर्किनु भएको थियो । धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गर्नुभएका कार्लोसको दुई दशक यता १२ औँ पटक आरोहण गर्दा पनि धौलागिरिको चुचुरोमा पुग्ने सपना पुरा हुन सकेको छैन । धौलागिरि आरोहण गर्ने सपना पुरा गर्न यसपालि कार्लोस फेरी बेसक्याम्प पुग्नुभएको छ । 

सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटर भन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान राख्न कार्लोस सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा धौलागिरि हिमाल चढ्न लाग्नुभएको हो ।

प्रतिकुल मौसमका कारण यतिखेर कार्लोसको आरोहण दल बेसक्याम्पमा रोकिएको छ । कार्लोसको आरोहण दलको नेतृत्व मिङतेम्बा शेर्पाले गर्नुभएको छ । सेभेन समिटका तर्फबाट २५ जना विदेशी आरोही बेसक्याम्पमा पुगेको सेभेन समिटका प्रबन्धक थानेश्वर गुरागाईँले जानकारी दिनुभयो । अनुकूल मौसम भए २० देखि २५ दिन भित्रमा हिमाल आरोहण गर्ने उहाँले जानकारी दिनुभयो । 

‘‘स्पेनका ८३ वर्षीय पर्वतारोही कार्लोस सोरिया सहितको आरोही टिम १२ दिन अघि बेसक्याम्पमा पुगेको छ, अहिले त्यहाँ भारी हिमपात भइरहेको खबर आएको छ,’’ सेभेन समिटका गुरागाईँले भन्नुभयो, ‘‘आरोहीहरू अनुकूल मौसमको प्रतीक्षामा छन्, मौसममा सुधार आए लगत्तै आरोहीहरू धौलागिरिको चुचुरोतर्फ लाग्नेछन् ।’’ ८३ वर्षीय कार्लोसले यसपालि धौलागिरि हिमाल आरोहण गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

धौलागिरि हिमालमा हिजोआज भारी हिमपात भएका कारण आरोहीहरू बेसक्याम्पमै रोकिएको बेसक्याम्प पुगेर फर्किनुभएका अन्नपूर्ण गाउँपालिका– ३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । साथै धौलागिरि राउन्ड पदयात्राका लागि पुगेका पर्यटकहरू पनि भारी हिमपातका कारण  बेसक्याम्पबाट फर्किएको शेरचनले जानकारी दिनुभयो । 

Author

ठाकुरप्रसाद आचार्य