• ८ मंसिर २०८१, शनिबार

सहकारीमा छ थान नक्कली नोट फेला

blog

नक्कली नोट । फाइल तस्बिर

बाबुराम शर्मा
दोलखा, वैशाखा १० गते ।
 दोलखाको जिरी नगरपालिकास्थित एक सहकारीमा नक्कली नोट फेला परेको छ । कायममुकायम प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले वडा नम्बर ५ लिङ्कन बजारमा रहेको एकीकृत फ्रेन्डसीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत सङ्लनको क्रममा नक्कली नोट फेला परेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बजारबाट बचत सङ्लन गरी ल्याएका मध्ये एक सय, पाँच सय र एक हजारका जारी नोट नक्कली फेला परेको हो । एक सय र एक हजारको एक/एक वटा र पाँच सयको दुई वटा जाली नोट रहेका छन् । शङ्कास्पद नोट यहाँको प्रभु बैङ्कमार्फत परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

कामु प्रमुख कार्यकारी अधिकृत खत्रीले भन्नुभयो, ‘‘परीक्षणको रिपोर्ट आएको छैन । अहिले थप पाँच सयको एक थान र सयको एक थान नोट पनि शङ्कास्पद भेटिएका छन् । सहकारीको काउण्टरबाट नभेटिएकाले पत्ता लगाउन गाह्रो भएको छ ।’’

वडा नम्बर ५ मा मुख्य कार्यालय रहेको संस्थाले रामेछापको गोकुलगङगा र उमाकुण्ड गाउँपालिका, मन्थली नगरपालिका तथा भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिका तथा काठमाडौं समेतलाई कार्यक्षेत्र बनाएर सेवा प्रदान गरिरहेको छ । मुख्य कार्यालयअन्तर्गत जिरीको लिङ्कन बजार, मेलमिलाप सेवा केन्द्रअन्तर्गत हाटडाँडा, गर्जाङ, शिवालय, ठोसे, भुजी, प्रीतिलगायतका सेवा केन्द्रहरूमा बजार बचत सङ्कलन हुने गरेको छ ।

एकीकृत फ्रेण्डसीप साकोसले बजार बचत सङ्कलन गर्ने क्रममा जाली नोट प्राप्त भएकाले आर्थिक कारोबार गर्दा नोटको सही पहिचान गरी सक्कली नोटको मात्रा कारोबार गर्न संस्थाका सम्पूर्ण शेयर सदस्य र अन्य सर्वसाधारणमा आग्रह पनि गरेको छ । साकोसले कारोबारका क्रममा त्यस्ता सङ्कटास्पद नोट प्राप्त भएमा नजिकैको बैङ्क, वित्तीय संस्था वा प्रहरी कार्यालयमा जानकारी गराउन पनि आग्रह गरेको छ ।

जिल्लाको ठूला सहकारीहरू मध्येको एकीकृत फ्रेन्डसीप साकोसमा जाली नोट फेला परेपछि जसचेतन, मिलीजुलीलगायत अन्य जिल्लाका सहकारीहरूले पनि सतर्कता अपनाउन थालेका छन् ।