• १० पुस २०८१, बुधबार

अर्थतन्त्र उकास्न सरकार अग्रसर छ : उपप्रधानमन्त्री खड्का

blog

शुक्रबार वीरेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का । तस्बिर : नविन सुवेदी

नविन सुबेदी

सुर्खेत, वैशाख ८ गते  । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्तमान सत्ता गठबन्धन नेतृत्वको सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । शुक्रबार वीरेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । 

नेपाली कांग्रेसका उपसभापति समेत रहनुभएका खड्काले हरेक दृष्टिकोणबाट पछि रहेको प्रदेशको रूपान्तरणका निमित्त आफू र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको बताउनुभयो । कर्णालीमा नेपाली सेनाको माध्यमबाट भइरहेका विकासे कामको अनुगमन गर्ने तयारी भइरहेको समेत बताउनुभयो । 

‘चुनावका बेला प्रचण्ड र मैले सँगै कर्णालीका जिल्लामा चुनावी सभालाई सम्बोधन गरेका थियौँ’ उहाँले भन्नुभयो, “अहिले त्यहीअनुसार हामी कर्णालीको विकासका निमित्त हामी अग्रसर र प्रतिबद्ध छौँ ।’ खड्काले कर्णाली सरकारले पूर्णता पाएसङ्गै कर्णालीमा गरेका बाचा बचन र विकास रोजगारी लगायतका काम अगाडि बढ्ने बताउँदै बजेट निर्माण सोहीअनुरूप अगाडि बढेको बताउनुभयो । 

नेता खड्काले उपचुनाव लगतै मन्त्री परिषद् बिस्तार हुने समेत बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण यही महिनाको तेस्रो साता हुने बताउनुभयो । अहिले अर्थतन्त्र ऋणात्मक भएका कारण सरकारसामु केही समस्या रहेको उल्लेख गर्दै उहाँले अर्थतन्त्रलाई उकास्नतर्फ सरकार अग्रसर रहेको बताउनुभयो । गृहजिल्लाको भेरी नदी किनारमा बन्न लागेको आधुनिक सहर निर्माणको कार्यालय स्थापनाको उद्घाटन गर्ने र सोही ठाउँमा चलिरहेको खेलकुदको समापन कार्यक्रम सुर्खेत आउनुभएको छ ।