• १० पुस २०८१, बुधबार

कालीमाटीका विपन्न परिवारलाई जस्तापाता वितरण

blog

पालिका भित्र बसोबास गर्ने अति विपन्न घरपरिवारलाई जस्तापाता वितरण । तस्बिर L प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा
सल्यान, वैशाख ८ गते ।
जिल्लाको कालीमाटी गाउँपालिका भित्र बसोबास गर्ने विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको छ । कालीमाटी गाउँपालिकाले पालिका भित्र बसोबास गर्ने अति विपन्न २८० परिवारलाई जस्तापाता वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष दानबहादुर केसीले सात वडा रहेको पालिकामा प्रत्येक वडाबाट ४० गरी २८० घरलाई पाता वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार  चालु आर्थिक वर्षको पहिलो चरणमा २८० घरधुरीलाई जस्तापाता वितरण गरिएको छ ।

दुई वर्ष पहिलेदेखि पालिकाले खरको छाना हटाउन सुरु गरेको हो । अध्यक्ष केसीका अनुसार सरकारी जागिर नखाएको, छोराछोरीलाई निजी विद्यालयमा नपढाएको र जनप्रतिनिधि नभएकोलाई मात्र जस्तापाता वितरण गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडयालले वडा कार्यालयको सिफारिस अनुसार पहिलो चरणमा लक्षित समुदायलाई जस्तापाता वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार बढ्दो सुख्खा खडेरीका कारण आगलागीको प्रकोप बढी रहेको, जङ्गली जनावरबाट बच्न खरका छाना विस्थापनमा सहयोग पुग्ने छ ।

गाउँपालिकाबाट जस्तापाता पाउँदा निकै खुसी लागेको वडा नं. ३ का किमिरेकी तुल्सा डाँगीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हिजो आज खरको छना छाउन खर पाइँदैन । खडेरीमा कहीँ कतैबाट आगलागी भएर घर खरानी हुन्छ की भन्ने डरले सताइ रहन्थ्यो तर टिन पाएपछि निकै खुसी लागेको छ ।’’