• १३ साउन २०८१, आइतबार

भारतबाट दूध आयात गर्न छलफल

blog

काठमाडौँ, वैशाख ७ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले भारतबाट दूध तथा दुग्धजन्य पदार्थ आयात गर्ने कि नगर्ने विषयमा डेरी उद्योगी तथा सरोकारवालासँग छलफल गरेको छ । 

बोर्डले बुधबार नेपाली डेरी एसोसिएसन नेपाल, नेपाल डेरी उद्योग सङ्घ, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडलगायत अन्य सरोकारवालासँग छलफल गरेको छ । छलफलमा डेरी उद्योगीहरू भारतबाट झोल तथा धुलो दूधका साथै बटर पनि पनि आयात गर्नुपर्ने धारणा राखेका छन् । 

दूधको अभाव भएका कारण सीमित समयका लागि दूध आयात खुला गनुपर्ने धारणा डेरी उद्योगीले राखेको बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांशको धारणा दूध तथा दुग्धजन्य पदार्थ आयात गर्नुपर्ने भनेका छन् तर अहिले बोर्डले कुनै डिसिजन गरेको छैन, भोलि छलफल गरेर एउटा प्रतिवेदन कृषि मन्त्रालयलाई दिन्छौँ ।” उद्योगी तथा सरोकारवालाले राखेको धारणा तथा आफ्नो रायसहित एउटा प्रतिवेदन मन्त्रालयलाई बुझाउने बताउँदै उहाँले दूध तथा दुग्धजन्य पदार्थ ल्याउने कि नल्याउने निर्णय मन्त्रालयले गर्ने बताउनुभयो । 

डेरी उद्योगीले दूधको अभाव देखाउँदै भारतबाट आयात गर्न सरकारसँग माग गरिरहँदा किसानले आफूहरू दूध दिन तयार रहेको तर उद्योगी आफूकहाँ नआएको गुनासो गरेका छन् । राष्ट्रिय कृषक समूह महासङ्घका महासचिव रीता बस्ताकोटीले किसानसँग दूध जति पनि छ तर उद्योगीले सुगममा मात्र खोजेका कारण यो समस्या भएको बताउनुभयो । काभ्रे, पोखरा, हेटौँडा, चितवन, सिन्धुलीमा मात्र दूध खोजेर हुँदैन, त्योभन्दा पनि माथि जानुपर्छ, त्यहाँका किसानसम्म डेरी उद्योगीको पहुँच नै नरहेको उहाँले बताउनुभयो । डेरी उद्योगीको प्रतिस्पर्धा सुगम क्षेत्रमा मात्र देखिएको छ, त्यही कारण दूधको अभाव देखिएको उहाँले बताउनुभयो ।

केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडका अध्यक्ष अमरबहादुर कुँवरले पनि उद्योगीले सुगम ठाउँमा दूध खोजेका कारण अभाव देखिएको बताउनुभयो । “डेरी उद्योगीको कुरा सुन्दा अभाव छजस्तो लाग्छ तर खासमा दूधको अभाव छैन किनभने उद्योगी दूधका किसानसमक्ष पुगेका छैनन्,” उहाँले भन्नुभयो, “सबै उद्योगी काठमाडौँ उपत्यका वरपर मात्र दूध खोजेर बस्छन् । अझै पहाडी जिल्लामा जाँदा जति पनि दूध पाइन्छ ।”

दूध लिनका लागि ठाउँठाउँमा सङ्कलन केन्द्र बनाउनुपर्ने बताउँदै उहाँले न यो काम डेरी उद्योगीले गर्न चाहेका छन् न सरकारले नै गर्न चाहेको गुनासो गर्नुभयो । कतिपय ठाउँमा यतायातको समेत सुविधा छैन, किसानलाई दूध बजारसम्म पु¥याउने व्यवस्था मिलायो भने जति पनि दूध पाइन्छ, नेपालमा कहिले दूधको समस्या नहुने उहाँले दाबी गर्नुभयो ।

डेरी उद्योगीका अनुसार हाल दैनिक डेढ लाख लिटरदेखि दुई लाख लिटर दूध अभाव रहेको छ । केही दिनका लागि त्यति मात्र दूध ल्याउन दियो भने समस्या समाधान हुने उनीहरूको दाबी छ ।