• ८ मंसिर २०८१, शनिबार

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

blog

राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गरेपछि भिटामिन ‘ए’ खुवाइँदै । तस्बिर: केशब गुरुङ

तस्बिर: मनाेजरत्न शाही / केशब गुरुङ

काठमाडौँ, वैशाख ६ गते । सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैछ ।     

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जानकारी दिनुभयो ।

बालबालिकालाई नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई उहाँले आग्रह गर्नुभयो ।     

भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन महाशाखाले परिपत्र जारी गरेको छ ।     

भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने निर्देशक लालले बताउनुभयो ।

सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो ।

सरकारले बालबालिकालाई वैशाख र कात्तिकमा गरी दुई पटक भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ ।–रासस