• १३ साउन २०८१, आइतबार

बाँझो जग्गाबारे अध्ययन गर्न कार्यदल

blog

काठमाडौँ, वैशाख ६ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले कृषियोग्य बाँझो जमिनबारे अध्ययन गर्न एक कार्यदल गठन गर्नुभएको छ । 

कृषियोग्य जमिन बाँझो रहेका कारण कृषि उत्पादनमा कमी आएको भन्दै ती जमिनलाई कृषिका लागि कसरी उपयोग गर्ने ? त्यस विषयमा अध्ययन अनुसन्धान गरी प्रतिवेदन तयार गर्न उहाँले कृषि मन्त्रालयका सहसचिव डा. राजेन्द्र मिश्रको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको हो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार नेपालमा ५९.९ लाख हेक्टर कुल कृषियोग्य जमिनमध्ये १० लाख हेक्टर जमिन बाँझो रहेको छ । ती जमिनलाई कसरी प्रयोगमा ल्याएर कृषि उत्पादकत्व र उत्पादनलाई वृद्धि गर्ने तथा त्यसका बारेमा विस्तृत अध्ययन गर्नका लागि कार्यदल गठन भएको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो । 

वास्तविक किसानसँग जमिनको स्वामित्व नहुनु, अनुपस्थित भूस्वामित्वको स्थिति कायमै रहनु, कृषिमा श्रम गर्ने युवा शक्तिको पलायन, न्यून उत्पादकत्व, कृषि उत्पादन सामग्रीको कमी, कम नाफामुखी व्यवसाय र अपेक्षित रूपमा सम्मानित पेसाका रूपमा विकसित हुन नसक्नुलगायतका कारण जमिन बाँझो रहन गएको उहाँले बताउनुभयो ।

अब यसलाई कसरी व्यवस्थित गर्ने भनी त्यसको विस्तृत अध्ययन गर्ने उहाँले बताउनुभयो । नवनियुक्त मन्त्री भुसालले मङ्गलबार कृषि विभाग पुगेर ‘ब्रिफिङ’ लिने क्रममा बाँझो जमिनलाई व्यवस्थित गर्न निर्देशनसमेत दिनुभएको महानिर्देशक केसीले बताउनुभयो । उहाँले बाँझो जग्गालाई व्यवस्थित गरी कृषि उत्पादनमा वृद्धि गर्ने धारणा छलफलमा राख्नुभएको हो ।

खेतीयोग्य बाँझो जग्गा उपयोग गर्नेसम्बन्धी कार्यविधि, २०७२ अनुसार खाद्य तथा पोषण सुरक्षामा सुधार ल्याई संविधानप्रदत्त जनताको खाद्य सम्प्रभुता बढाउन बाँझो जग्गालाई सदुपयोगमा ल्याउनुपर्ने हुन्छ । बाँझो जग्गाको उपयोग गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने, अनुपस्थित भूस्वामित्वको अन्त्य गर्ने दिशातिर अगाडि बढ्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । बाँझो जग्गामा खाद्यान्न उत्पादन तथा पोषणा सुरक्षाका लागि मकै, धान, फापर, गहुँ, जौ, आलु, कोदोजस्ता बाली लगाउने कृषि मन्त्रालयले जनाएको छ तर त्यसका बारेमा विस्तृत अध्ययन गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।