काठमाडौँ, वैशाख ५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आह्वान गर्नुभएको छ ।
संवैधानिक परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले वैशाख ८ गते शुक्रबार बिहान ९ बजे बस्ने गरी परिषद्को बैठक आह्वान गर्नुभएको हो । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शीर्ष नेताहरूबीच सोमबार भएको बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा सहमति जुटेपछि प्रधानमन्त्रीले बैठक आह्वान गर्नुभएको जानकारी दिनुभयो ।
संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ । त्यसैगरी प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका प्रमुख प्रतिपक्षी दलका नेता र प्रतिनिधि सभाका उपसभामुख सदस्य रहने व्यवस्था छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग लागेसँगै सर्वोच्च अदालत कायममुकायमको भरमा चल्दै आएको छ । अहिले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की हुनुहुन्छ ।
शीर्ष नेताबीच छलफल
यसैबीच सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाली कांग्रेस तथा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शीर्ष नेताहरूबीच सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया चाँडै सुरु गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटस्थित ओली निवासमा सोमबार भएको छलफलमा प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने सहमति भएको हो ।
सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताहरूको उपस्थिति रहेको बैठकपछि प्रधानमन्त्री प्रचण्डले महìवपूर्ण सहमति भएको जानकारी दिनुभयो । बैठकमा मुख्यतः प्रधानन्यायाधीश नियुक्ति, संवैधानिक परिषद्सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई सहमतिका साथ अघि बढाउने विषयमा छलफल भएको छ ।
बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सर्वोच्च अदालतमा लामो समयदेखि कायममुकायम प्रधानन्यायाधीश रहनुभएकाले सर्वोच्चको नेतृत्व कार्यवाहकभन्दा पनि प्रधानन्यायाधीश नै बनाउनुपर्छ भन्ने विषयमा केन्द्रित रहेर कुराकानी भएको बताउनुभयो ।
उहाँका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु गर्ने सन्दर्भमा प्रस्ताव गर्नुभएको थियो । उहाँले प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक आह्वान गर्ने र बैठक बसेर प्रधानन्यायाधीश नियुक्तिको विषयलाई टुङ्ग्याउने निर्णय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रधानन्यायाधीश नियुक्तिका सन्दर्भमा प्रधानमन्त्रीज्यूले प्रस्ताव गर्नुभयो । त्यसपछि शीर्ष नेताबीच व्यापक छलफल भयो । प्रधानमन्त्रीज्यूले संवैधानिक परिषद्को बैठक आह्वान गर्ने र प्रधानन्यायाधीशको बारेमा निर्णय गरेर अघि बढ्ने प्रस्ताव राख्नुभयो । त्यसलाई प्रमुख प्रतिपक्षी दलको नेताले हुन्छ भन्नुभएको छ ।”
एमाले संसदीय दलका सचेतक महेशकुमार बर्तौलाले सभामुखको उपस्थितिमा तीन दलका शीर्ष नेताबीच भएको बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्ने र विधेयक पारित गर्ने सन्दर्भमा सहमतिका साथ अघि बढ्ने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “१५ महिनादेखि सर्वोच्च अदालत कायममुकायमका भरमा छ । प्रधानन्यायाधीश नियुक्तिको विषयलाई अविलम्ब अगाडि बढाउने सहमति तीन दलबीच भएको छ । यस विषयमा प्रधानमन्त्री अघि बढ्नुहुनेछ । एमालेका तर्फबाट सहयोगमा कुनै कमी रहँदैन ।”
कांग्रेस नेता लेखक र एमाले नेता बर्तौलाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई सहमतिमा टुङ्ग्याउने, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई सहमतिका साथ अघि बढाउने विषयमा पनि छलफल भएको बताउनुभयो । उहाँहरूले संसद्का विषयगत समितिहरूलाई यथाशीघ्र पूर्णता दिने विषयमा पनि शीर्ष नेताहरूबीच समझदारी कायम भएको बताउनुभयो ।
सत्ता साझेदार दलको बैठक
यसैबीच सत्ता साझेदार पाँच दलबीच सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका सम्बन्धमा छुट्टै छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयक र संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई सहमतिका साथ अघि बढाउने सन्दर्भमा छलफल भएको हो ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शीर्ष नेताहरूबीच विधेयकको सन्दर्भमा छलफल भएको हो । उहाँले भन्नुभयो, “शीर्ष नेताहरू छलफलमा हुनुहुन्छ । तर ठोस निर्णय भइसकेको छैन ।”
बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे सहभागी हुनुहुन्थ्यो । कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र संसदीय दलका प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुहुन्थ्यो ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, जनता समाजवादी पार्टीका नेता राजेन्द्रकुमार श्रेष्ठ र लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी बैठकमा सहभागी हुनुहुन्थ्यो ।