• २२ वैशाख २०८२, सोमबार

कक्षा १२ : सिरिजङ्गामा ४५ मिनेट र गढीमा २५ मिनेट ढिला परीक्षा सुरु

blog

निर्धारित समयमा प्रश्नपत्र नपाएपछि कुरेर बसेका विद्यार्थी। तस्बिरः राधा लुइटेल

राधा लुइटेल

फिदिम, वैशाख २१ गते। पाँचथरको सिरिजङ्गा मा.वि गोपेटारमा प्रश्नपत्र पिन्ट गर्न कठिनाइ हुँदा कक्षा १२ को परीक्षा सुरु गर्न ४५ मिनेट ढिला भएको छ।आइतबार सुरु भएको परीक्षाको पहिलो दिन परीक्षा नियन्त्रण कार्यालयबाट आएको प्रश्नपत्र प्रिन्ट गर्न ढिलाई हुँदा परीक्षा ४५ मिनेट ढिलो मात्रै सुरु भएको परीक्षार्थीले जनाएका छन् ।

‘हामी निर्धारित समयमै परीक्षा हल प्रवेश गरेका थियौं, प्रश्नपत्र प्रिन्ट गर्न कठिनाई भएको भन्दै होल्ड गरियो, बल्ल तल्ल ८:४५ मा मात्रै सुरु भयो’, परीक्षार्थी दिपिका लिम्बूले भन्नुभयो ।

यसैगरी सदरमुकाम फिदिम–४ को गढी माध्यामिक विद्यालयमा पनि २५ मिनेट ढिलागरी परीक्षा सुरु भएको थियो। परीक्षा नियन्त्रण कार्यालयबाट इमेलमा आएको प्रश्न पत्र पिन्ट गर्न खोज्दा प्रिन्टरले काम नगरेपछि  परीक्षा सुरु गर्न ढिलाई भएको केन्द्राध्यक्ष मानधोज थाम्सुहाङले जानकारी दिनुभयो ।

कार्टेजको मसी सकिएका कारण प्रश्नपत्र समयमै प्रिन्ट हुन नसक्दा निर्धारित समयमा परीक्षा सुरु गर्न कठिनाई भएको उहाँको भनाइ छ।आइतबार सुरु भएको कक्षा १२ को परीक्षाका लागि जिल्लामा १० वटा परीक्षा केन्द्र तोकिएका छन्।बाँकी ८ वटामा बिहान ८ बजे निर्धारित समयमै परीक्षा सुरु भएको र शान्तिपूर्ण ढंगले भएको केन्द्राध्यक्षले जनाएका छन्।यसवर्षको जिल्लाबाट  परीइक्षामा दुई हजार चार सय ६३ विद्यार्थी सहभागी छन्।