अर्जुन काफ्ले
स्याङ्जा, पुस ७ गते । हरिनास गाउँपालिकामा आयोजित अन्तर विद्यालय स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनजागृती माध्यमिक विद्यालयले जितेको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ हरिनास गाउँपालिकास्थित खेल मैदानमा सम्पन्न प्रतियोगितामा जनजागृती माविले आठ स्वर्ण, दुई रजत र छ कास्य गरी कुल १६ पदक हासिल गर्दै प्रथम स्थान प्राप्त गरेको हो ।
यस्तै पिताम्बर माध्यमिक विद्यालयले पाँच स्वर्ण, छ रजत र पाँच कास्य गरी १६ पदक सहित उपविजेता बन्न सफल भएको हो ।
यस्तै, चार स्वर्ण, आठ रजत र चार कास्य पदकसहित महिमा माध्यमिक विद्यालयले तृतीय स्थान हात पारेको हो ।
विजेता, उपविजेता र तृतीय हुने विद्यालयलाई गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मानन्धरले गाउँपालिकाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलकुदलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले अनुशासन, स्वास्थ्य र नेतृत्व विकासमा महत्वपूर्ण योगदान दिने बताउनुभयो । प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न नौ वटा विद्यालयको सहभागिता रहेको थियो ।