• ७ पुस २०८२, सोमबार

प्रतिष्ठानद्वारा गुल्मी अस्पताललाई इन्जेक्सन प्रदान

blog

गुल्मी अस्पताललाई इन्जेक्सन हस्तान्तरण हुँदै । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), पुस ७ गते ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मीले जिल्ला अस्पताल गुल्मी अस्पताल तम्घासलाई इन्जेक्सन सहयोग गरेको छ । गुल्मी अस्पतालमा आउने बाथ मुटु रोग लागेका बिरामीहरुका लागि निःशुल्क वितरण गर्ने गरी बेन्जाथेन पेन्सिलिन इन्जेक्सन हस्तान्तरण गरेको प्रतिष्ठानका सभापति ताराप्रसाद भुसालले जानकारी दिनुभयो ।

भुसालका अनुसार मागको आधारमा १०० भाइल इन्जेक्सन प्रदान गरिएको हो । यो वर्ष बेन्जाथेन पेन्सिलिन इन्जेक्सन लगाउने गुल्मी जिल्ला अस्पतालमा सात जना बिरामी रहेका छन् । अहिले तिनीहरूको लागि आवश्यक पर्ने १०० भाइल प्रदान गरिएको र बिरामीको सङ्ख्या बढेमा इन्जेक्सनको मात्र बढाएर दिने भुसालले बताउनुभयो ।

प्रतिष्ठानका केन्द्रीय सदस्य अखिलेश्वर प्रसाद पाण्डे र गुल्मी अस्पताल विकास समिति अध्यक्ष गोपाल पाण्डेको उपस्थितिमा प्रतिष्ठानको तर्फबाट सामग्री निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रज्ञा शाक्यलाई हस्तान्तरण गरिएको हो । अस्पताल विकास समितिका अध्यक्ष पाण्डेले प्रतिष्ठानको असल सामाजिक कामले बिरामी र अस्पताल दुबैलाई निकै सहयोग पुगेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका सभापति ताराप्रसाद भुसालले आगामी दिनमा अस्पताललाई आवश्यक पर्ने सहयोगका लागि प्रतिष्ठान सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले यसअघि पनि मुटुसम्बन्धी स्वास्थ्य शिविर, विद्यालयस्तरमा विद्यार्थीहरूको मुटु जाँच तथा जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ ।