• ८ मंसिर २०८१, शनिबार

वीरमा बन्दै छ जलन उपचार कक्ष

blog

वीर अस्पतालमा जलन उपचार कक्षका लागि तयार पारिएका शय्या ।

काठमाडौँ, वैशाख ४ गते । तीन महिनाभित्र वीर अस्पतालमा जलन उपचार कक्ष (बर्न वार्ड) सञ्चालन गर्ने घोषणा भएको समय व्यतीत हुन लाग्दा सामान्य भौतिक पूर्वाधार मात्र तयार भएको छ। दुई महिनामा सामान्य भौतिक पूर्वाधार तयार भएको छ भने आवश्यक उपकरण र जनशक्तिको व्यवस्था अझैसम्म भएको छैन।

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी २०७९ फागुन ३ गते राति ग्यास विस्फोटमा परेर घाइते हुँदा नेपालमा उपचार हुन सम्भव नभएपछि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो। सोही घटनामा उहाँकी आमाको भने निधन भएको थियो।

नेपालमा कीर्तिपुर बर्न अस्पताल मात्र जलनको उपचारका लागि राम्रो अस्पताल मानिएकोमा त्यहाँ पनि उपचार हुन नसक्दा सांसद भण्डारीलाई हवाई एम्बुलेन्समार्फत बाहिर लानुपरेको थियो। नयाँ वर्ष २०८० का अवसरमा भिडियो सन्देश जारी गर्दै उहाँले अब आफू नेपालमा नै आएर उपचार गर्ने बताउनुभएको छ।

सोही घटनाबाट नेपालमा राज्य तहमा जलन अस्पताल नरहेको उजागर भएको थियो। त्यससम्बन्धी समाचार गोरखापत्रमा प्रकाशित भएको भोलिपल्ट २०७९ फागुन ५ गते वीर अस्पतालका कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका डा. सन्तोष पौडेलले पहिलो निर्णय गर्दै तीन महिनाभित्र वीर अस्पतालमा अत्याधुनिक जलन उपचार कक्ष निर्माण गर्ने घोषणा गर्नुभएको थियो। उहाँले घोषणा गरेको दुई महिना हुन लागेको छ। अबको एक महिनाभित्र वीर अस्पतालमा अत्याधुनिक जलन उपचार कक्ष सञ्चालनमा आइसक्नुपर्ने हुन्छ। 

कार्यकारी निर्देशक डा. पौडेलले भौतिक पूर्वाधार तयार भए पनि उपकरण र जनशक्ति आवश्यक रहेको जानकारी दिनुभयो। उहाँले जलन उपचार कक्ष निर्माणका लागि प्लास्टिक सर्जन डा. पशुपतिबाबु पोखरेलको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा काम अघि बढिसकेको बताउनुभयो। उक्त समितिले जलन वार्ड कहाँ राख्ने, कति क्षमताको हुने, जनशक्ति कति राख्ने, अन्य उपकरण के कति राख्ने भन्ने विस्तृत विवरणसहितको प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा जनशक्ति, भौतिक पूर्वाधार र उपकरणलगायतको प्रक्षेपण छ। 

भौतिक पूर्वाधार तयार भइसकेको भन्दै डा. पौडेलले अब उपकरण र जनशक्ति व्यवस्था भएको अवस्थामा वीरमा जलन उपचार कक्ष पूर्णरूपमा सञ्चालनमा आउने बताउनुभयो। डा. पौडेलले वीर अस्पतालका लागि लोकसेवा आयोगले पदपूर्ति गरेका तीन सय नर्सिङ जनशक्ति वैशाखभित्र आएको अवस्थामा जनशक्तिको अभाव नहुने दाबी गर्नुभयो। “जलन उपचार कक्षका लागि नर्सिङ जनशक्ति आवश्यक हो,” डा. पौडेलले थप्नुभयो, “वैशाखभित्र नर्सिङ जनशक्ति आएको अवस्थामा जलन उपचार सञ्चालन गर्न जनशक्तिको अभाव हुँदैन।”

उहाँले चिकित्सकको भने अभाव नभएको बताउनुभयो। “हामीसँग प्लास्टिक सर्जरीको छुटटै टिम रहेको छ,” डा. पौडेलले भन्नुभयो, “तीनजना कन्सलटेन्ट पनि रहेकाले चिकित्सक अभाव छैन।” 

जलन उपचारका लागि समितिले प्रतिवेदन बुझाइसकेपछि काम तीव्र रूपमा अघि बढेको उहाँको भनाइ छ। “मैले तीन महिनाभित्र जलन उपचार कक्ष सञ्चालन गर्ने आँट गरेर निर्णय गरेको थिएँ,” डा. पौडेलले भन्नुभयो, “दुई महिना पुग्नै लाग्दा भौतिक पूर्वाधारको सम्पूर्ण काम पूरा भयो। अब नर्सिङ जनशक्ति र उपकरण आउनासाथ जलन उपचार कक्ष सञ्चालन गर्नेछौँ।”

अस्पतालका प्रवक्ता सागर मिश्रले जलन उपचार कक्षका लागि आवश्यक उपकरण खरिदका लागि स्वास्थ्य तथा जनसङख्या मन्त्रालयलाई लागतसहितको प्रतिवेदन पठाइसकेको जानकारी दिनुभयो। उहाँले १० वटा छुटटै शय्या र पाँचवटा आईसीयू तयारी अवस्थामा रहेको बताउनुभयो। प्रवक्ता मिश्रले जलन वार्ड र आईसीयू गरी १५ शय्याबाट जलन उपचार कक्ष सञ्चालन गरिने बताउनुभयो। 

जलन वार्डका लागि छुटटै शल्यक्रिया कक्ष आवश्यक हुने भएकाले दुईवटा शल्यक्रिया कक्ष पनि छुटटै तयारी अवस्थामा रहेको उहाँको भनाइ छ। 

   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।