• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिमलाई देशकै समृद्ध प्रदेश बनाउँछौं : मुख्यमन्त्री शाह

blog

बजेट तथा योजना तर्जुमा सम्बन्धी प्रदेश सभा सदस्यसँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कमलबहादुर शाह। तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

गोदावरी (कैलाली), वैशाख ३ गते। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमलाई समृद्ध र देशकै नमूना प्रदेश बनाउन हरेक पक्षसँग समन्वय, छलफल गरिरहेको बताउनुभएको छ।

आर्थिक वर्ष २०८०/८१ बजेट तथा योजना तर्जुमा सम्बन्धी प्रदेश सभा सदस्यसँग छलफल तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो। प्रदेश सरकार रोजगारी बढाउन र उद्योग धन्दा सञ्चालन गर्न ऐन, नियम कहाँ समस्या छन् भनेर समाधान गर्न तयार रहेको बताउनुभयो। 

मुख्यमन्त्री शाहले प्रदेशको सीमित स्रोत साधनको उपयुक्त तरिकाले सदुपयोग गर्ने बताउदै स्थानीय र सङ्घ सरकारसँग राम्रो समन्वय गर्ने दाबी पनि गर्नुभयो। उहाँले विगतको सरकारका पाँच वर्ष राम्रा कामको अनुशरण गर्ने र नराम्रा काम सच्चाएर जाने बताउनुभयो।

उहाँले सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय गौरवका आयोजना छिटोछरितो ढंगले पूरा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको उहाँको भनाइ छ। फरक प्रसंगमा बोल्दै मुख्यमन्त्री शाहले सङ्घीयता, गणतन्त्र, जनप्रतिनिधिलाई कमजोर बनाउने क्रियाकलाप भइरहेको भन्नुहुँदै त्यसलाई अन्त्य गर्न सरकार जिम्मेवार रहेको बताउनुभयो। प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले सङ्घीयता बलियो बनाउने गरेर प्रदेश सरकारका गतिविधि हुनुपर्ने भन्नुहुँदै सुदूरपश्चिमलाई समृद्ध बनाउन सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो। 

भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले प्रदेश सरकार विगतमा बदनाम भएको चर्चा गर्दे अब आफूहरुले विगतका गल्ती सुधार गर्ने बताउनुभयो। 

आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले असाध्यै महत्वपूर्णरुपमा प्रदेश सभा सदस्यका भनाइ आएकोले ती विषय कार्यान्वन गर्ने गरेर लाग्ने बताउनुभयो। उहाँले सुदूरपश्चिमबाट नेपालमै सकारात्मक सन्देश दिने गरेर बजेट ल्याउने विश्वास व्यक्त गर्नुभयो।

नेकपा (एमाले) का संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सही ढंगले सरकारले बजेट ल्याएर काम गरे आफूहरुले सहयोग गर्ने बताउनुभयो। उहाँले योजना बेच्ने विचौलियालाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो।

छलफलमा प्रदेश सभा सदस्यले प्राथमिकताका आधारमा बजेट तथा योजना बनाउनु पर्नेमा जोड दिएका छन््। नागरिक उन्मुक्ती पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले सुदूरपश्चिम प्रदेश कृषिमा उर्वर भएकोले कृषि र जडीबुटीमा ध्यान दिएर बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो।

प्रदेशको आर्थिक मामिला मन्त्रालयद्वारा आयोजित कार्यक्रममा नेपाल सरकारका सचिव उदय सापकोटा, पूर्व मुख्यसचिव डा. सोमलाल सुवेदी, सुदूरपश्चिमका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीले कानुन तर्जुमा, बजेट तथा कार्यक्रम र सुदूरपश्चिमको वर्तमान आर्थिक अवस्था तथा भावी कार्यदिशाबारे प्रस्तुति गर्नुभएको थियो। कार्यक्रममा आर्थिक मामिला मन्त्रालयका सचिव डा. नारायणप्रसाद रेग्मीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो।