• १३ साउन २०८१, आइतबार

आन्तरिक पर्यटकको रोजाइमा ढकेरी पार्क

blog

बाँकेको ढकेरी पार्कमा घुम्दै आन्तरिक पर्यटक । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, बैशाख ३ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका –९ ढकेरीमा अवस्थित वनस्पति उद्यान पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । विभिन्न प्रजातिका फुलहरू ढकमक्क फुलेका कारण पछिल्लो समय पार्कमा आउने र टिकटक बनाउनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्न थालेको छ ।  

ढकेरी वनस्पति उद्यानका सहायक वैज्ञानिक अधिकृत रामकृष्ण भण्डारीका अनुसार नयाँ वर्ष २०८० को पहिलो दिन वैशाख १ गते करिब एक हजार जनाले पार्कको अवलोकन गरेका छन् । 

“सामाजिक सञ्जाल टिकटक बनाउनकै लागि दाङ, बर्दियालगायतका जिल्लाबाट समेत पर्यटकहरू आउनेगरेका छन्” सहायक वैज्ञानिक अधिकृत भण्डारीले भन्नुभयो, “अहिले ढकेरी पार्क आकर्षक र रोमाञ्चक पनि भएको छ ।” अन्य समयमा सार्वजनिक बिदाको दिनमा २०० जनासम्म आउने, पार्कमा सामान्य दिनमा दैनिक २० देखि ५० जनासम्म आउनेगरेका छन् ।

नयाँ वर्षको दिनमा खजुराबाट पार्क घुम्न आउनुभएका देवबहादुर बिसीले सुन्दर पार्कभित्र प्रवेश गर्दा मनै आनन्दित भएको अनुभूति भएको बताउनुभयो । “चारैतिर फूलको पार्क भएका कारण यहाँ आएर घुम्न एकदमै आनन्ददायक छ” बिसीले भन्नुभयो, “पहाडको नजिकै भएका कारण गर्मी समयमा शीतलताको पनि अनुभूति हुनेगरेको छ ।”

पार्कभित्र विभिन्न थरिका फुलहरूले यतिबेला चारैतिर रङ्गिएको छ । पार्कभित्र विभिन्न प्रजातिका फूलसहित करिब चारसय प्रजातिका अन्य वनस्पति रहेका छन् । पार्कभित्र चेरी, डालिया, पिटुनियालगायतका बहुबर्षीय र मौसमी फूलहरू छन् । 

पार्कमा अध्ययनका लागि काठमाडौं, पोखरालगायतका विद्यार्थी आउनेगरेका छन् । ढकेरी पार्कले वनस्पतिहरूको सङ्कलन, पहिचान र  संरक्षणको क्षेत्रमा काम गर्दैआएको छ । ढकेरी पार्क अवलोकनका लागि भारतीय पर्यटक समेत आउनेगरेका छन् ।