• ८ मंसिर २०८१, शनिबार

बाँचून् बसून् हर्षले (कविता)

blog

आऊन् रात खुलेर चन्द्र नभमा धर्ती हुँदै जग्मग

पृथ्वी फूल फुलेर वाग वनमा बास्ना चलून् मग्मग

छल्केका नव प्रात छाल जलधि रङ्गिन भै पूर्वले

झुल्को ज्योति नयाँ मुहान अबको ल्याऊन् नयाँ वर्षले ।


धारा अमृतका बगाऊ अब ए आकाशका बादल

जागून् फाँट विकास गाउँ सहरै घन्केर नै मादल

स्वप्ना भङ्ग निरास दिक्क मनमा यौटा नभै हर्षले

खोलून् मार्ग नयाँ उचा शिखरमा पुग्ने नयाँ वर्षले । 


जागून् राष्ट्र बनाउने त क्षमता नेताहरूमा पनि

उच्चा सोच विचारवान जनता हुन् विश्वका नै धनी

भारी बोक्छ बगाउँदै छ पसिना भोकै नहुन् खर्चले

कालो बादल आउँदा दिन नयाँ फेरि बले वर्षले ।


हावा स्वच्छ बहोस् न देश अब ता ढोका खुलून् सुन्दर

छाओस् छानु बनोस् स्वर्णमयको यो देश हाम्रो घर

पाकेका सबको मिठो महलमा खाँदै बसून् हर्षले

आओस् अद्भुत शक्ति ल्याऊ नव यो निर्माणको वर्षले ।


उघ्रून् माथ उचा विचार गतिलो ढोका नयाँ कर्मले

फेरि छेउ नलेउ बास अवतार कालो फँणा सर्पले

नेपाली शिर यो सगौरव यहाँ बाँचून् बसून् हर्षले

छाती कल्मष नास यो तिमिरको हाम्रो नयाँ वर्षले ।