• ८ मंसिर २०८१, शनिबार

पराक्रमी योद्धा अङ्गद घले

blog

गण्डक क्षेत्रका शासकको नाम लिनुपर्दा घले राजाको नाम आउँछ । यस प्रसङ्गमा लिगलिगकोटको इतिहासबाट चर्चा गरौँ । पहिले लिगलिगकोटमा घले राजाले शासन गर्ने गर्थे । त्यहाँ शाह राजाको उदय भएपछि घलेहरूको राज्य विस्थापित हुन पुग्यो । 

स्थानीय जनश्रुतिअनुसार घलेहरूमध्येबाट राजा छानिँदा चोरकाँटेदेखि जो पहिले लिगलिगकोटमा पुग्छ, उही राजा हुने चलन थियो तर घले राजासँग लमजुङका दुरा र घिमिरेहरू बिच्किएका थिए । यस्तै गोरखाका नारायण अज्र्याल पनि गोरखाका खड्का राजाविरुद्ध थिए । अज्र्यालले मुकुन्द सेनका फौजमा रहेका गणेश पाँडेसँग लमजुङको रागिनासकोटमा बसेका द्रव्य शाहलाई ल्याएर गोरखाको राजा बनाउने सल्लाह गरे । द्रव्य शाहसँग पनि यस विषयमा सल्लाह भयो । उनीहरूको सल्लाहअनुसार द्रव्य शाह लमजुङबाट गोरखाको छोप्राक आइपुगे । भगीरथ पन्त, सर्वेश्वर खनाल, केशव बोहरा, मुरली खवासका साथ उनी छोप्राक आइपुगे ।

अज्र्यालको सल्लाहअनुसार द्रव्य शाहलाई लिन गणेश पाँडे र गङ्गाराम राना लमजुङ पुगेका थिए । उनीहरूले गोरखा आक्रमण गर्नुअघि लिगलिगकोट कब्जा गरे । अहिले पनि लिगलिगमध्येको महिबलथोकभन्दा तल रहेको पाँच्यानमा द्रव्य शाहले लिगलिगका घलेका पाँच नाइकेलाई मारेकाले यस ठाउँलाई पाँच चिहान अर्थात् पाँच्यान भनिएको हो । त्यसपछि मात्रै द्रव्य शाहले गोरखा कब्जा गरेका हुन् (दिनेशराज पन्त, गोरखाको इतिहास’ भाग १–२०४१ः४८–४९) ।

लिगलिगकोट तथा बारपाकका घले राजाहरूको चर्चा गर्दा उनीहरूको विरासत धान्ने आधुनिक नेपालका योद्धा सरदार अङ्गद घलेलाई पनि सम्झनुपर्ने हुन्छ । उनी एक पराक्रमी योद्धाका रूपमा सक्रिय देखिन्छन् । उनले विभिन्न महìवपूर्ण युद्धहरूमा भाग लिएका थिए । संस्कृतिविद् डा. जगमान गुरुङको भनाइअनुसार यहाँ चर्चा गर्न लागिएको अङ्गद घले धादिङका हुन् । उनी गोरखाका राजा राम शाहबाट ज्यान बचाउन धादिङतिर भागेका सुर्तानका सन्तान हुन सक्छन् ।

गढवाल र काँगडामा अङ्गद घले

अङ्गद घलेबारे सम्पूर्ण जानकारी प्राप्त छैन तर केही ऐतिहासिक आधारहरू हेर्दा उनी रणबहादुर र गीर्वाणयुद्धविक्रम शाह नेपालको राजा भएको समयमा एक पराक्रमी सैनिकका रूपमा सक्रिय भएको देखिन्छ ।

उनी डम्बर घलेका नाति र कालु घलेका छोरा थिए (चित्तरञ्जन नेपाली, श्री ५ रणबहादुर शाह’–२०७५ः११०) । रणबहादुर शाहले बनारस बस्दा त्यहाँका साहुमहाजनबाट ठूलो रकम कर्जा लिएका थिए । उनीहरूको कर्जा तिर्न वि.सं. १८६० मा राजा गीर्वाणयुद्धविक्रम शाहले आफ्नी दिदीको विवाह हुँदा भारदारहरूले दिनुपर्ने गोडधुवा माफ गरी त्यसको सट्टा उनीहरूबाट सलामी रकम तोकेरै मागिएको थियो । त्यसबेला सरदार अङ्गद घलेलाई २७२ रुपियाँ चार आना सलामी तोकिएको थियो (नेपाली, २०७५ः१२८) ।

उनी वि.सं. १८३८ भन्दा केही वर्षअघि र वि.सं. १८६७ सम्म लगातार युद्ध मैदानमा रहेको देखिन्छ । झन्डै ३० वर्षजति युद्ध मैदानमा रहँदा उनी पूर्वमा विजयपुर र पश्चिममा काँगडासम्म युद्ध लड्दै पुगेको देखिन्छ । उनले प्रायःजसो बडाकाजी अमरसिंह थापाको मोर्चामा रहेर युद्ध लडेका थिए ।

वि.सं. १८६१ मा गढवाल राज्य कब्जा गर्ने अभियान चलाइँदा त्यसमा सरदार अङ्गद घले खटिएका थिए । गढवाल अभियानमा नयाँ गोरख, पुरानो गोरख, बरख, रामदल र रणदल गरी जम्मा पाँचवटा सैनिक पल्टन खटिएको थियो । यस्तै सल्यान, डोटीमा कार्यरत पाँचवटा तथा कुमाउँ क्षेत्रमा गठन गरिएका पाँचवटा अरू सैनिक पल्टनसहित अन्य पल्टन गरी २५ वटा कम्पनी यो अभियानमा खटिएको थियो ।

यो अभियानमा बडाकाजी अमरसिंह थापा, काजी रणवीरसिंह बस्नेत, सरदार रणजित कुँवर, सरदार भक्ति थापासहित सरदार अङ्गद घले सेनानायकका रूपमा युद्ध मैदानमा खटिएका थिए (बाबुराम आचार्य, जनरल भीमसेन थापा ः यिनको उत्थान र पतन–२०६९ः८३) ।

भूकम्प र बाढीपहिरोले गढवाल राज्य त्यसबेला अस्तव्यस्त थियो । त्यहाँका राजा प्रद्युम्न शाह र उनका नवयुवक छोरा सुदर्शनबीचमा पनि आपसी गृहकलह बढेको थियो । तैपनि गढवाल राज्यका काजी सिसराम र अर्का सेनानायक दलवीर राना गढवालको रक्षार्थ आफ्ना सैनिकका साथ गोरखालीहरूको प्रत्याक्रमणका लागि तैनाथ थिए । मन्दाकिनी नदीको किनारमा अङ्गद घलेसहितको गोरखाली सेनाले गढवाल आक्रमण गरिदिँदा गढवाली सेना धेरै समय त्यहाँ टिकिरहन सकेन (आचार्य, २०६९ः८४) । 

गोरखाली सेना पूर्ण रूपमा गढवाल राज्य कब्जा गर्न अगाडि बढिरहेको थियो । उनीहरू देहरादुन पुगिसकेका थिए । गढवालीहरू सारङ्गपुरमा बलियो आड बनाई गोरखालीहरूको सम्भावित आक्रमण पर्खेर बसिरहेका थिए । गोरखाली सेनाको नेतृत्व त्यहाँ सल्यान सरदार धनवीर शाहीले सम्हालेका थिए तर त्यो युद्धको परिणाम गोरखालीहरूको पक्षमा आउन सकेन । उनीहरू युद्ध हारेर देहरादुन फर्कन बाध्य भए ।

त्यसको केही दिनपछि सरदार चन्द्रवीर कुँवर (बलभद्र कुँवरका बुवा)को नेतृत्वमा रहेका केही नेपाली सैनिकलाई धामागढीमा राखेर बाँकी बचेका सैनिकलाई साथमा लिई बडाकाजी अमरसिंह थापा र सरदार अङ्गद घले खेडाघाटमा रहेको गढवाली सैनिकको किल्लामा आक्रमण गर्न पुगेका थिए । त्यहाँको युद्ध जितेपछि उनीहरू नजिकैको नालापानीमा किल्ला बनाई बस्न थालेका थिए । त्यहाँ उनीहरू शक्ति सञ्चय गर्दै बसिरहेका थिए भने धामागढीमा रहेका गोरखाली सैनिकलाई विपक्षी सैनिकले घेरा दिएर राखेका थिए । त्यहाँको सैनिक दललाई चन्द्रवीर कुँवरले नेतृत्व गरेका थिए । 

धामागढीको विपक्षी घेरा तोड्न बडाकाजी अमरसिंह थापा, सरदार रणजित कुँवर र सरदार अङ्गद घलेहरूको नेतृत्वमा रहेको गोरखाली सेनाले चार–पाँच घण्टाको युद्धमा पाँच–सात सय सङ्ख्यामा रहेका गढवाली सेनालाई हताहत गराए । गढवाली राजा प्रद्युम्न शाहले पनि वीरगति पाए । नवयुवक राजा सुदर्शन शाह त्यहाँबाट भाग्न सफल भए । गढवालका कान्छा चौतारा प्रीतम शाह पक्राउ परी कुमाउमा नजरबन्द गरिए र सेनानायक दलवीर राना पक्राउपछि काटिए । यसरी गढवाल राज्यलाई गोरखाली नेपाल राज्यमा गाभ्न सफल भएका थिए (आचार्य, २०६९ः८५–८७) ।

यसरी हेर्दा गढवालको युद्धमा पराक्रम देखाउने वीरहरूमध्ये सरदार अङ्गद घले पनि थिए भन्नेमा दुईमत छैन । पश्चिमतर्फ बढ्दैै जाने क्रममा गोरखालीहरू सतलज नदी तरेर काँगडासम्म पुगे । त्यहाँ पनि काजी दलभञ्जन पाँडे, काजी अमृतसिंह थापा, सरदार शमशेर राना, सरदार धोकल खत्रीका साथ सरदार अङ्गद घले सक्रिय थिए ।

यो युद्धमा गोरखाली सैनिकको मुख्य जमघट नाहान राज्यको सुगाठोरमा भइरहेको थियो । त्यहाँ सरदार अङ्गद घले सात पल्टन सैनिकको नेतृत्व गरी जुबल विसहरमा रहेको काँगडा राज्यको अर्को किल्लामा आक्रमण गर्न खटिएका थिए । यो युद्ध वि.सं. १८६७ असार १३ गते भएको थियो । युद्धमा बडाकाजी अमरसिंह थापा स्वयं थप सैनिकका साथ सुगाठोर लागेका थिए । त्यहाँ दुवैतर्फ एक÷एक सय सैनिक हताहत भएका थिए । काँगडा राज्यसँगको यो अन्तिम युद्धमा गोरखाली सैनिकको जित भएको थियो (आचार्य, २०६९ः१००–१०१) ।

अङ्गद घले विजयपुरमा

गोरखालीले विजयपुरमा सेन राज्य फर्काउने अभियानमा लागेका पाल्पाली सेन राजकुमार ध्वजवीरको हत्या गरेका थिए । यस प्रकरणमा पनि सरदार अङ्गद घलेको सहभागिता रहेको ऐतिहासिक पत्र प्राप्त भएको छ ।

विजयपुरमा चौतरिया बुद्धिकर्ण रायको षड्यन्त्रमा राजा कामदत्त सेनको हत्या भयो । राजा कामदत्त सेनको कुनै पनि सन्तान नभएका हुँदा बुद्धिकर्ण रायले चौदण्डीका राजा कर्ण सेनलाई विजयपुरको पनि राजा बनाए । पछि कर्ण सेनको पनि मृत्यु हुँदा उनका नाबालक छोराको पनि विष प्रयोग गरी हत्या गरियो । राजा कर्ण सेनको मृत्यु भएको र छोरा पनि मारिएका हुँदा कर्ण सेनकी विधवा रानीले पाल्पाली राजा मुकुन्द सेनसँग विजयपुरको स्थापनाका लागि एउटा राजकुमार पठाइदिन अनुरोध गरिन् । 

विजयपुरका राजा कर्ण सेनकी विधवा रानीको इच्छाबमोजिम पाल्पाली राजा मुकुन्द सेनले याचनापत्र लिएर आएका विजयपुरका भारदार स्वरूपसिंह कार्कीका साथमा छोरा ध्वजवीर सेनलाई अवधको बाटो गरी विजयपुर पठाएका थिए तर विजयपुर पुग्न नपाउँदै ध्वजवीर सेनलाई गोरखालीले बदला लिने विचार गरेर बीच बाटोमै मारिदिए । यसो हुँदा मुकुन्द सेन वृद्धावस्थामा शोकाकुल हुन पुगेका थिए (मोहनप्रसाद खनाल, सेन राज्यको राजनीतिक इतिहास–२०६१ः६३) ।

त्यसबेला पहिले माझकिराँतमा रहेर काम गरिसकेका र पछि त्यहाँबाट पलायन भई गोरखाली सैन्य सेवामा प्रवेश गरेका स्वरूपसिंह कार्की दरबारमा बहादुर शाहको उदयपछि विजयपुरबाट भागेर पूर्णियातिर पसी फेरि सेन राज्य फर्काउने उद्योगमा लागेका थिए । उनी यसका लागि कलकत्ता, धर्मा (भुटान), सिक्किम आदि ठाउँमा पुगिरहेका थिए । उनकै प्रबन्धबाट कर्ण सेनकी रानीले पाल्पाली राजकुमार ध्वजवीर सेनलाई मोरङदेखि दक्षिण मैथिली ब्राह्मणको जमिनदारीको धूमगढ भन्ने ठाउँमा राखेकी थिइन् (ज्ञानमणि नेपाल, नेपालको महाभारत–२०५२ः२३) ।

गोरखालीद्वारा ध्वजवीर सेन कहिले मारिए त ? यसको मिति स्पष्ट हुने सन्दर्भ सामग्री पाइएको छैन तर केही अनुमान गर्ने आधारहरू भने पाइन्छन् । इतिहासकार दिनेशराज पन्तले पूर्णिमाको पूर्णाङ्क ५८ (चैत २०४०ः४३)मा प्रकाशित गरेको पत्र सङ्ख्या ९ मा विजयपुरका तत्कालीन सुब्बा योगनारायण मल्ललाई राजा रणबहादुर शाहले लेखेको पत्रमा ‘उप्रान्त पाल्पाली साहेब र सरूपसाथ जो मानिस रह्याका थिया कलाकत्ताको मद्दत नपाउँदा र षर्चले हलाक हुदा भागि भागि जान लाग्या भनि विंति पठायाछौ भलो’ उल्लेख छ तर यो पत्र अपूर्ण रहेको छ । यसमा पत्र लेखिएको मिति पनि उल्लेख छैन तर पूर्णिमाको सोही पूर्णाङ्कको पृष्ठ सङ्ख्या ३९ मा प्रकाशित योभन्दा ठीक अघिल्लो पत्र सङ्ख्या ८ को पत्र वि.सं. १८३७ भाद्र वदी ३ रोज ६ मा लेखिएको हुँदा ध्वजवीर सेन वि.संं १८३७ पछिसम्म सक्रिय रहेको देखिन्छ ।

इतिहास शिरोमणि बाबुराम आचार्यले पूर्णिमाको पूर्णाङ्क ५१ मा विजयपुरमा रहेका अमरसिंह थापाले एक कम्पनी सैनिक पठाई चतरामा रहेका ध्वजवीर सेन र उनका १८ जना आठपहरियाको एकै चिहान गराइदिए भन्ने उल्लेख गरेबाट ध्वजवीर सेनको हत्या विजयपुरनजिकै सप्तकोशी किनारामा रहेको चतरामा भएको भन्ने स्पष्ट हुन्छ । आचार्यले यो प्रकरण उल्लेख गर्नुअघि सिरानचोकमा गोरखालीले लडेको युद्धको प्रकरणको मिति वि.सं. १८३८ माघ २५ उल्लेख गरेबाट यो मितिभन्दा पछि गोरखालीले ध्वजवीरको हत्या गरे भन्ने अनुमान गर्न सकिन्छ ।

सरदार अङ्गद घलेले १८४९ असारमा पाएको जागिरबापतको लालमोहरमा विजयपुरमा पाल्पाली साहेब ध्वजवीर सेनकै प्रकरणमा युद्ध हुँदा पाएको रिझबापत भन्ने उल्लेख भएको हुँदा उनी वि.संं. १८३८ भन्दा अघिदेखि नै गोरखाली सैन्य सेवामा सक्रिय रहेर विभिन्न युद्धमा भाग लिन थालिसकेका थिए भन्ने स्पष्ट हुन आउँछ ।

जागिरको लालमोहर 

सरदार अङ्गद घलेले युद्धमा देखाएको पराक्रमका कारण उनले जागिरबापत प्रशस्त जग्गा पाएको लालमोहर प्राप्त भएको छ । राष्ट्रिय अभिलेखालयमा रहेको र इतिहासकार भगिराज इङ्नामको सौजन्यबाट प्राप्त भएको यो लालमोहरअनुसार विजयपुर र दाङको युद्धमा देखाएको पराक्रमबापत उनलाई बक्सिसबापत जग्गाजमिन प्राप्त भएको थियो । ललितपुरको बाडेगाउँ, फूलचोकी तथा हरिसिद्धि क्षेत्रमा उनले जागिरबापत जग्गाजमिन पाएको देखिन्छ । 

वि.सं. १८४९ साउनमा राजा रणबहादुर शाहले उनको नाममा जारी गरेको लालमोहरको बेहोरा यस्तो छ :

आगे सर्दार अंगदके विजैपुरमा सरूपले पाल्पाली साहेवलाई राजाथापन ल्याउदाको कटक र दाङको कटक जित्याको रिझ निमित्य सम्वत् १८४९ साल आषाढ शुक्ल नवमि रोज ६छ त दिने ठैवोका अम्बलमा पश्चिम डोल षेत चार ४ मुरि चालीस ४० पाषोटार डिहि घड्यारिसमेत् तस्को साँध पूर्व षिमिल्या षोलो साँध दक्षिण फुसन्याषोलो र भंज्याङ् रैकर लुहकिल साँध एति चार किलाभित्र वडेगाउका –––––र फुलचोकका हरिसिद्धिका –––को गुठि वाहेक अरु षेत पाषोसमेत दता वितलप मोहन तावापत्र गरि वक्सौं आफ्ना सन्तान पर्यांत निमषको साझो टहल गरि आफ्ना संतान पर्यांन्त दत्ता चित वितलप् जानि भोग्ये गर. यो रत्ताको सांध लाउन्या सांधियार हरि अज्र्याल भानु पाध्या षनाल. कासिराम पांडे. श्रीनाथ पंथ. विरु वोहोरा. वंसविर राना. डोङ्गल धनिवंत. षद्न. काल्या जगत चार किलाभन्दा अघ्र्यालोहत्तवार लेन चापनु.विना तक्सिरले श्री राजाले हरन नगर्नु. यो वन्धेजमा जो रहैन स्व येमलोकमा भन्याको पातकि होला ।। स्वदत्तमा र यो दत्तमा हरे त वसुंधरा।। षसि वर्ष सहला णिचिसायां जायेते क्रिमि.।। ईतिसम्वत् १९४९ साल मिति श्रावन वदि ९ रोज ६ शुभम्  

Author

राजकुमार दिक्पाल