• ९ मंसिर २०८१, आइतबार

सिरुवा पर्व मनाइँदै

blog

बोदेवरसाइन समाचारदाता 

बोदेवरसाइन (सप्तरी), वैशाख २ गते । मैथलीमा भनिन्छ, भोरक पाइनसे सबकियो जुराई ! चैतक रिनहल वैशाख खाई !! यसको अर्थ बिहानको पानीले सबै जीव शीतल रहोस् र चैतमा पकाएको वैशाखमा खाऊ भन्ने पुरानो भनाइ छ।

नव वर्षको दोस्रो दिन शनिबार घरघरमा सिरुवा मनाउँछन्। तराईतिर नववर्षको पहिलो दिन सतुवाइन र दोस्रो दिनलाई सिरुवा (जुडशीतल)का रूपमा मनाइन्छ। जुडशीतलमा आमाबुवा र परिवारका ज्येष्ठ सदस्यद्वारा सन्तानको टाउकोमा बासी वा चिसो पानी छ्यापेर आशीर्वाद दिने गरिन्छ। खानाका अनेकौँ पकवान बनाएर परिवार इष्टमित्रसहित खाने चलन रहँदै आएको छ। यसो गर्नाले वैशाखको गर्मीबाट मुक्त भई शीतल मनले जीवनमा अघि बढ्न वर्षको पहिलो दिनबाटै ऊर्जा र उत्प्रेरणा थपिने र वर्षैभर मिठो खान र राम्रो लाउन सकिने विश्वास रहेको राजविराज–८ की नुतन साह भन्नुहुन्छ।

पानी छ्याप्दै आशीर्वाद लिने, सलहेश फूलबारी, शम्भुनाथ, वराहपोखरी, पतारीलगायतका यस भेगका प्रसिद्ध धार्मिक स्थलको यात्रा गर्दै सर्वसाधारणले हर्षोल्लासका साथ सिरुवा मनाइरहेको लहान–७ की सुनिता साहले बताउनुभयो। सिरुवा साथीभाइ तथा गाउँले भेला भई आपसमा पानी, हिलो र रङ दलेर मनाउने चलन छ। यो वर्ष सामूहिक रूपमा सिरुवा खेल्ने, मेला बजार लगाउने तथा सिरुवा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी रहेको खडक नगरपालिका–४, थारू युवा क्लबका अध्यक्ष प्रमोद चौधरीले जानकारी गराउनुभयो। 

जलेश्वर समाचारदाता महेशकुमार दासका अनुसार मिथिलाञ्चलवासीले शुक्रबार सातु र आँपको चिचिला (आँपको टिकोला)को चटनी (अचार) खाएर नयाँ वर्ष २०८० को हर्षोल्लासका साथ स्वागत गरेका छन्। 

शुक्रबार बिहानै सपरिवार मिलेर स्नान गरेर आफ्नो कुल देवतालाई पूजापाठ गरी सातु, गुड (सक्खड) र आँपको चिचिला चढाएपछि प्रसादका रूपमा सोही सामग्री ग्रहण गरेका छन्। सदियौँदेखि नववर्षको यसरी नै स्वागत गर्दै आएको एकडारा गाउँपालिकाका पुरोहित अरविन्द झाले बताउनुभयो। सातु सेवन गर्नाले शरीरलाई शीतल बनाउनुका साथै आँपको चिचिलाको चटनीले पनि शरीरका लागि फाइदा गर्ने भएकाले यो प्रचलन पहिलेदेखि चलिआएको उहाँले बताउनुभयो।