बेनी समाचारदाता
म्याग्दी (बेनी), असार १८ गते । म्याग्दीको मालिका गाउँपालिकाको निस्कोट गाउँमा हरेक घरमा खानेपानीका धारा जडान गरिएका छन् । बर्सौंदेखि सफा र स्वच्छ खानेपानी सुविधाबाट बञ्चित भएका निस्कोटवासी घर आँगनमा धारा जडान भएपछि निकै खुसी भएका छन् ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को आर्थिक एवं प्राविधिक सहयोग र स्थानीयको श्रमदानबाट निस्कोट खानेपानी योजना सम्पन्न भएको हो । नेवाको ६४ लाख र स्थानीयको ३० लाख बराबरको श्रमदानबाट ९४ लाख रुपियाँमा निस्कोट खानेपानी योजना सम्पन्न भएको नेवाका प्राविधिक छविराम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार योजनाबाट १२५ घरधुरीमा निजी र सात वटा सार्वजनिक धारा निर्माण गरिएका छन् । गत साउनदेखि सुरु भएको योजना यही असार पहिलो हप्ता सम्पन्न भएसँगै घरआँगनमा पानी जडान गरिएको उहाँले बताउनुभयो ।
चार किलोमिटर टाढा रहेको पानीको मुहानबाट पानी ल्याएर १३ वटा पानी सङ्कलन ट्याङ्की, मुख्य पाइप लाइन, वितरण लाइनसहित १६ हजार मिटर पाइप लाइन विस्तार गरी निस्कोट गाउँका प्रत्येक घरधुरीमा पानी पुर्याइएको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “३७ वर्षअघि गाउँमा बनेको खानेपानी योजनाका सार्वजनिक धारामार्फत पानी उपभोग गर्दै आएका थियौँ । योजना जीर्ण भएकाले गाउँमा पानीको निकै समस्या थियो । गाउँको पुछारमा रहेको धारा र कुवाबाट पानी ल्याएर पिउने गरेकोमा अहिले घर घरमा खानेपानीका धारा बनेपछि पानीको समस्या हटेकाले गाउँले निकै खुसी भएका छन् ।”
स्थानीय उपभोक्ता तमबहादुर पुनले भन्नुभयो, “पुरानो योजना जीर्ण भएकाले गाउँमा पानीको निकै समस्या थियो । एक गाग्री पानी लिन घन्टौँ लाइनमा बस्नुपर्थ्यो । अहिले यो योजना सम्पन्न भएपछि घर घरमा चौबिसै घण्टा पानी आएको छ ।” धारामा पानी आउन थालेपछि सफा र स्वच्छ पिउने पानीको उपभोग गर्न पाउनुका साथै समय बचत भएको उहाँले बताउनुभयो ।
निस्कोटमा खानेपानीको समस्या समाधान गर्न वडा र पालिकाको अनुरोधमा नेवाले खानेपानी योजना सञ्चालन गरेपछि स्थानीयवासीले सफा र स्वच्छ पानी उपभोग गर्न पाएका मालिका गाउँपालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताउनुभयो ।