• १३ साउन २०८१, आइतबार

निगमको आम्दानी घट्दो

blog

काठमाडौँ, वैशाख २ गते । नेपाल वायुसेवा निगमको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७६/७७ को तुलनामा २०७७/७८ मा ३६ प्रतिशतले घटेको छ । महालेखा परीक्षकको ६०औँ वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको गत वर्षको सञ्चालन आम्दानी १४ अर्ब ४१ करोड ८३ लाख रुपियाँ रहेकोमा यो वर्ष ३६.८३ प्रतिशतले घटेर नौ अर्ब १० करोड ९२ लाख रुपियाँ पुगेको छ ।

त्यस्तै सञ्चालन खर्चसमेत अघिल्लो वर्षको तुलनामा २९ प्रतिशले घटेको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष १४ अर्ब ५४ करोड ६१ लाख रुपियाँ रहेको सञ्चालन खर्च यो वर्ष १० अर्ब २५ करोड ६६ लाख रुपियाँ रहेको प्रतिवेदनले औँल्याएको छ । निगमको खुद नोक्सानी गत वर्ष दुई अर्ब ८२ करोड रुपियाँ रहेकोमा यो वर्ष ७२.१९ प्रतिशतले वद्वि भई चार अर्ब ८५ करोड ५७ लाख रुपियाँ पुगेको छ । उपयुक्त रणनीति तथा व्यावसायिक योजना तर्जुमा गरी निगमलाई व्यवस्थापनको उद्देश्यअनुरूप सञ्चालन गर्न नसक्दा यो वर्ष निगमको वित्तीय खर्च गत वर्षभन्दा नौ दशमलव ८३ प्रतिशतले घटेर तीन अर्ब ६१ करोड ९० लाख रुपियाँ पुगेको प्रतिवेदनले देखाएको छ ।

निगमले विमानको प्रकृति, किसिम तथा उडानको क्षेत्रअनुसार सञ्चालन नाफा–नोक्सानी विश्लेषण गरी रणनीति तय गर्न नसक्दा सञ्चालन आम्दानी घटेको हो । प्रतिवेदनमा निगमको नगद, चालु सम्पत्ति, दायित्व, पुँजी संरचना, मुनाफा स्थितिजस्ता प्रमुख सान्दर्भिक अनुपात विश्लेषण गर्दा गत वर्षको तुलनामा चालु दायित्व भुक्तानीका लागि उपलब्ध नगद घटेको, ऋण बढेको, सञ्चालन मुनाफा घटेर सञ्चालन नोक्सानीमा पुगेको स्थिति रहेको जनाइएको छ ।

निगम र कर्मचारी सञ्चय कोषबीच वि.सं. २०७० असार ४ गते दुई थान ए–३२० न्यारोबडी एयरबस खरिदका लागि सरकारको १० अर्ब रुपियाँको जमानीमा नौ अर्ब ९८ करोड ११ लाख १७ हजार रुपियाँ र वि.सं. २०७४ जेठ २८ गते एक थान ए–३३० वाइडबडी एयरबस खरिदका लागि सरकरको १२ अर्बको जमानीमा ११ अर्ब ९९ करोड ६१ लाख ऋण सम्झौताको थियो । सम्झौताअनुसार वि.सं. २०७८ असार मसान्तसम्मको ब्याज र जरिवानासमेत कुल ऋण दायित्व २६ अर्ब ४९ लाख रुपियाँ पुगेको र वि.सं.२०७४ जेठमा वाइडबडी खरिदका लागि लिएको ऋणको दायित्व १५ अर्ब ३४ करोड ७८ हजार रुपियाँ पुगेको छ ।