• १३ साउन २०८१, आइतबार

सेयर बजारमा करेक्सन

blog

काठमाडौँ, वैशाख १ गते । अघिल्लो दिन उच्च अङ्कले बढेको सेयर साता र वर्षकै अन्तिम दिन भने ओरालो लागेर बन्द भएको छ । अघिल्लो दिन ९२ अङ्कले उकालो लागेको बजार बिहीबार भने दोहोरो अङ्कले ओरालो लागेको हो ।

बिहीबार सेयर बजारमापक नेप्से परिसूचक २९ दशमलव ०८ अङ्कले ओरालो लागेर एक हजार ९३४ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि पाँच दशमलव ७२ अङ्कले ओरालो लागेर ३६७ दशमलव ९८ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा अन्तिम दिनको नेप्से १ दशमलव ४८ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५३ प्रतिशतले ओरालो लागेको छ ।

निरन्तर ओरालो लागेर लगानीकर्तालाई निराश बनाएको सेयर बजार बुधबार भने उछालिएको थियो । पछिल्लो समय घटिरहेको बजार १८ सयको बिन्दुमै रहेको थियो ।

बुधबार सेयर बजारमापक नेप्से परिसूचक ९२ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार ९६३ को बिन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि १८ दशमलव २५ अङ्कले उकालो लागेर ३७३ दशमलव ७१ को बिन्दुमा पुगेर रोकिएको थियो । समग्रमा चौथो दिनको नेप्से ४ दशमलव ९३ प्रतिशतले उकालो लागेको थियो भने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव १४ प्रतिशतले उकालो लागेको थियो । बिहीबार दिनभर २७० कम्पनीको ४९ लाख १३ हजार ७०२ कित्ता सेयर ४४ हजार ७०८ पटक खरिद बिक्री हुँदा एक अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३२ करोड रुपियाँले कमी हो ।

बुधबार दिनभर २६७ कम्पनीको ६१ लाख सात हजार ४२५ कित्ता सेयर ४७ हजार २८५ पटक खरिद बिक्री हुँदा एक अर्ब ९७ करोड ६० लाख ७६ हजार ७३२ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो । बिहीबार आठ करोड ४२ लाख ८६ हजार ५४ रुपियाँ बराबरको सेयर कारोबार भएर शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको छ करोड आठ हजार ८३८ रुपियाँ, एनआईसी एसिया बैङ्क पाँच करोड ३५ लाख १६ हजार ८८७ रुपियाँ र नबिल बैङ्कको चार करोड ५९ लाख १७ हजार ७०९ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

अन्तिम दिन कारोबारमा आएका १३ उपसमूहकै उपसूचक ओरालो लागेको छ । विकास बैङ्कको उपसूचक सर्वाधिक २ दशमलव ४८ प्रतिशतले उकालो लागेको बिहीबार उत्पादन तथा प्रशोधन २ दशमलव ३३ प्रतिशतले ओरालो लागेको छ ।

सेयर बजारका विश्लेषक अनिल न्यौपाने अघिल्लो दिन ब्याजदरका कारण बजारमा उच्च वृद्धि भए पनि साताको अन्तिम दिन भने त्यसले निरन्तरता पाउन नसकेको बताउनुभयो । सेयर बजारमा नीतिगत व्यवस्थाले प्रत्यक्ष प्रभाव पार्ने भन्दै उहाँले नीतिगत अन्योलताले गर्दा बजारले उचाइ लिन नसकेको बताउनुभयो ।

अर्थतन्त्र अहिलेजस्तो अप्ठ्यारोमा कहिल्यै नपरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “पहिलेपहिले त बैङ्कले ऋण दिएनन् भने पनि सहकारी संस्थाले दिन्थे तर अहिले त सहकारी पनि अप्ठ्यारोमा छन् ।”