• २३ वैशाख २०८१, आइतबार

‘बालबालिका रङ्गमञ्चमा’

blog

भाइबहिनीहरू ! मुनाको नयाँ अङ्कमा हामी पढ्ने छौँ हामी सबैलाई मन पर्ने रङ्गकर्मी केदार श्रेष्ठका बारेमा । उहाँ थिएटर मलका निर्देशक र संयोजक हुनुहुन्छ ।

भाइबहिनीहरू तपाईंहरूलाई नाटक र रङ्गमञ्चका बारेमा कत्तिको थाहा छ ? हामीले दिनहुँ टेलिभिजन र मोबाइलमा फिल्म, गीत, टेलिसिरियल, खेललगायत कार्टुन हेर्ने ग¥र्छौं तर यसबाहेक वास्तवमा रङ्गमञ्चमा गरिने नाटक यीभन्दा धेरै नै फरक हुन्छन् । 

धादिङको चैनपुर सुनखानीमा सामान्य परिवारमा जन्मिनुभएका रङ्गकर्मी केदार श्रेष्ठलाई सानैदेखि साहित्यमा धेरै रुचि थियो । उहाँको कविता, निबन्ध तथा सिर्जनाका यात्रा अर्थात् साहित्यिक यात्रा विद्यालयबाट नै सुरु भएको हो । रङ्गकर्मी केदार श्रेष्ठले शैली थिएटरबाट आफ्नो कला यात्रा सुरु गर्नुभएको हो । 

घरपरिवारबाट टाढा रहेर हुर्केका श्रेष्ठ सम्झिनुहुन्छ “हाम्रो समयमा विद्यालय नाटक गर्ने चलन थिएन । कोठाभित्र हुने कार्यक्रम मात्रै हुने गर्थे । यसरी काठमाडौँबाट दशैँ, तिहार मनाउन घर जाँदा गाउँमा हुने रमाइलो सांस्कृतिक कार्यक्रममा बीचबीचमा म कमेडी गरेर दर्शकलाई हँसाउने गर्थें ।” 

बिना कुनै प्रशिक्षण नाटक र रङ्गमञ्चको यात्रा तय गर्नुभएका केदारले पहिलो पटक पुतलीको घर नाटक हेर्न जाँदा नाटक घर म्याजिक अर्थात् जादुजस्तो लाग्यो, दोस्रो पटक नाटकको अभिनय र कथा हेरेँ । त्यो समयमा २५ रुपियाँ थियो एउटा नाटकको मूल्य तर पनि उहाँले एउटै नाटक तीन पटक हेर्नु भएको थियो । यसैगरी उहाँको नाटकतर्फको यात्रा अगाडि बढ्दै गयो । अहिले उहाँले धेरै बालनाटक मञ्चन गरिसक्नुभएको छ । नाटक अर्थात् रङ्गमञ्चको धेरै नै अनुभव छ । 


बालनाटक के हो ?

बालनाटक विशेष गरी पेसागत रङ्गकर्मीहरूले बालबालिकाका लागि हेर्न लायकको नाटक गर्नुलाई बाल रङ्गमञ्च भन्न सकिन्छ । बालबालिकाले खेलेको नाटकलाई बालनाटक भन्न मिल्दैन । कला साहित्यको विधाबाट पनि मानसिक तथा शारीरिक विकासको विकास गर्न सकिन्छ भन्ने विषयमा विद्यालय र अभिभावक आफैँ जानकार हुन जरुरी छ । यसपछि मात्रै बालबालिकाको सिकाइमा यो विषय थप्न सकिन्छ । भाइबहिनीहरू हामी सबै जना सानोमा हजुरबुवा र हजुरआमाबाट कथा सुनेर हुर्केका हुन्छौँ । यो पनि सिकाइको प्रक्रिया हो । यसरी नै बालबालिकालाई रङ्गमञ्च र नाटकका बारेमा सिकाइका रूपमा सहज तरिकाले सिकाउँदै लैजान जरुरी छ । नाटक खेल्नु मात्रै ठूलो कुरा हैन, नाटक कसरी तयार हुन्छ, समाज, मानिसको जीवन र भाषासँग सम्बन्धित रहेर बालबालिकाले बुझ्ने र गर्ने क्षमता राख्ने रूपमा नाटक तयार गरिनु पर्दछ । 

हामी सबै र हरेक उमेरका व्यक्तिको जीवनी हुन्छ, त्यसैगरी तपाईंहरूको पनि जीवनी हुन्छ जसमा आधारित रहेर नाटक तयार गर्न सकिन्छ । 

भाइबहिनीहरू तपाईंहरूलाई नाटक र रङ्गमञ्चका बारेमा कत्तिको थाहा छ ? हामीले दिनहुँ टेलिभिजन र मोबाइलमा फिल्म, गीत, टेलिसिरियल, खेललगायत कार्टुन हेर्ने ग-र्छौं तर यसबाहेक वास्तवमा रङ्गमञ्चमा गरिने नाटक यीभन्दा धेरै नै फरक हुन्छन् ।  

‘बालबालिकालाई रङ्गमञ्च लैजाऔं’ अभियानतपाईंहरूलाई थाहा छ, ‘बालबालिकालाई रङ्गमञ्च लैजाऔँ’ भन्ने विश्वव्यापी अभियान पनि चलिरहेको छ । नेपालबाट भने ‘थिएटर सेन्टर फर चिल्ड्रेन’ अर्थात् बालबालिकाका लागि नाट्य केन्द्र स्थापना भएको छ । यो बालबालिकासम्बन्धी रङ्गमञ्च गर्ने अन्तर्राष्ट्रिय सङ्गठन छ ‘आशुतोष इन्टरनेसनल’ जसको नेपाल सदस्य पनि हो । र नेपालबाट यो अभियानमा नेतृत्व गरिरहेको छ । 

रङ्मगञ्च सबै कलाको सङ्गम स्थल हो जसमा बालबालिकाका लागि नाट्य केन्द्रले बालबालिकालाई रङ्गमञ्चबाट कसरी व्यक्तित्वको विकास गर्ने, समाजलाई बुझ्न सक्ने क्षमताको विकास गर्ने, आफूलाई बुझ्न सक्ने क्षमताको विकास गर्नेजस्ता विषयमा जानकार गराउन मद्दत गर्दछ । 

रङ्गमञ्चप्रति बालबालिकालाई आकर्षण बढाउन ‘थिएटर सेन्टर फर चिल्ड्रेन’ले विभिन्न विद्यालयमा ड्रामा शिक्षा, ड्रामा क्लब चलाइरहेको छ । यसभित्र साहित्य, लेखन, तयारीजस्ता सम्पूर्ण प्रक्रिया समावेश गरिएको छ । भाइबहिनीहरू, बालबालिकाका लागि नाट्य केन्द्र भन्नाले विशेष गरी बालबालिकाका लागि नै स्थापना भएको केन्द्र हो । हामी बालबालिकाको उमेर समूह, बालबालिकाको मनोभाव र मनोविज्ञानलाई बुझेर तयार पारिएको साहित्य र नाटकहरू बालसाहित्य र बालनाटक हो ।

भाइबहिनीहरू तपाईंहरूलाई पनि नाटक र रङ्गमञ्चप्रति रुचि छ र वास्तविक कला वा नाटकसँग जोडिन मन छ भने बालबालिकाका नाट्य केन्द्रसँग जोडिन सक्छौँ । नाटक वा रङ्गमञ्चसँग जोडिँदैमा रङ्गकर्मी वा नाट्यकर्मी नै बन्नुपर्छ भन्ने छैन । यसले हाम्रो क्षमता विकास, मानसिक तथा शारीरिक विकासलगायत व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।