• ५ जेठ २०८१, शनिबार

आगलागी हुँदा छब्बीस घर जलेर नष्ट

blog

सञ्जयकुमार मिश्र 

गौर, चैत २७ गते । रौतहट जिल्लाको तीनवटा पालिकाको तीनवटा गाउँमा आइतबार आगलागी हुँदा दर्जनौँ घर जलेर लाखौँको धनमाल नष्ट भएका छन।

माधवनारायण नगरपालिकाको विसुनपूर्वा मानपुरमा २१ घर, परोहा नपाको तेजापाकड गाउँमा चार घर र ईशनाथ नगरपालिकाको वडा नं. ७ को एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो। आइतबार दिउँसो २ बजेको समयमा माधवनारायण नपाको वडा नम्बर–४ बिसुनपूर्वा मानपुर गाउँका जिउत मुखिया बिनको घरबाट सल्किएको आगोबाट २१ जनाको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। फुस, खपडा र पक्की घरहरू आगोको लप्काबाट पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय बासिन्दा, गौर र चन्द्रपुरमा रहेका बारुणयन्त्रको सहयोगमा प्रहरीले आगो निभाइएको थियो। निरन्तर रूपमा चलिरहेको पश्चिमा हावाका कारण आगो नियन्त्रण गर्न झन्डै दुई घण्टा लागेको तथा मानवीय क्षति नभए पनि भौतिक रूपमा लाखौँको क्षति भएको स्थानीय पारस भण्डारीले जानकारी दिनुभयो।

परोहा नगरपालिकाको तेजापाकड गाउँमा चार घर र इशनाथ नपाको एक घरमा आगलागी हुँदा करिब एक लाख ५० हजार मूल्य बराबरको क्षति भएको तथा बिसुनपूर्वा मानपुरमा आगलागीबाट भएको जनधनको क्षतिको विवरण बिस्तारै आउने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले बताउनुभयो।