• १३ असोज २०८१, आइतबार

‘राजनीतिज्ञले समाजको भावना बुझ्नुपर्छ’

blog

दमक समाचारदाता

दमक, चैत २७ गते । नेपाली कांग्रेसका महामन्त्री एवं झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले समाजको भावना र मानवीय पक्षलाई बुझेर राजनीतिज्ञले काम गर्न सक्नुपर्ने बताउनुभएको छ।

नेपाली लेखक सङ्घ झापाले अर्जुनधाराको शनिश्चरेमा शनिबार आयोजना गरेको एकदिवसीय साहित्य उत्सव कार्यक्रममा सहभागी हुन झापा आउनुभएका शर्माले राजनीतिक रुपान्तरणका लागि समाजको भावना र मानवीय पक्ष बुझेर काम गर्न सक्नुपर्ने भन्दै यस्तो बताउनुभएको हो।

मानवीय र भावनाको कोणबाट समाजलाई नबुझ्ने मानिस नेता वा राजनीतिज्ञ बन्न सक्दैन, उहाँले भन्नुभयो। साहित्यकार तथा लेखकहरूले समाजलाई जसरी बुझेका हुन्छन् र चिनेका हुन्छन् त्यसरी नै राजनीतिज्ञले चिन्नुपर्ने उहाँको धारणा थियो।

राजनीतिभन्दा साहित्यको फाँट झनै ठूलो रहेको भन्दै महामन्त्री शर्माले समाजलाई सही दिशा निर्देश गर्न विकृति र विसङ्गतिविरुद्ध कलम चलाउन आग्रह पनि गर्नुभयो। “राजनीतिभन्दा साहित्यको क्षेत्राधिकार ठूलो छ,” उहाँले भन्नुभयो, “यहाँहरू समाज रूपान्तरण र परिवर्तनका संवाहक हुनुहुन्छ।”

आयोजक संस्था नेपाली लेखक सङ्घका झापा अध्यक्ष कुमार भट्टराईका अनुसार एक दिवसीय साहित्य उत्सवमा राष्ट्रियदेखि स्थानीय स्तरका लेखक तथा साहित्यकारको उल्लेख्य उपस्थिति रहेको थियो। उत्सवमा विभिन्न कार्यपत्रमाथि छलफल भएको थियो भने र कांग्रेस महामन्त्री शर्मासहितका साहित्यकारले आफ्नो रचना वाचन गर्नुभएको थियो।