• १३ साउन २०८१, आइतबार

बाल कथासङ्ग्रह सार्वजनिक

blog

काठमाडौँ, चैत २७ गते । बालकथाका दुई सङ्ग्रह ‘नवीन पाइला र इम्याजिनेटिभ वल्र्ड’को लोकार्पण गरिएको छ। इम्पेरियल वल्र्ड स्कुलद्वारा प्रकाशित नेपाली र अङ्गे्रजी भाषाका बालकथाका उक्त दुई पुस्तकमा सोही विद्यालयमा अध्ययनरत कक्षा ३ देखि १० सम्मका विद्यार्थीले लेख्नुभएको कथा र उहाँहरूले नै कोर्नुभएको चित्रसमेत सङ्गृहित छन्। बालसाहित्यकार यशु श्रेष्ठले पाठ्यक्रम मात्र घोकाउनुभन्दा विद्यार्थीलाई सिर्जनशील बन्न प्रेरणा दिने विद्यालयको यस कदमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

हरेक क्षेत्रमा लेख्ने क्षमताको आवश्यकता पर्छ भन्दै उहाँले भविष्यमा विद्यार्थी देश, विदेश जहाँ पुगे पनि आफ्नो क्षमताको भरमा गौरवपूर्ण काम गर्न सक्ने बताउनुभयो। प्रधानाध्यापक जुनिता कार्कीले विद्यार्थीलाई नियमित अध्यापनका साथै सिर्जनशील कर्ममा लाग्न सानै उमेरदेखि हौसला प्रदान गर्ने लक्ष्यसाथ पहिलो पटक बाल कथासङ्ग्रह प्रकाशित गरिएको जानकारी दिनुभयो। उहाँले जुनसुकै क्षेत्रमा काम गर्दा पनि लेख्न सक्ने क्षमताले व्यक्ति स्वयंलाई अब्बल बनाउन सक्ने भएकाले विद्यार्थीको हौसला तथा मनोबलको विकास गर्न यसअघि पनि विद्यालयले पत्रिका प्रकाशित गर्दै आएको बताउनुभयो।

विद्यालयका संस्थापक कुमार कार्कीले विद्यार्थीलाई रचनात्मक काममा सक्रिय पार्ने गतिविधिअन्तर्गत तयार भएको बाल कथासङ्ग्रहको माध्यमबाट विद्यार्थी, शिक्षक तथा अभिभावक उत्साहित रहेको बताउनुभयो। शिक्षक हेमा सुवेदीले सरल भाषामा आफ्नै ढङ्गमा लेखिएका बालकथाले अन्यलाई पनि कथा पढ्न र लेख्न रहर जगाउने विश्वास व्यक्त गर्नुभयो।