• १० पुस २०८१, बुधबार

गल्फा क्याम्पसको भवन अलपत्र

blog

अधुरो र अलपत्र अवस्थामा रहेको गल्बा क्याम्पसको भवन । तस्बिर: राजन रावत

राजन रावत 

हुम्ला चैत २६ गते । दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा सञ्चालन हुँदै आएको गल्बा क्याम्पसको नयाँ बन्नु पर्ने भवन अधुरो र अलपत्र अवस्थामा रहेको छ । क्याम्पस व्यवस्थापन समितिले निर्माण जिम्मा लिएको भवन पूर्णरूपमा निर्माण नगरिँदा हाल भवनको अवस्था अधुरो र अलपत्र अवस्थामा रहेको हो । 

अदानचुली गाउँपालिका– २ का युवराज भण्डारीले आर्थिक वर्ष २०७८/०७९ मा निर्माण कार्य पूरा हुनुपर्ने क्याम्पसको नयाँ भवन अलपत्र अवस्थामा रहेको बताउनुभयो । उहाँले क्याम्पस व्यवस्थापन समितिले निर्माण कार्य पूरा गर्नुपर्ने भवनका लागि विनियोजित रकम भने गाउँपालिकाबाट अघिल्लो आर्थिक वर्षमा भुक्तानी लिएको भए पनि भवन हालसम्म अधुरो रहेको बताउनुभयो । सो दुईकोठे एक तले भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारले बिस लाख बजेट विनियोजित गरी गाउँपालिकामा पठाएको थियो । हाल भवनको गाह्रो लगाउने र काठ राख्ने कार्य गरेको भए पनि जस्ता भने छापेको छैन । झ्याल ढोकाको अवस्था पनि उस्तै छ । 

सो क्याम्पसका प्रमुख रनसुर रोकायाले भवन तत्कालीन ३ नम्बर वडाका वडा अध्यक्ष  दत्त विष्टको जग्गामा लगाइएको बताउनुभयो । सो जग्गाको मूल्य साढे पाँच लाख रुपियाँ पूर्व वडाध्यक्ष विष्टलाई भवन निर्माणकै रुपियाँबाट भुक्तानी दिई सकिएको छ । यसरी भवन निर्माणका लागि विनियोजित बजेट जग्गा खरिदका लागि लगानी गर्ने कानुनी व्यवस्था रहेको छैन । सो भवन लगाएको जग्गा पनि धेरै सानो  छ । 

जग्गा क्याम्पसको नाममा अघिल्लो वर्षको असार भित्र गर्ने सहमति भए पनि हालसम्म हुन सकेको छैन । उहाँले तर पुर्ब अध्यक्ष विष्टले हालसम्म क्याम्पसको नाममा जग्गा नामसारी समेत नगरेको र व्यवस्थापन समितिले बाँकी काम पनि नगरेर अधुरै छोडेको बताउनुभयो । उहाँले एक वर्ष अगाडि सम्पन्न गर्नुपर्ने भवनको काम पुरा नगरिएको कारण हाल गाह्रो भत्किन थालेको र छापेको काठ चोरी हुन थालेको बताउनुभयो । उहाँले समितिले जग्गा खरिदका लागि लगानी गरिएको रकम बाहेक बाँकी साढे चौध लाख बजेटबाट जमिन सम्याउने, घर निर्माण गर्ने कार्य गरेको, जस्ता खरिद र छाप्ने कामका लागि बजेट अभाव भएको बताउने गरेको बताउनुभयो । अदानचुली गाउँपालिका पूर्व अध्यक्ष दल फडेराको पालामा उक्त काम भएको कारण त्यस बारेमा जानकारी नभएको गाउँपालिकाले बताउने गरेको छ । 

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गाउँपालिका पूर्व अध्यक्ष दलबहादुर फडेरा रहनुभएको थियो ।