• १३ साउन २०८१, आइतबार

‘पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर बनाउँछौँ’

blog

काठमाडौँ, चैत २६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अबको छ महिनाभित्र जसरी पनि कम्तीमा एकचोटि पशुपति पुगेर एउटा तस्बिर खिच्नैपर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले मुुलुकलाई पशुपतिनाथजस्तै पवित्र र सफा राख्नुपर्ने बताउनुभयो । 

“सरसफाइको दृष्टिले सुन्दर पशुपति बनाउँछौँ  र यो मुलुक पनि पशुपतिनाथजस्तै पवित्र र सफा हुुनुपर्छ भन्ने हामी प्रमाणित गर्न चाहन्छौँ,” उहाँले  भन्नुभयो, “संसारमा एउटा मात्र यस्तो धाम छ । जो पशुपतिनाथ हो, त्यो नेपालमा छ र त्यहाँ एकचोटी पुग्नै पर्छ भन्ने हामी बनाउने छौँ ।” उहाँले सरसफाइ अभियान सुरु भएदेखि पशुपति क्षेत्रको सरसफाइमा ठूलो सुधार भएको उल्लेख गर्नुभयो । 

पशुपतिनाथको भण्डारखाल क्षेत्रमा सरसफाइ गरिएको छ । ‘सफा पशुपति स्वच्छ पशुपति’ भन्ने मूल नारासहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सुरु भएको तीन महिने अभियानको पाँचौँ हप्ता शनिबार सो क्षेत्रमा सरसफाइ गरिएको हो । मन्त्री किरातीले सो अभियानको नेतृत्व गर्नुभएको थियो । 

गौशाला निवासी ७२ वर्षीय रामहरि सेढाईंले भण्डारखाल क्षेत्रमा मन्त्री नै आएर सरसफाइ गरेको आफूले आफ्नो जीवनकालमा पहिलो पटक देखेको बताउनुभयो । उहाँले एक महिना अघिदेखि सुरु भएको सफाइ अभियानपछि पशुपति क्षेत्रको वातावरणमा उल्लेख्य सुधार भएको बताउनुभयो । मन्त्री किरातीले केही महिनाभित्र नै पशुपति क्षेत्रमा फोहोर गर्नेलाई जनताले नै कारबाही गर्ने वातावरण तयार हुन लागेको र पशुपति क्षेत्रमा खोलिएका बर्गर हाउसलगायतलाई सम्बन्धित ऐन नियमावलीले निषेध गरेका व्यापार व्यवसायलाई पनि छिट्टै नै बन्द गरिने बताउनुभयो ।

बाँदरलाई खुवाउन निश्चित ठाउँ  

मन्त्री किरातीले आगन्तुक र बटुवाले बाँदरलाई जथाभावी खानेकुरा दिँदा पनि पशुपति क्षेत्रमा फोहोर हुने गरेको गुनासोलाई ध्यान दिँदै बाँदरलाई खाना र पानी खुवाउन निश्चित ठाउँ निर्माण तथा जनशक्ति व्यवस्थापनका लागि आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको फागुन २५ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार फागुनको अन्तिम शनिबारदेखि पशुपति क्षेत्रमा हरेक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सरसफाइ कार्यक्रम हुँदै आएको छ । सरसफाइ अभियानका लागि मन्त्री किरातीको संयोजकत्वमा २४ सदस्यीय निर्देशक समितिसमेत गठन गरिएको छ । सरसफाइ अभियानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका २१ वटा निकायका कर्मचारीहरू, नेपाली सेना, नेपाल प्रहरी लगायतको सहभागिता थियो ।