• ५ जेठ २०८१, शनिबार

हरवा चरवा अधिकार यात्रा सुरु, पुनःस्थापनाको माग गर्दै सडकमा

blog

चार दिने अधिकार यात्रा २०७९ को सुभारम्भ गर्नुहुँदै वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह ।

गोरखापत्र अनलाइन

बारा,  चैत २५ गते । मधेसका आठ जिल्लामा रहेको दास प्रथा हरवा चरवाको पुनस्र्थापनाको मागसहित चार दिने अधिकार यात्रा २०७९ आज शनिबारदेखि सुभारम्भ भएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एक कार्यक्रमबीच आज सो अधिकार यात्राको रिबन काटेर सुभारम्भ गर्नुभएको हो । 

राष्ट्रिय हरवा चरवा अधिकार मञ्च र राष्ट्रिय दलित नेटवर्कको संयुक्त आयोजनामा सुभारम्भ भएको हरवा चरवा अधिकार यात्रा २०७९ मा फ्रिडम फण्ड, श्रीपुरराज सामुदायिक विकास केन्द्र (एससीडीसी), जनचेतना दलित संगठन, दलित जनचेतना युवा क्लबको समेत सहभागिता रहेको छ । 

अधिकार यात्राको सुभारम्भ गर्नुहुँदै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले अहिलेको अवस्थामा दासदासी प्रथा कायम गर्न नसकिने भन्दै सरकारले गरेको मुक्त घोषणाको पक्षमा महानगर रहेको बताउनुभयो । सो समुदायका गाँस, बास र कपासको व्यवस्थापन तथा पुनस्र्थापामनामा आफ्नो व्यक्तिगत र महानगरपालिकाको तर्फबाट सबै किसिमको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 


हरवा चरवा समुदायको पुनस्र्थापनाका लागि सरोकारवाला पक्षले आवश्यक प्याकेज ल्याए महानगरले जस्तोसुकै सहयोग गर्न तयार रहेको उहाँले चर्चा गर्नुभयो । हरवा चरवा समुदायको जीवन उत्थानका निम्ति सरकारले यथोचित व्यवस्था गर्नुपर्ने र आफूहरु स्थानीय तहबाट पुनस्र्थापनामा सघाउन तयार रहेको उहाँले प्रतिवद्धता गर्नुभयो । 

पर्साको वीरगञ्जबाट सुभारम्भ भएको अधिकार यात्रा पर्साकै बहुदरमाई नगरपालिका वडा ४ मा गएर कोणसभा गरेको थियो । सो अवसरमा वडा ४ का वडा अध्यक्ष सुरेन्द्र यादवले सम्बोधन गर्नुभयो । सो अवसरमा उहाँले हरवा चरवा समुदायको पहिचानका लागि नागरिकताको व्यवस्था तत्काल हुनुपर्ने, शिक्षामा पहुँच बढाउनुपर्ने, शिक्षा र जनचेतनामा जोड दिनुपर्ने उहाँले बताउनुभयो । आवश्यक परेमा आफ्नो वडा जस्तोसुकै सहयोग गर्न तयार रहेको उहाँले प्रतिवद्धता जनाउनुभयो । 

हरवा चरवाको सो टोली बाराको कलैयामा आएर कोणसभा गरेको छ । मुख्य चोकमा रैलीसहित प्रदर्शन गर्दै हरवा चरुवा समुदायका संयौं व्यक्तिले हरवा चरवाको पुनस्र्थापनाको माग गर्दै प्रदेशन गरेका थिए । सो अवसरमा उहाँहरुले सो समुदायका लागि नागरिकताको व्यवस्था हुनुपर्ने, राज्यले सही तथ्यांक लिई सो समुदायका बालबालिकालाई शिक्षामा पहुँच बढाउनुपर्ने, आवासको व्यवस्था गरी हरवा चरवा समुदायका शिक्षित युवालाई रोजगारको सुनिश्चित्ता गरिनुपर्ने माग गरेका थिए । 


उता सप्तरीको राजविराजबाट पनि हरवा चरवाको अधिकार यात्रा आज सनिबारबाट सुभारम्भ गरिएको छ । राजविराज नगरपालिकाका प्रशासकीय अधिकृतले सो अभियानको सुभारम्भ गर्नुभएको थियो । सो अवसरमा आरडिएनका अध्यक्ष गणेश विश्वकर्मा, अधिकारकर्मी तथा अधिवक्ता बालाराम भट्टराई, दशनलाल मण्डल लगायतले हरवा चरवाको पुनःस्थापनाको माग गर्नुभयो ।  

सोहीअनुसार सो अधिकार यात्रामा सहभागी टोलीले आजै सुरुङ्गा नगरपालिकामा पुगेर प्रमुख गीता चौधरीसँग अन्तरक्रिया गरेको छ । सो अवसरमा नगरप्रमुख चौधरीले गरिब वर्ग, पछाडि परेको वर्गको पक्षमा आफूहरु काम गरिरहेको बताउनुभयो । आगामी दिनमा पनि नगरपालिकाको तर्फबाट सहयोग गर्न तयार रहेको उहाँले प्रतिवद्धता जनाउनुभयो । 

‘मुक्त हरवा चरवाको न्यायिक पुनःस्थापना हाम्रो सरोकार, भूमि, शिक्षा, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार’ नारासहित सुरुभएको अधिकार यात्राको कार्यक्रममा जिल्ला हरवा चरवा अधिकार मञ्च पर्साको अध्यक्ष अमरदेव पासवान, हरवा चरवा वृजलाल पासवान, आस्मा खातुन, सुखारीलाल पासवान, रुपनारायण पासवान, कमैया महिला जागरण समाजकी विसनीदेवी चौधरी लगायतले हरवा चरवालाई सरकारले मुक्त घोषणा गरेको ९ महिना विते पनि पुनस्र्थापनाको काम सुरु हुन नसकेकोप्रति रोस प्रकट गर्नुभयो । 

अभियानाम राष्ट्रिय दलित नेटवर्कका कोषाध्यक्ष जंगबहादुर सुनार, अधिकार मञ्चकी केन्द्रीय कोषाध्यक्ष राजमति मण्डल, फ्रिडम फण्डका कार्यक्रम सल्लाहकार ब्रम्हदेव राम, आरडिएनका हुकुम सार्की लगायतले अधिकार अभियानमा व्यवस्थापकीय भूमिका निर्वाह गर्नुभएको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७९ साउन २ गते हरवा चरवालाई मुक्त घोषणा गर्नुभएको थियो । घोषणा भएको नौ महिना विते पनि पुनस्र्थापनाको काम सुरु हुन नसकेपछि सो समुदायले पुनःस्थापनाको माग गर्दै मधेस प्रदेशको आठ वटा जिल्लामा अधिकार यात्रा आजदेखि सुरु गरेको बताएका छन् । अभियानले स्थानीय, प्रदेश र संघीय सरकारलाई पुनःस्थापनामा दवाव पुग्ने विश्वास अधिवक्ता बालाराम भट्टराईले विश्वास व्यक्त गर्नुभयो ।