• ५ जेठ २०८१, शनिबार

चालीस वर्षदेखि ‘युनिक’ कलम खोज्दै

blog

मानिसका सोखको कुनै लेखाजोखा हुँदो रहेनछ । नत्र मीनराज ज्ञवाली आपूmले लेखेका तथा साथीभाइ र इष्टमित्रले दिएका कलम स्याहारसुसार गरेर बस्नु हुँदैनथ्यो होला । औपचारिक होस् वा अनौपचारिक शिक्षा हासिल गर्ने क्रममा हामी सबैले कलम प्रयोग गर्दै आएका छौँ तर त्यसको सम्झनासम्म हुँदैन । 

कलमले लेखुञ्जेल लेख्छौँ अनि फाल्दिन्छौँ । कुन कक्षामा कस्तो कलमले लेख्यौँ ? विदेशबाट आएका वा नेपालमै भएका साथीभाइ वा नातेदारले कहिले कस्तो कलम उपहार दिए ? खासै ध्यान दिँदैनौँ तर ज्ञवालीको भने कीर्तिपुर–१, चाँदनी चोकस्थित घरको एक कोठामा दराजभरि सजिएर बसेका छन्– उहाँले चालीस वर्षदेखि लेख्नुभएका र अरूले उपहार दिएका कलम ।

ज्ञवालीका हजुरबाले राम्रा राम्रा बाँसका कलमले वेदका अध्याय लेख्नु भयो । बुवा पनि पढ्ने, पढाउने र लेख्ने काममा अगाडि नै । दाजुहरू शिक्षक हुनुहुन्थ्यो । उहाँहरूका अक्षर पनि साह्रै राम्रा । सानैदेखि घरमा यस्तो वातावरण पाएपछि ज्ञवालीको कलमसँग माया बस्यो । उहाँलाई लाग्न थाल्यो– राम्रा अक्षर बनाउन राम्रा कलम र कापी चाहिन्छ । स्कुले जीवनताका परीक्षामा राम्रो अङ्क ल्याइस् भने ‘चाइनिज पेन’ किनिदिन्छु भनेर दाजुहरूले हौस्याउनु हुन्थ्यो । 

उहाँ सम्झनुहुन्छ, “त्यो बेला ‘चाइनिज पेन’ले लेख्ने अवसर कमैले मात्र पाउँथे । त्यसमाथि हामी गाउँघरमा हुर्किएका मानिसलाई ‘चाइनिज पेन’ले लेख्न पाउनु भनेको त ठूलै अवसर थियो ।” गाउँघरमै छँदा राम्रा राम्रा कलमले लेख्न पाउँदा ती कलमप्रति उहाँको मोह बढ्दै गयो । लेखेका कलमलाई उहाँले कहिल्यै फाल्नु भएन । सङ्ग्रह गर्न थाल्नु भयो । जन्म दिन वा कुनै अवसरमा परिवारका सदस्यले पनि उहाँलाई उपहारमा कलम नै दिन थाले । अनि उहाँसँग थरीथरीका कलम जम्मा हुन थाले । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ जन्मस्थल भए पनि उहाँले एसएलसीसम्मको पढाइ पाल्पाको तानसेनमा बसेर पूरा गर्नुभयो । यसपछिको पढाइका लागि काठमाडौँ आउनुभयो । काठमाडौँ आएपछि उहाँको यो ‘लत’ घटेन, झन् बढ्यो । नौला नौला कलम कहाँ किन्न पाइन्छ भनेर उहाँ काठमाडौँका स्टेसनरी पसल चहार्दै हिँड्नु हुन्थ्यो । यस क्रममा एक दिन उहाँको पूर्वडीआईजी जीतेन्द्र बस्न्यातसँग भेट भयो । बस्न्यातको खल्तीमा चार÷पाँचवटा कलम देखेपछि “यति धेरै कलम किन बोक्नु भएको” भनेर ज्ञवालीले जिज्ञासा राख्नुभयोे ।

बस्न्यातले ‘सोख’ भनेर उत्तर दिनुका साथै ‘घरमा तीन दराज कलम रहेको’ भनेपछि उहाँ छक्कै पर्नुभएको थियो रे ! यसैगरी कलमका अर्का सोखिन पूर्वराजदूत डा. नोवलकिशोर राईसँग पनि उहाँको भेट भयो । निजामती सेवामा कार्यरत विजय सुवेदी पनि कलमका सोखिन हुनुहुँदो रहेछ । उहाँहरू सबैको कलमप्रतिको लगाव देखेर ज्ञवालीलाई आपूm सही बाटोमा रहेछु भनेर झन् धेरै थरीका कलम सङ्कलन गर्ने हौसला मिल्न थाल्यो ।  ज्ञवालीले कलम त जम्मा गर्नुभयो तर ती कलम दराज र सुटकेसमा बन्द थिए । यसलाई सजाएर राख्न उहाँका मित्रले आग्रह गर्न थाले । कामको क्रममा कञ्चनपुरमा रहँदा २०५९÷६० सालतिर एउटा सानो चिटिक्क परेको दराज बनाउनुभयो र आपूmसँग भएका कलम सजाएर राख्नुभयो तर विभिन्न जिल्लामा जागिरका क्रममा हिँडिरहनु पर्दा दराज र कलम पनि सारिरहनुप¥यो । यो बाध्यताले सङ्गृहीत कलम सजाएर राख्ने चाहनामा ठेस लाग्थ्यो ।

कति छन् कलम ?

चालीस वर्षभन्दा अघिदेखि ज्ञवालीले कलम सङ्ग्रह गर्न थाल्नुभए पनि यसलाई थिति बसालेको भर्खर छ महिना मात्र भयो । एउटा दराज बनाएर उहाँले चालीसको दशक, पचासको दशक, साठीको दशक र सत्तरीको दशक भनेर तला–तलामा कलमलाई छुट्याएर राख्नुभएको छ । यी कलम (डट्पेनसहित) सङ्ख्याका हिसाबले एक हजार र प्रकारका हिसाबले आठ सयभन्दा बढी छन् ।

ब्रान्डका हिसाबले मोनामी, स्टारलाइन, हिरो, फ्लेम, पाइलट, नटराज, पार्कर, सेफर, स्टेट्ला, पियरे कार्डिनलगायत २६ प्रकारका छन् । मूल्यका हिसाबले ६० हजार रुपियाँसम्म पर्ने कलम पनि छन् । एक हजार रुपियाँ पर्ने कलम त धेरै छन् । सबभन्दा सस्तो नौ रुपियाँको कलम रहेको छ तर यो तत्कालीन बजार मूल्य हो । कतिपय कलम अहिले बजारमा पाइँदैन । यी कलम सार्क मुलुकलगायत दुई दर्जन मुलुकमा बनेका हुन् ।  संसारमा सबभन्दा महँगो कलम दुई लाख ६० हजार डलरको सुनेको जानकारी दिँदै ज्ञवालीले आफ्नो सङ्कलनबाट केही कलम हातमा लिएर देखाउँदै भन्नुभयो, “तीर्थयात्राका क्रममा भारत जाँदा यी कलम किनिएका हुन् । यी कलमका टाउकामा कुनैमा हाँस, कुनैमा ऊँट र कुनैमा चराचुरुङ्गी छन् । त्यो बेला यी कलम किन्न आमाले धेरै कर गर्नुभएको थियो ।” विदेश जाँदा विमानमा होस्, होटलमा होस् वा कुनै गोष्ठी–सेमिनारमा नौलो कलम पाइयो कि उहाँ आफ्नो दराजमा ल्याएर सजाइहाल्नुहुन्छ । 

कलम हराउँदा खाना नै रुचेन 

फुर्सद भयो कि ज्ञवालीलाई कलम पुछ्ने, रिफिल घाममा सुकाउने र बिग्रिएको कुनै कलम छन् भने त्यसलाई कसरी बनाउने भन्ने ध्याउन्न हुन्छ । कलमका सोखिन भन्ने चाल पाएपछि धेरैले उहाँलाई कलम उपहार दिन थाले । “थोरै मसी बाँकी हुँदा मलाई दिनु है” भनेर साथीभाइ तथा नातेदारसँग पनि उहाँले आग्रह गर्न थाल्नुभयो । 

यसरी जम्मा हुँदै गरेको कलममध्ये करिब ८०÷९० वटा कलम उहाँ एक पटक डोटीबाट भैरहवा आउँदा बसमा हरायो । यी कलम हराउँदा उहाँलाई तीन÷चार दिनसम्म खाना पनि रुचेन । साह्रै दुःखी हुनुभयो रे ! यसभन्दा अघि पनि नवलपरासीमा रहँदा करिब डेढ सयवटा कलम हराएको थियो । नवलपरासीमा हराएका कलममा उहाँ र उहाँका बुवाले लेख्नुभएका चालीसको दशकअघिका कलम थिए । कतिपय कलम त बाँसका थिए । 

कलम सङ्ग्रह गर्न धेरैले हौस्याए पनि कोही कोही भने ‘जस्तो कलमले लेखे पनि लेख्नु त हो नि, किन महँगो कलम खोज्नु’ भन्नेहरू पनि उहाँले फेला नपारेको होइन तर साना, ठूला, सस्ता, महँगा तथा किसिम–किसिमका कलमको तिर्सनाले भने उहाँलाई कहिल्यै छाडेन । उहाँ भन्नुहुन्छ, “म जीवनभर यसैमा लागिरहने हो । मेरो सेखपछि पनि छोरीहरूले यसको संरक्षण गर्ने छन् ।” ज्ञवालीको यस कार्यले उहाँका छोरी, श्रीमतीमात्र होइन, ८४ वर्षीया आमाको मुहारमा समेत गर्व महसुस भइरहेको कुराकानीका क्रममा प्रस्ट झल्कन्थ्यो । 

केयर नेपालमा डेपुटी चिफ अप्m पार्टी पदमा कार्यरत ज्ञवालीलाई कलमका लागि भएको खर्चमा कहिल्यै पछुतो भएन । विद्यार्थीकालमा कुनै कुनै महिना त उहाँले कलममा गर्नुभएको खर्च र अरू खर्च झन्डै झन्डै बराबर हुन्थ्यो । उहाँ भन्नुहुन्छ, “अनुत्पादक खर्च घटाउनु पर्छ तर मेरो यो सोख बौद्धिकताको हिसाबले प्रेरणादायी छ । कलमको यो सङ्ग्रह अगाडि बस्दा मेरा सबै तनाव हट्छ । छानी छानी यहाँका कलम लिएर राम्रो कापीमा लेख्न बस्दा नयाँ कुरा फुर्छ ।” 

थाइल्यान्डको एक विश्वविद्यालयबाट विद्यावारिधि गरिरहनुभएका ४९ वर्षीय ज्ञवाली साहित्यमा पनि रुचि राख्नुहुन्छ । २०६५ सालमै उहाँको ‘सिरानी भिज्ने रातहरू’ कविता सङ्ग्रह प्रकाशित भएको थियो । अरू रचना पनि प्रकाशित हुने क्रममा छन् । कलम मात्र होइन, सिसाकलम, डायरी र ब्यागका लागि पनि उहाँ सोखिन हुनुहुन्छ । उहाँसँग यी पनि थरीथरीका छन् तर कलमका मामलामा उहाँ धेरै अगाडि हुनुहुन्छ । सस्तो होस् वा महँगो ‘युनिक’ कलम कसैले उपहार दिए, अहिले पनि उहाँ दङ्ग पर्नुहुन्छ र आफ्नो दराजमा लगेर सजाइहाल्नुहुन्छ ।

  

लेखक बाट थप