• ९ मंसिर २०८१, आइतबार

जय नेपालको निरन्तरता

blog

नेपाली कांग्रेसको नेतृत्वमा भएको वि.सं.२००७ को जन–क्रान्ति नेपालको समग्र परिवर्तनको संवाहक थियो । नेपालले प्राप्त गरेका सबै सकारात्मक पक्ष त्यही क्रान्तिका उपलब्धि थिए । त्यो क्रान्तिले नेपालीलाई निमुखा रैतीको अवस्थाबाट अधिकार सम्पन्न नागरिकको स्तरमा पु-यायो । यसले फगत राजनीतिक क्षेत्रमा मात्र होइन–आर्थिक, शैक्षिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा नयाँ जागरण ल्यायो । राष्ट्रियताको संवद्र्धन यो क्रान्तिको अर्को महìवपूर्ण उपलब्धि थियो । पृथ्वीनारायण शाहको विजयपछि नेपाललाई गोरखासरह तथा नेपाली भाषालाई गोरखाली भाषा भनिने आदि प्रचलन ल्याइए । चन्द्रशमशेर शासनमा रहँदा, वि.सं. १९७० देखि नेपाली भाषालाई पूर्ववत् नेपाली भाषा नै भन्न थालियो र अन्य क्षेत्रमा पनि क्रमशः नेपाल र नेपाली शब्द प्रयोगमा ल्याइए । 

पहिलो विश्व युद्धभन्दा अघिदेखि विदेशी भूमिमा कार्यरत नेपाली सेनालाई गोरखाली सेना भनिन्थ्यो । दोस्रो विश्व युद्धमा अझ धेरै नेपालीले भाग लिएका थिए । उनीहरूलाई पनि गोरखाली सेना नै भन्ने गरिन्थ्यो । दोस्रो विश्वयुद्धको विभिन्न मोर्चाबाट फर्केर आएका अधिकांश तिनै सेनालाई सम्मिलित गराएर, २००७ मा जन–मुक्ति सेनाको गठन गरिएको थियो र उनीहरूको परिचय–जनमुक्ति सेनामा रूपान्तरण भइसकेको थियो । तैपनि गोरखाली सेनाको अवशेष पूर्णतः मेटिइसकेको थिएन । त्यसबेलासम्म पनि राजधानीलाई काठमाडौँ होइन, नेपाल भन्ने गरिन्थ्यो । नेपालले सम्पूर्ण देशलाई समेट्ने स्थितिको निर्माण भइसकेको थिएन । यस स्थितिमा सम्पूर्ण देश नेपाल हो र यहाँका सम्पूर्ण जनता नेपाली हुन् भन्ने राष्ट्रिय भावना उजागर गर्न आवश्यक थियो । यसलाई बीपी कोइराला र सुवर्णशमशेरले गम्भीर रूपमा लिनुभयो । उहाँहरूले अमर शहीद शुक्रराज शास्त्री (जोशी) ले प्रयोगमा ल्याएको–‘जय नेपाल’ लाई सम्झनु भयो । नेपाली कांग्रेसले आफ्नो उपस्थितिको र आफ्नो मातहतको सबैतिर जय नेपाललाई राष्ट्रिय जागरणको अभिन्न अङ्गको रूपमा अपनायो । जन–मुक्ति सेनाले यसलाई सैनिक अनुशासनभित्र अन्तरनिहित गरायो । जय नेपाल जन–क्रान्तिको प्रत्येक मोर्चामा पुग्यो । यो नेपाली कांग्रेस र जन–क्रान्तिसित आबद्ध भएर प्रतिध्वनित भइरह्यो । विराटनगरको मोर्चामा बीपीले भन्नुभएको थियो– “बिहान पार्टीको आदेश लिएर जुन बहादुर हँसिलो सैनिक ‘जय नेपाल’ भनी बिदा लिएर युद्धको मोर्चातिर गएको हुन्थ्यो, साँझमा गोली लागेर चाल्नी जस्तो भएको उसको मृत शरीर फिर्ता आएको हुन्थ्यो तर जाँदाजाँदै उसले ‘जय नेपाल’ जो भनेको थियो, त्यही हाम्रा लागि पुँजीको रूपमा रहन्थ्यो ।” 

२००७ को मङ्सिर २८ गते बिहान, विराटनगरको क्रान्तिको मोर्चाबाट–तारिणीप्रसाद कोइराला र फणीस्वरनाथ रेणुको विशेष सक्रियतामा प्रजातन्त्र नेपाल रेडियोले आफ्नो प्रसारण प्रारम्भ ग¥यो । ‘जय नेपाल प्रजातन्त्र नेपाल रेडियोबाट तारिणीको अभिवादन !’ यो प्रजातन्त्र नेपाल रेडियोको पहिलो आवाज थियो । नेपाली कांग्रेसको वा जन–क्रान्तिको पुँजीको रूपमा रहेको–‘जय नेपाल’ प्रजातन्त्र नेपाल रेडियोको पनि आफ्नो पुँजी थियो । यसलाई प्रजातन्त्र नेपाल रेडियोले सबैतिर सम्प्रेषण ग¥यो । त्यसबेलासम्म बन्दुक र गोलीको बीचबाट कहिले केही कदम पछि सर्दै, तर धेरै तहमा अगाडि बढ्दै देशभरि फैलिएको जन–क्रान्ति, मङ्सिर २८ देखि आवाजबाट पनि अघि बढ्यो । क्रान्तिको स्पर्शबाट केही टाढा तटस्थ जस्तो स्थितिमा रहेका नेपालीहरूलाई पनि यसले क्रान्तिको नजिकै पु¥यायो । रेडियोबाट प्रस्फुटित क्रान्तिको यो आवाज व्यक्ति–व्यक्तिमा पुग्यो । घर–घरमा पुग्यो । यसले प्रत्येक नेपालीमा जन–क्रान्तिप्रति सरोकार र जिज्ञासा बढायो । जन–क्रान्ति कहाँ–कहाँ कसरी अघि बढिरहेको छ, त्यसको जानकारी गराइरह्यो । वास्तवमा क्रान्तिलाई छिट्टै आफ्नो सफलतामा पु¥याउन प्रजातन्त्र नेपाल रडियोको महìवपूर्ण भूमिका रह्यो । 

२००७ को फागुन ७ गते नेपालमा प्रजातन्त्रको स्थापना भयो । विराटनगरबाट सञ्चालन भइरहेको प्रजातन्त्र नेपाल रेडियोलाई, २००७ को चैत २० देखि काठमाडौँमा सारियो । सिंहदरबारभित्रको राणाका बालबालिकालाई पढाइने स्कुल भनिने छुट्टै भवनबाट यसलाई सञ्चालन गरियो । सिंहदरबारमा सरकारले मन्त्रालय राख्ने निर्णय गरिसकेको थियो तर मोहनशमशेरले सिंहदरबार छोडेका थिएनन् । उनको सुरक्षामा तैनाथ बिजुली गारद पनि सिंहदरबारको ब्यारेकमै थियो । त्यसैले सुरुका दिन रेडियो प्रसारणको आवतजावतमा केही अप्ठ्यारो थियो । २००७ चैत ३० को गोरखा दल काण्डपछि मात्र २००८ को वैशाख ७ गते मोहनशमशेरले सिंहदरबार खाली गरेर आफ्नै बासस्थान लक्ष्मी निवासमा सरे । वैशाख ९ देखि सिंहदरबार विधिवत् मन्त्रालयमा परिणत भयो र रेडियो प्रसारणले बेहोर्नु परेको व्यवधानहरू पनि हट्दै गए । काठमाडौँमा स्थानान्तरण भएपछि तारिणीप्रसाद कोइरालाले रेडियो डाइरेक्टरको जिम्मेवारी बहन गर्नुभयो । यसको विराटनगर प्रसारणमा सम्बद्ध हिन्दीका प्रतिष्ठित लेखक फणीश्वरनाथ रेणु एवंं विजयालक्ष्मी कोइराला, रानु अधिकारीहरू काठमाडौँमा सरिक भएनन् । काठमाडौँमा प्रमुख सहयोगीहरू थिए–बालकृष्ण सम, उहाँको छोरा जनार्दन सम, छोरी रश्मीराज्यलक्ष्मी शाह तथा प्रकाशमान सिंह, मधुसुदन देवकोटा, हरिप्रसाद रिमाल, किशोरी देवी, नातिकाजी, पुष्प नेपाली आदि । 

यसको बिहान र साँझ दुवै प्रसारणमा नेपालीमा, हिन्दीमा र अङ्ग्रेजीमा समाचार दिइन्थ्यो । नाटक, कविता, लोक गीत, आधुनिक गीत, छात्र कार्यक्रम, बालबाटिका आदि विभिन्न मनोरञ्जन र ज्ञानमूलक कार्यक्रमहरू पनि यसमा थपिँदै गए । प्रसारणको समयमा पनि वृद्धि गरियो । नेवारीमा पनि समाचार दिन थालियो । २००८ को असार १५ देखि नाम परिर्वतन गरेर यसलाई–‘रेडियो नेपाल’ भनियो । रेडियो नेपालले दिउँसो पनि नेपालीमा समाचार र अरू कार्यक्रम दिन थाल्यो । प्रजातन्त्रको स्थापनासँगै काठमाडौँबाट दैनिक ‘आवाज’ को प्रकाशन सुरु भयो । अरू केही साप्ताहिक पत्रिकाहरू पनि प्रकाशित हुन थाले । तर ती काठमाडौँ बाहिर आमजनतासम्म पुग्न सक्तैनथे । कहाँ, के भइरहेछ, त्यसको जानकारी लिने अरू कुनै माध्यम थिएनन् । यी सबै अभावको पूर्ति गर्नुपर्ने दायित्वलाई रेडियो नेपालले निर्वाह गर्दै गयो । जनताको सुसूचित हुने हकका प्रति सजग हुँदै गयो । सबैतिरको निषेधको अवस्थाबाट नेपाल उन्मुक्त वातावरणमा पदार्पण गर्न थालेको एक सङ्क्रमण र संवेदनशील अवस्थामा थियो । रेडियो नेपालले सबैलाई देशमा के भइरहेको छ, त्यसको जानकारी लिने र आफ्नो जिम्मेवारीका प्रति उत्सुक रहने प्रवृत्तिको विकास गरायो । रेडियो नेपाल नेपाली जन–जीवनको एक अभिन्न अङ्ग बन्दै गयो । 

जन–क्रान्तिको मोर्चामा बन्दुक र गोलीको बीचबाट आएको–प्रजातन्त्र नेपाल रेडियो नै–‘रेडियो नेपाल’ थियो । अहिले यसले आफ्नो सात दशकभन्दा बढी अवधि पूरा गरिसकेको छ । यो लामो अवधिमा रेडियो नेपालले अनेक घुम्तीहरू पार गर्नु प¥यो । अनेक आरोह र अवरोहलाई बेहोर्नु प¥यो । नियन्त्रण र निषेधका अनेक व्यवधानलाई झेलिरहनु प¥यो । ती सबै कठिन परिस्थितिमा पनि रेडियो नेपालले आफ्नो पहिलो आवाज–जय नेपाललाई बिर्सन सकेन । हरेक दिन बिहान यसले जय नेपाललाई आफ्नो पहिलो आवाजको स्थान दिइरह्यो । वास्तवमा जय नेपालले देशको राजधानी मात्र होइन, सम्पूर्ण देश नेपाल हो भन्ने राष्ट्रिय सन्देशलाई प्रवाहित ग¥यो । त्यसैले बीपी कोइरालाले जय नेपाललाई जन–क्रान्तिमा आफूलाई सगर्व बलिदान दिने जन–मुक्तिसेनाले छाडेर गएको पुँजीको रूपमा लिनुभएको थियो । त्यो पुँजी नेपालको राष्ट्रिय सचेतनाको प्रतीक थियो । त्यसैले निर्दलीय निरङ्कुश कालमा पनि रेडियो नेपालले यसलाई जन–क्रान्तिको पुँजीको रूपमा मात्र हेरेर पन्छाउन सकेन ।    

जन–क्रान्तिको सफलतापछि गृहमन्त्रीको पदभार सम्हालिरहेको बेला बीपीले जन–मुक्ति सेनालाई रक्षा दलमा परिणत गर्नुभयो । सिंहदरबारको ब्यारेकबाट बिजुली गारद निस्केपछि रक्षा दललाई त्यहाँ रहने व्यवस्था गरियो । देशको मन्त्रालय र अरू महìवपूर्ण कार्यालयहरू रहेको सिंहदरबारको सुरक्षाको जिम्मेवारी पनि रक्षा दलकै थियो । रक्षा दलमा सम्मिलित सबैले जन–क्रान्तिको विभिन्न मोर्चामा प्रजातन्त्र स्थापनाको लडाइँ लडेका थिए । प्रजातन्त्रका प्रति उनीहरूको बेग्लै अपनत्वको भावना जोडिएको थियो । उनीहरू आफ्नो निमित्त होइन, देश, जनता र प्रजातन्त्रको निमित्त आफूसमेत आफ्ना यावत् कुराहरूलाई समर्पण गरेर जन–क्रान्तिमा समाहित भएका थिए । त्यसैले प्रजातन्त्रको विरोधमा रहेका तìवहरू रक्षा दललाई विघटन गर्ने, यसलाई तितरवितर पार्ने षडयन्त्रमा लागिरहेका थिए । अन्ततः २००८ को माघ ८ गते राति रक्षा दलले विद्रोह ग¥यो । सिंहदरबारभित्रै बन्दीको रूपमा रहेका डा.के.आई. सिंहलाई रिहा ग-यो । उनलाई यसले आफ्नो पक्षको नेता बनायो । राजदरबार बाहेक राजधानीको झन्डै सबै कार्यालयमा यसले आफ्नो आधिपत्य कायम ग-यो । माघ ९ गते साँझसम्म रक्षा दलकै अर्को समूहसमेतको सहयोगमा स्थिति नियन्त्रणमा आयो । यसैको बहानामा रक्षा दलका सबैलाई निशस्त्र पारियो । रक्षा दललाई विघटन गरियो । केही समयपछि रक्षा दलका केहीलाई सेनामा तथा बहुसङ्ख्यकलाई प्रहरीमा समावेश गराइयो । उनीहरूले नै प्रहरीमा–जय नेपाललाई प्रवेश गराए । जी.बी.याक्थुम्वादेखि डी.बी.लामासम्म रक्षा दलका धेरैले प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक (आई.जी.पी.) को जिम्मेवारी सम्हाल्ने अवसर पाए । रक्षा दलका वा जन–मुक्तिसेनाका सबैलाई जय नेपालको आवश्यकता, यसको महìव र यसलाई अपनाउनु परेको स्थिति थाहा थियो । त्यसैले ‘जय नेपाल’ ले प्रहरीभित्र पनि निरन्तरता कायम राख्यो । 

लेखक नेपाली कांग्रेसका नेता हुनुहुन्छ ।