• १३ साउन २०८१, आइतबार

गायत्री मन्दिरमा पर्यटकीय पार्क निर्माण

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, चैत २४ गते । धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको गायत्री मन्दिर परिषरमा आकर्षक पार्क निर्माण गरिएको छ । रघुगंगा गाउँपालिका–३ पिप्लेअन्तर्गतको गायत्री मन्दिर परिषरमा पर्यटकीय पार्क निर्माण गरिएको हो ।

प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको १० लाख बजेटमा पार्क निर्माण कार्य भएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषनाथ शर्माका अनुसार प्रदेश सरकारको बजेटमा उक्त स्थानमा आकर्षक पार्क निर्माण गरिएको हो । 

बेनी–जोमसोम सडक खण्डसँगै जोडिएको गायत्री मन्दिर परिषरमा बनेको पार्कमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पनि विश्राम गर्नका लागि सहज हुने अपेक्षासहित उक्त स्थानमा पार्क निर्माण गरिएको शर्माले बताउनुभयो ।

पर्यटकीय स्थल अनि सडकसँगै जोडिएको क्षेत्रमा पर्यटकहरूलाई विश्रामका लागि उत्कृष्ट स्थल हुने भएकाले पनि सबैको ध्यान पुग्ने गरी निर्माण गरिएको गायत्री मन्दिर परिषरमा पर्यटकीय पार्क निर्माण उपभोक्ता समितिका सचिव पदम छन्त्यालले बताउनुभयो । जनश्रमका साथै घरेलुबाट आएको बजेटले पनि उक्त पार्क निर्माणका लागि केही रकम अपुग भएको भएपनि स्थानीय तवरबाट समितिले त्यसको उचित व्यवस्थापन गर्ने छन्त्यालको भनाइ छ । गएको मङ्सिर २९ गते सम्झौता भएको पार्क निर्माणको काम सबै सकिएको उहाँले बताउनुभयो ।

देशकै महत्त्वपूर्ण कालिगण्डकी कोरिडोर सडकअन्तर्गतको बेनी-जोमसोम-कोरला सडक खण्डको पवित्र तीर्थस्थल गलेश्वरधाम नजिकै रहेको उक्त पार्क क्षेत्र पनि मन्दिर रहेको हुनाले पनि त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सहज हुने घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख शर्माको भनाइ छ ।