सन् १७५७ मा सुधारको माग राख्दै भारतको मेरठ राज्यका सिपाहीहरूले विद्रोह गरेका थिए । सिपाही मङ्गल पांडेले अङ्गेज अफिसर मारेर सुरु गरेको विद्रोह भारतभरि फैलियो ।
नेपाल तथा अन्य भारतीय राज्यहरूको सहयोगले विद्रोह दमन गरे पनि तत्कालीन गर्भनर जनरल केनिङले भारतमा शासन मात्र होइन, सुधार पनि गर्नु प¥यो भन्ने सोचका साथ अङ्ग्रेजी शिक्षाको प्रारम्भ गरेका थिए । त्यहीँ अङ्ग्रेजी शिक्षा थापाथली दरबारबाट बाहिर निस्कियो र दरबार स्कुल बन्यो । चन्द्रशमशेर प्रधानमन्त्री भएपछि यिनलाई कलेज खोल्ने चौतर्फी दबाब बढ्यो, सुनको साँचो र चाँदीको ताल्चाबाट त्रिभुवन चन्द्र कलेजको ढोका खुल्यो । दरबार स्कुलबाट प्रथम श्रेणीमा उत्तीर्ण भएका गङ्गालाल श्रेष्ठले त्रिभुवन चन्द्र (त्रिचन्द्र) कलेजको विज्ञान विषयमा प्रवेश पाए ।
सन् १९३४ मा एसएलसी बोर्डको स्थापना भएपछि नेपाली विद्यार्थीले स्वदेशमै बसेर स्कुल लिभिङ सर्टिफिकेट परीक्षा दिन पाएका थिए । नेपालमा प्रजातन्त्र आएपछि विद्यालय शिक्षामा केटा र केटीको निम्ति छुट्टा छुट्टै पाठ्क्रम लागू भयो । माध्यमिक तहमा केटीको निम्ति फस्ट एड एन्ड निडिल वर्क र डोमोस्टिक साइन्स अनिवार्य गरियो । यीबाहेक सबै विषय केटा र केटीको निम्ति सामान रूपमा अनिवार्य बनाइएका थिए । एक वर्षसम्म
पढेका कुरा तीन घण्टामा अक्षरको रूपमा सेतो पानामा ओकल्नु पर्दथ्यो । केटा र केटीको निम्ति बनाइएका विभेदकारी पाठ्यक्रमको चाँडै अन्त्य भयो । माध्यमिक तहमा दुवैको निम्ति एउटै पाठ्यक्रम लागू गरियो ।
सन् १९७१ (२०२८ साल) मा नयाँ शिक्षा लागू भए पनि विद्यालय तहको पाठ्यक्रममा कुनै परिवर्तन भएन तर विगतका पाठ्यक्रमभन्दा माध्यमिक विद्यालयका पाठ्यक्रममा साधारण र व्यावसायिक गरी दुई धारका पाठ्यक्रम तयार गरिए । साधारण र व्यावसायिक धार मानिय पनि दुवै धारका अनिवार्य विषय सैद्धान्तिक नै थिए । यी दुवै धारका मूल्याङ्कन पद्धति पनि समान थिए ।
नयाँ शिक्षा पद्धति भनिए पनि पुरानो एसएलसी परीक्षाले निरन्तरता पाई नै रह्यो । पुरानै ढाँचाका प्रश्नपत्र र मूल्याङ्कनका आधार, सेना र प्रहरीको निगरानी, त्रासमय वातावरण, पचाउन नसकिने विषय र विषयवस्तुको भार, थिचिएको मनस्थिति, दस वर्षसम्मको निरन्तर परीक्षा, त्यसमा पनि झन्डै आधा विद्यार्थी असफल । फेरि तिनै विद्यार्थी असफलताको बोझ दिमागमा बोक्दै पुनः परीक्षाको अभ्यासमा झोसिए ।
उच्च माध्यमिक शिक्षालाई विद्यालय शिक्षामा गाभेपछि स्कुल लिभिङ सर्टिफिकेट (एसएलसी) लाई माध्यमिक शिक्षाको परीक्षामा रूपान्तरण गरियो ।
विश्वव्यापी फैलिएको कोभिड १९ को महामारीबाट बालबालिका नराम्ररी प्रभावित भएका थिए । यस्तो अवस्थामा फेस टु फेस पठन पाठन र परीक्षाको ठाउँमा वैकल्पिक शिक्षाको व्यवस्था गरियो । अनलाइन शिक्षाको प्रभावकारितामा प्रश्नचिह्न लागे पनि यसलाई र्निविकल्प माध्यमको रूपमा प्रयोग गरियो । एसएलसी परीक्षाका विकल्प खोज्न थालियो । अनलाइन परीक्षा सञ्चालन गर्ने होकि भन्ने जस्ता विचार पनि अगाडि आएका थिए तर पछि सबभन्दा उत्तम उपायको रूपमा एसईई परीक्षाको सट्टा विद्यार्थी र विद्यालयका अघिल्लो परीक्षाको नतिजालाई आधार मान्ने निष्कर्षमा राष्ट्रिय परीक्षा बोर्ड पुगेको थियो । त्यसैको आधारमा दुई–दुई पटक एसईई परीक्षाबिना नै अघिल्लो परीक्षाको नतिजाको आधारमा विद्यार्थी उत्तीर्ण गरिए तर हाल आएर एसईई परीक्षा परम्परागत शैलीमा सरकारी रेखदेखमा हुने गरी चैत १७ गतेदेखिको परीक्षा तालिका सार्वजनिक गरिएको छ । अघिल्लो परीक्षा परिणाम मान्ने व्यवस्था लागू भइसकेको अवस्थामा फेरि पुरानै व्यवस्था लागू गर्दा विद्यार्थीमा पर्न गएको नकारात्मक प्रभावको सहजै अनुमान गर्न सकिन्छ । विभिन्न क्षेत्रबाट एसईई परीक्षाको विकल्पको खोजी भइरहँदा यसलाई निरन्तरता दिई नै राख्ने कामलाई राम्रो मान्न सकिँदैन । जे भए पनि विद्यार्थी तथा अभिभावकले एसईई परीक्षालाई स्वीकार गर्नु नै पर्ने हुन्छ । एसईई परीक्षाका विशिष्टीकरण तालिका र नमुना प्रश्न व्यावहारिकभन्दा सैद्धान्तिक रहेका छन् ।
विद्यार्थीले निर्धारित समयमा सबै प्रश्नको उत्तर दिनुपर्ने हुन्छ । त्यसै हुनाले प्रश्नको उत्तर लेख्नुभन्दा पूर्वउक्त प्रश्नको उत्तरको निम्ति कति समय निर्धारण गर्ने हो भन्ने कुरामा विचार गर्नुपर्ने हुन्छ । यस्तो अभ्यास परीक्षा पूर्वबारम्बार गर्नु पर्छ । कुनै प्रश्नको उत्तर लेख्दा शीर्ष मागमा समय लेख्ने र उत्तर सकिएपछि पनि समय लेख्ने अभ्यास निरन्तर गर्नाले छिटछिटो लेख्ने र सोच्ने बानीको विकास हुन्छ । समय नपुगेर कतिपय विद्यार्थीले प्रश्नको जवाफ आए पनि लेख्न भ्याएका हुँदैनन् । यसको निम्ति विद्यार्थीले घर र
विद्यालयमा छिटछिटो लेख्ने बानीको अभ्यास गर्नुपर्छ । प्रश्नपत्र निर्माणकर्ताले पनि कुन प्रश्नको जवाफ कति समयसम्म लगाउनुपर्ने हो र उक्त प्रश्नको जवाफमा कति अङ्क पाउनुपर्ने हो प्रश्नपत्रमा नै स्पष्ट रूपमा लेख्नुपर्छ । प्रश्नमा छोटकरीमा लेख्नु भन्ने जस्ता वाक्य लेख्नु हुँदैन किनभने छोटकरी भन्ने शब्दको कुनै मापन हुँदैन । प्रश्नबाट नै छोटकरी वा लामो कस्तो प्रश्न हो भन्ने कुरा छुट्टिन्छ । प्रश्नमा मापन गर्न नसकिने शब्दावलीको प्रयोग गरिनु हुँदैन ।
निष्कर्ष
शिक्षामा सुधार भए पनि परीक्षामा सुधार हुन सकेको छैन । सङ्घीय संरचनाअनुसार परीक्षा सञ्चालन गर्ने सम्पूर्ण जिम्मा सङ्घ र प्रदेशलाई दिनुपर्छ । सबै प्रश्न र उत्तर समुदायमा आधारित अनुसन्धानमूलक र प्रयोगात्मक हुनु पर्छ । यसकोे सम्पूर्ण जिम्मा विषय शिक्षकलाई दिनुपर्छ । परीक्षामुखी शिक्षा हुँदा परीक्षामा सुधार नगरी शिक्षामा सुधार हुन सक्दैन । त्रुटिपूर्ण परीक्षाले गर्दा विद्यार्थी पुस्तकका भारी बोकेर विद्यालय जान बाध्य भएका र असफल हुने गरेका छन् ।
लेखक शिक्षा क्षेत्रका जानकार हुनुहुन्छ ।