काठमाडौँ, चैत २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पुँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताउनुभएको छ । उहाँले समाजवाद उन्मुख राज्यको महत्वपूर्ण आधार सहकारी आन्दोलन रहेकोले यसलाई पुँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)को भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले बुधबार आयोजना गरेको राष्ट्रिय भेलामा मन्तव्य राख्ने क्रममा प्रधानमन्त्रीसमेत रहेका सो पार्टीका अध्यक्ष प्रचण्डले सहकारी आन्दोलनलाई समाजवादको आधार खडा गर्ने साधनका रूपमा विकसित तुल्याउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “संविधान सभाबाट नयाँ संविधान बनाउँदै गर्दा हामीले देशको राजनीति, अर्थनीति र शासन प्रणाली कस्तो हुने सम्बन्धमा बहुपक्षीय र बहुआयामिक छलफल गरेका थियौँ । त्यही छलफलको जगमा अबको राज्य समाजवाद उन्मुख हुनेछ भनिएको हो ।” “संविधानमा तीन खम्बे अर्थनीति– निजी, साझेदारी र सहकारीको व्यवस्था गरिएको छ,” भन्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “संविधानले परिलक्षित गरेअनुसार समाजवादको आधार तयार पार्नसमेत सहकारी क्षेत्रको निकै ठूलो भूमिका रहन्छ । उहाँले संविधानमा उल्लिखित मौलिक हक समाजवादको आधार निर्माणसँग सम्बन्धित रहेको तर्क गर्नुभयो ।”
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “संविधान र सङ्घीयताको कार्यान्वयनमा हाम्रा बहसकेन्द्रित छन् । कतिपय शक्तिले परिवर्तनका मुद्दा उल्टाउने, समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने काम गरिरहेका छन् ।” उहाँले सहकारी आन्दोलनलाई पुँजीवादीकरण गर्ने सोच पनि समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने विचार र मनोविज्ञानद्वारा निर्देशित रहेको दाबी गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले सहकारी आन्दोलनलाई उत्पादनसँग नजोडी समाजवादको आधार निर्माण हुन नसक्ने बताउँदै उहाँले कृषिमा आधारित उत्पादनबाट सहकारीको निर्माण, परिचालन, बजारीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कृषिमा आधारित उद्योगबाहेक अरू उद्योग दीर्घकालीन समाधान नरहेको बताउँदै उहाँले कृषिको सहकारीकरणमार्फत मात्र आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र सुदृढ गर्न सकिने बताउनुभयो।
प्रधानमन्त्री प्रचण्डले नयाँ सरकारले पूर्णता प्राप्त गरिसकेकाले अब सरकारको सम्पूर्ण ध्यान नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुने बताउनुभयो।
उहाँले भन्नुभयो, “कठिन परिस्थितिमा सरकारको नेतृत्व गर्दै छु, चुनौती नै चुनौतीबीच देशका लागि केही गर्न सकिन्छ भन्ने दृढतासहित सरकारको नेतृत्व गरिरहेको छु, यसलाई मैले चुनौतीपूर्ण अवसर भनेको छु।” प्रधानमन्त्री प्रचण्डले परम्परागत नीति, कार्यक्रम र बजेटले देशको समस्या सम्बोधन गर्न नसक्ने बताउँदै अर्थतन्त्रका चुनौती पार लगाउन विगतभन्दा केही नयाँ, फरक र देशको अर्थतन्त्रमा गुणात्मक प्रभाव राख्ने योजना ल्याउने बताउनुभयो। उहाँले नीति तथा कार्यक्रममा सत्ताको चरित्र महत्त्वपूर्ण रहेकाले सत्ता साझेदारको चरित्रबमोजिम नीति आउने बताउनुभयो।