• २७ वैशाख २०८२, शनिबार

रवि लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

blog

काठमाडौं, चैत २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज (बुधबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । मङ्गलबार हेर्न नभ्याइने सूचीमा परेको उक्त मुद्दाको सुनुवाइ आज सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा हुन लागेको हो ।

मङ्गलबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने भएको थियो ।

रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन सोमबार दर्ता भएको थियो ।

राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित सोमबार अधिवक्ता युवराज पौडेल ‘सफल’ले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।

लामिछानेविरुद्ध दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ । यसअघि नै उहाँले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिक नभएको फैसला सुनाएको थियो । उक्त फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो । अहिले जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता लिइसक्नुभएको छ ।

महान्यायाधिवक्ता डा. पोखरेलले यही चैत छ गते लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गर्नुभएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गर्नुभएको बताइएको थियो । उक्त निर्णय बदर गर्न माग गर्दै रिट निवेदन परेको थियो ।