• १३ साउन २०८१, आइतबार

एडीबी र विश्व बैङ्कको प्रक्षेपण: ‘आर्थिक वृद्धि ४.१ प्रतिशत मात्रै’

blog

काठमाडौँ, चैत २२ गते । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर यसअघि गरिएको प्रक्षेपणको तुलनामा खुम्चने एसियाली विकास बैङ्क (एडीबी) र विश्व बैङ्क दुवैको अनुमान रहेको छ । नेपाली समयअनुसार मङ्गलबार दुवै दातृनिकायले सार्वजनिक गरेका छुट्टाछुट्टै प्रतिवेदनले नेपालको आर्थिक चालु वर्ष घट्ने उल्लेख गरेका हुन् । छुट्टाछुट्टै प्रतिवेदन सार्वजनिक गरे पनि दुवै संस्थाले समान ४.१ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने अनुमान गरेका हुन् । 

एडीबीले ‘एसियन डेभलपमेन्ट आउटलुक’ र विश्व बैङ्कले नेपाल डेभपलमेन्ट अपटेड (अप्रिल २०२३) : फाइन–ट्युनिङ पोलिसी इन अ टर्बुलेन्ट इन्भायरन्मेन्ट’ प्रतिवेदन सार्वजनिक गर्दै पछिल्लो अनुमान उल्लेख गरेका हुन् । गत वर्ष नेपालको वृद्धिदर ५.८ प्रतिशत पुगेको थियो ।

चालु वर्षमा कसिलो मौद्रिक नीति, महामारीको बाँकी प्रभाव तथा विश्वव्यापी अस्थिरताका कारण त्यसको असर नेपालको वृद्धिदरमा देखिने एडीबीको अनुमान छ । अर्थतन्त्रमा बढ्दो महँगी र घट्दो आयातको प्रत्यक्ष असर पनि यस वर्ष अर्थतन्त्रमा देखिने एडीबीले जनाएको छ । यद्यपि आगामी वर्ष सन् २०२४ मा पनि अर्थतन्त्रमा सुधार भई पाँच प्रतिशतको वृद्धि हुने एडीबीको प्रक्षेपण छ । पर्यटन क्षेत्रमा हुने सुधार र ऊर्जा उत्पादनमा हुने वृद्धिले अर्थतन्त्रको वृद्धिदरलाई आधार प्रदान गर्ने जनाइएको छ ।

प्रतिवेदनअनुसार सन् २०२३ मा दक्षिण एसियाली मुलुकमध्ये माल्दिभ्सको सबैभन्दा धेरै आर्थिक वृद्धि हुने अनुमान छ । 

माल्दिभ्सले सन् २०२३ मा ७.१ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान छ । त्यसपछि भारतको ६.४, बङ्गलादेशको ५.३, भुटानको ४.६ र पाकिस्तानको ०.६ प्रतिशतको मात्र वृद्धिदर हासिल हुने प्रतिवेदनमा उल्लेख छ । चरम आर्थिक मन्दी खेपेको श्रीलङ्काको आर्थिक वृद्धि यस वर्ष तीन प्रतिशतले ऋणात्मक हुने अनुमान छ । 

विश्व बैङ्कले आयात प्रतिबन्ध, मौद्रिक नीतिमा गरिएको कडाइ, उच्च मुद्रास्फीति र कम राजस्व सङ्कलनका कारण खुम्चँदो सरकारी खर्चका कारण यस वर्षको आर्थिक वृद्धिदर यसअघि प्रक्षेपण गरिएभन्दा कम हुने जनाएको छ । आर्थिक वर्ष सन् २०२४ मा भने पर्यटन क्षेत्रको पुनः आरम्भ, विप्रेषण आप्रवाहमा वृद्धि र मौद्रिक नीतिमा क्रमशः गरिने सहजताका कारण वृद्धिदर बढेर ४.९ प्रतिशत पुग्ने विश्व बैङ्कको प्रक्षेपण छ । विश्व बैङ्कको यो प्रक्षेपण एडीबीको तुलनामा ०.१ प्रतिशतले कम हो ।