• ३ असार २०८१, सोमबार

सातदोबाटोलाई जावलाखेलको धक्का

blog

जावलाखेल टोली । फाइल तस्बिर

काठमाडौं, चैत २१ गते । पाधि दौडमा रहेको सातदोबाटो यूथ क्लबलाई हराउँदै जावलाखेल शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ ।

एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा मंगलबार भएको खेलमा जावलाखेलले सातदोबाटो यूथ क्लबलाई २–१ गोलले हरायो । हारसँगै सातदोबाटो दोस्रो स्थानमा झरेको छ । 

जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो मोसाबीले गोल गर्नुभयो । सातदोबाटोका दीपक सिंह ठकुरीले एक गोल फर्काउनुभयो । फोफानाले ४३औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै जावलाखेलको उत्साह जगाउनुभएको थियो ।

मोसाबीले ५०औँ मिनेटमा गोल गर्दे जावलाखेलको अग्रता दोब्बर बनाउनुभयो । जावलाखेलको लगातार दुई गोलपछि जोसिएको सातदोबाटोले ७५औँ मिनेटमा गोल फर्काएपछि हार टार्न सकेन ।

दीपकले गोल गर्दै सातदोबाटोलाई खेलमा फर्काउने प्रयास गर्नुभएको थियो । जितसँगै शीर्षस्थानमा रहेको जावलाखेलको ६ खेलबाट १३ अङ्क छ । पराजित सातदोबाटो १२ अङ्कसहित दोस्रो स्थानमा छ । 

यसैगरी च्यासल मैदानमा भएको अर्को खेलमा एनआरटी र चर्च ब्वाइज क्लबले २(२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । चर्च ब्वाइजले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । 

२०औँ मिनेटमा आशिष् चौधरीले गोल गर्दै चर्च ब्याइजलाई अग्रता दिलाउनुभयो । ६२औँ मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर बनाउनुभयो ।

त्यसपछि एनआरटीका रोशन खड्कीले ७१औँ र सरोज तामाङले इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । बराबरीसँगै ६ खेलबाट १२ अङ्क बनाएको चर्च ब्वाइज तेस्रो स्थानमा छ । एनआरटीले समान खेलबाट तीन अङ्क बनाएको छ ।