• ९ मंसिर २०८१, आइतबार

सामुदायिक क्याम्पसको साख

blog

समुदायद्वारा समुदायकै लागि सञ्चालित समुदायको स्वामित्वमा रहेको उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थालाई सामुदायिक क्याम्पस भनिन्छ। यस्तो शिक्षण संस्थाबाट विशेष गरी समुदायका निम्न आय भएका सर्वसाधारणका छोराछोरीले सस्तोमा गुणस्तरीय शिक्षा ग्रहण गर्न पाउँछन्। त्रिभुवन विश्वविद्यालय नेपालको जेठो र अग्रणी शिक्षण संस्था हो, जसका ६० वटा आङ्गिक क्याम्पस, दुई प्रतिष्ठान र एक हजार ८४ वटा सम्बन्धन प्राप्त क्याम्पस छन्। त्यसो त त्रिविमा चार लाख १८ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्छन्। नेपालमा ५४४ वटा सामुदायिक क्याम्पस छन्। ठूलो सङ्ख्यामा त्रिविबाट सम्बन्धन लिएका सामुदायिक क्याम्पस भए पनि तिनीहरूको छुट्टै आफ्नो विश्वविद्यालय छैन। 

राजधानीबाट टाढा भए पनि मोफसलमा सञ्चालित कतिपय सामुदायिक क्याम्पस विश्वविद्यालय अनुदान आयोगको गुणस्तर मापदण्डमा क्यूएए प्राप्त वा ‘क’ श्रेणीका छन्। जो हरेक कोणले नमुना छ भने कतिपय सामुदायिक क्याम्पस जेनतेन चलेका र कतिपय धान्न नसकिने वा बन्द हुने अवस्थामा छन्। त्यसो हुनुमा राजनीतिक प्रभाव, आर्थिक दुरावस्था, फितलो व्यवस्थापन, पुराना शैक्षिक कार्यक्रम, समुदायको न्यून सहभागिता, भौतिक पूर्वाधार कमी, प्राज्ञिक संस्कार कमीलगायतका प्रमुख समस्या छन्। 

सामुदायिक क्याम्पसलाई राजनीतिक दबदबाबाट मुक्त पार्नुपर्छ। राजनीतिक चिन्तन सन्निकट र राजनीतिक व्यक्तित्वको संलग्नतामा नेपालका अधिकांश सामुदायिक क्याम्पसको स्वामित्व छ। त्यसैले समुदायका सबै तह र तप्का, वर्गका सदस्यलाई समावेशी अवधारणाअनुसार प्रतिनिधित्व गर्नेखालको व्यवस्थापन हुनुपर्छ। शिक्षक, प्राध्यापक र कर्मचारी नियुक्ति राजनीतिक आग्रह र पूर्वाग्रहबाट हुनुहुँदैन। त्यसैले प्रतिस्पर्धाका आधारमा दक्ष, योग्य शिक्षक, प्राध्यापक र कर्मचारी नियुक्ति गरी सामुदायिक क्याम्पसलाई शैक्षिक उन्नयनको पवित्र थलो बनाउनुपर्छ। 

धेरैजसो सामुदायिक क्याम्पसले पुरानैखालका विषय अध्यापन गराइरहेकोमा नयाँ–नयाँखालका र समयसुहाउँदो एवं रोजगारी सिर्जना गर्न सक्ने विषय सम्बन्धन लिने अध्यापन गराउनुपर्छ। त्यसैले कम्प्युटर विज्ञान, सूचना प्रविधि, वातावरणीय विज्ञान, सङ्गीत, कला, व्यवस्थापन जस्तै होटल म्यानेजमेन्ट, हस्पिटालिटी मेनेजमेन्ट, कानुन, इन्जिनियरिङ, मिडिया स्टडिज, मनोविज्ञान, 

सङ्गीत, अभिनय, सोसलवर्कसँग सम्बन्धित विषयलाई प्राथमिकता लिई अध्ययन अध्यापन गराउनुपर्छ। भौतिक पूर्वाधार राम्रो नभएकाले सामुदायिक क्याम्पसले भौतिक संरचना विकास र विस्तार गर्नुपर्छ। जस्तै सफा कक्षाकोठा, पर्याप्त शैक्षणिक सामग्री, प्रोजेक्टर, कम्प्युटर, इन्टरनेट सेवा, राम्रो पुस्तकालय, विद्युतीय लाइबे्ररी, विषयगत प्रयोगशाला आवश्यक हुन्छ। यसैगरी परीक्षा प्रणालीलाई वैज्ञानिक र सबल बनाउनाले यसको स्तर उकास्न सहयोग पुग्छ। एक शैक्षिक सत्रमा कम्तीमा पनि तीनवटा परीक्षा लिने र अन्तिम परीक्षामा सोधिनेखालको प्रश्नको ढाँचासँग मिल्ने प्रश्न विद्यार्थीलाई अभ्यास गराउँदा विद्यार्थीले आफूले हासिल गरेका ज्ञानबाट खारिने मौका पाउँछन्। 

विद्यार्थीको सिर्जनात्मक क्षमताको विकास र क्याम्पसको शैक्षिक गतिविधि समेटी त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा स्मारिका प्रकाशन गर्न सकिन्छ। प्राज्ञिक उन्नयनका लागि वार्षिक रूपमा शैक्षिक जर्नल प्रकाशन गर्ने व्यवस्था मिलाउन सकिन्छ। सामुदायिक क्याम्पसमा अध्यापनरत शिक्षक एवं कर्मचारीको सेवा, सर्त र सुविधा ग्यारेन्टी गर्नुपर्ने हुन्छ। केही समय अध्यापन गर्ने र राम्रो अवसर आएमा सामुदायिक क्याम्पस छोडी अन्यत्र रोजगारीका लागि जाने परिपाटी नभएको होइन। सामुदायिक क्याम्पसले राम्रा जनशक्ति टिकाइरहन अतिरिक्त सुविधा दिनुपर्ने हुन्छ। केही क्याम्पसले मात्र शिक्षक, कर्मचारीको तहगत विभाजन, भर्ना, पदोन्नति प्रणालीलाई व्यवस्थित गरेका छन्। यसका लागि अवकाश कोष, कल्याण कोष, योग्यता, क्षमता र अनुभव पुगेका शिक्षक तथा कर्मचारीलाई पदोन्नति व्यवस्था गरी उनीहरूलाई कामप्रति अभिप्रेरित, प्रोत्साहित र समर्पित गराउन सकिन्छ। 

सामुदायिक क्याम्पसले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन् तर त्यसमा कतिपय अभिभावकको विश्वास छैन। त्यसैले न्यूनतम शुल्कमा अहिलेको बजार र अवस्था हेरी शुल्क समायोजन गर्नुपर्ने जरुरी छ। सामुदायिक क्याम्पसले विद्यार्थीबाट उठ्ने शुल्कमा मात्र भर नपरी दाता, सहयोगी तथा पालिकाको सहयोग लिनुपर्छ। यसैगरी सामुदायिक क्याम्पसले विश्वविद्यालय अनुदान आयोगका विभिन्न परियोजना पाउनका लागि पहल र गुणस्तर सुधार्नुपर्छ। सामुदायिक क्याम्पसले शैक्षिक क्यालेन्डर निर्माण र सोको कार्यान्वयन ल्याउनुपर्छ। एक शैक्षिक क्षेत्रमा कस्ताखालका शैक्षिक कार्यक्रम र क्रियाकलाप र गतिविधि सञ्चालन जस्तै कुन तहका भर्ना, परीक्षा, अध्यापन गर्ने हो, सोबारे शैक्षिक क्यालेन्डर निर्माण गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ। 

दीर्घकालीन रणनीति र योजना बनाएका सामुदायिक क्याम्पस न्यून सङ्ख्यामा छन्। विश्वविद्यालय अनुदान आयोगले समेत क्यूएएका लागि अनिवार्य ‘क्राइटेरिया’ बनाएको छ। क्यूएए पाउनका लागि समेत सामुदायिक क्याम्पसले माथिका कुरा पनि पूरा गरेको हुनुपर्छ। धेरै सामुदायिक क्याम्पस आयोगको गुणस्तर सुधार कार्यक्रममा सहभागी हुन सकेका छैनन्। 

यसैगरी समुदायबाट माया र सद्भाव पाउन क्याम्पसले शिक्षकको समन्वयमा विद्यार्थीलाई सरसफाइ अभियान, रक्तदान, सामुदायिक स्वास्थ्य, ट्राफिक चेतना, सुरक्षा, नागरिक अधिकारलगायतका सामाजिक अभियान र चेतना बढाउने कार्यमा सरिक बनाइनुपर्छ। जसबाट समुदायिक सम्बन्ध राम्रो हुन्छ, जसबाट सामाजिक जिम्मेवारीबोध हुन्छ।  जनसम्पर्क आन्तरिक र बाह्य गरी दुई किसिमको हुन्छ। आन्तरिक सम्पर्कका लागि क्याम्पसको शैक्षिक योजनालाई लिएर बेलाबेलामा बैठक, अभिमुखीकरण तालिम, अनौपचारिक भेला आदि आयोजना गर्न सकिन्छ। सामाजिक जनजीवनका प्रभावशाली र अगुवा व्यक्तिसँग सम्पर्क कायम गर्न जनसम्पर्कका विभिन्न साधन प्रयोग गर्नुपर्ने हुन्छ। विश्वविद्यालयका निकायसँग समन्वय र सम्बन्ध विस्तार गर्नुपर्छ। 

अहिले नेपालमा नाम चलेका सामुदायिक क्याम्पसमा समेत विद्यार्थी घट्न थालेका छन्। सामुदायिक क्याम्पस चल्न सक्ने अवस्था भए जेनतेन चलाउने, नसके बन्द गर्ने अवस्थामा पुग्न थालेका छन्। यो सिङ्गो समुदाय र राज्यका लागि गम्भीर विषय हो। सामुदायिक क्याम्पसले जुन अवस्थामा रहेर पनि शैक्षिक क्षेत्रमा जुन योगदान गरेको छ, त्यसैको प्रशंसा गर्नुपर्छ। सामुदायिक क्याम्पसलाई आत्मनिर्भर बनाउनु र तल्लो स्तरको राजनीतिबाट मुक्त बनाउनु अहिलेको आवश्यकता हो। दीर्घकालीन रणनीति र योजना बनाएर व्यावसायिक रूपमा अघि बढ्ने वातावरण सिर्जना गर्न क्याम्पस व्यवस्थापन र उच्च प्रशासकको ध्यान जानुपर्छ। यस क्षेत्र सुधारका लागि रचनात्मक आलोचना, अभिभावकका गुनासा, विज्ञका सुझाव र विद्यार्थीको पृष्ठपोषणलाई ध्यान दिनु आवश्यक हुन्छ। केवल विद्यार्थीले बुझाएको शुल्कमा मात्र भर नपरी आर्थिक स्रोतका अन्य उपाय पनि खोजी गर्नुपर्छ। 

(लेखक ग्रामीण आदर्श बहुमुखी क्याम्पस काठमाडौँका उपप्राध्यापक हुनुहुन्छ।)