• १३ असोज २०८१, आइतबार

मस्तिष्कबाट निकालियो हड्डी

blog

रङ्गेली समाचारदाता 

विराटनगर, चैत २१ गते । कोशी अस्पताल विराटनगरमा सात वर्षीय बालकको टाउकोमा गाडिएको हड्डी शल्यक्रिया गरेर निकालिएको छ। कोशी अस्पतालमा पहिलो पटक गरिएको टाउकोको शल्यक्रिया सफल भएको हो। 

मोरङको जहदा गाउँपालिका–२, नयाँ टोलका सात वर्षीय बलविर राजभारको टाउकोमा बाँसको भाटाले लागेर गम्भीर चोट लागेको थियो। एक हप्तापछि उपचार गराउन कोशीमा भर्ना गरिएका बालकको १० दिनअघि शल्यक्रिया गरिएको थियो। 

अस्पतालका न्युरो सर्जन डा. चन्द्रप्रकाश यादव सम्मिलित चिकित्सकको टोलीले राजभारको टाउकाको शल्यक्रिया गर्नुभएको थियो। उपचार खर्च नहुँदा ढिलो अस्पताल भर्ना गरिएको थियो। बालकका बुवा उमेश राजभारले पैसा नहुँदा अस्पतालमा भर्ना गर्न समस्या भएको बताउनुभयो। सरकारी अस्पताल कोशीले निःशुल्क शल्यक्रिया र उपचार गर्ने निर्णय गरेपछि न्युरो सर्जन डा. यादवको नेतृत्वको टोलीले डेढ घण्टा लगाएर सफल शल्यक्रिया गरेको हो। 

सिटी स्क्यानबाट टाउकाको हड्डी फुटेर मतिष्कभित्र गाडिएको थाहा भएको सर्जन यादवले बताउनुभयो। त्यसपछि शल्यक्रिया गरेर झिक्नुपर्ने निर्णय गरिएको थियो। शल्यक्रिया सफल भएसँगै बालकको स्वास्थ्य सामान्य छ। 

सुरुमा हिँड्डुल गर्न नसक्ने र सुत्न नसक्ने बालक शल्यक्रियापछि विस्तारै लयमा फर्कन थालेको बताइएको छ। स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ। 

टाउको खोलेर गरिएको यो शल्यक्रिया कोशी अस्पतालमा पहिलो भएको अस्पतालका निमिक्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट सह–प्राध्यापक रवीनराज सिंहले बताउनुभयो। कोशीमा न्युरो सर्जरीको सेवाहरू अहिले सञ्चालनमा रहेको छ। आर्थिक रूपमा विपन्न परिवारले उपचार खर्च नभएको बताएपछि अस्पतालले शल्यक्रियादेखि उपचार खर्च पनि निःशुल्क गरिएको छ। 

न्युरो सर्जरी सेवा सुरू भएको कोशी अस्पतालमा पर्याप्त जनशक्ति र उपकरणको अभाव रहेको चिकित्सकले बताएका छन्। कोशीमा न्युरो सर्जरीको दरबन्दी एक जना रहेको छ। उक्त दरबन्दी पदपूर्ती भएको छ। न्युरो सर्जरी वार्डमा मेडिकल अधिकृत नहुदाँ समस्या भएको उपचारमा संलग्न चिकित्सक बताउँछन्। न्युरो सर्जरी वार्डमा मेडिकल अधिकृत र नर्सहरूको आवश्यक रहेको छ।