• ३० चैत २०८२, सोमबार

धनकुटाका आठपहरियाद्वारा बिसु चाड मनाइँदै

blog

धनकुटा नगरपालिका–५ मा रहेको मार्गाथानमा पर्व मनाउँदै आठपहरिया समुदाय। तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे 
हिले, चैत ३० गते ।
धनकुटा नगरपालिकामा मात्रै मुख्य बसोबास रहेको सीमान्तकृत आठपहरिया समुदायले आफ्नो महत्त्वपूर्ण सांस्कृतिक पर्व बिसु अर्थात् वैशाखे चाड मनाइरहेका छन्। नयाँ वर्षको आगमनसँगै मनाइने यस पर्वमा सुख, शान्ति, उन्नति र आपसी मेलमिलापको कामना गर्दै एकआपसमा शुभकामना आदान–प्रदान गर्ने चलन रहेको छ।

आठ दिनसम्म मनाइने यस चाडलाई आठपहरिया समुदायले वर्षकै पहिलो तथा प्रमुख पर्वका रूपमा विशेष धुमधामका साथ मनाउने गर्छन्। तर यस वर्ष तिथिमा भएको घटबढका कारण चाड चैत महिनामै परेको हो।

बिसु चाड रामनवमी पछिको दोस्रो सोमबारबाट सुरु भई आठ दिनसम्म अर्थात् तेस्रो सोमबारसम्म मनाउने गरिएको किरात आठपहरिया समाजका केन्द्रीय अध्यक्ष अष्टबहादुर आठपहरियाले जानकारी दिनुभयो।

चाडको पहिलो दिन भूमिपूजा गरी खेतीपातीको आधार मानिने जमिनको पूजा गर्ने परम्परा छ। दोस्रो दिन मार्गाथानको सरसफाइ तथा लिपपोत गरिन्छ भने तेस्रो दिन मार्गाथानमा कुखुरा तथा सुँगुरको बलि चढाउने चलन रहेको छ।

चौथो दिन राँगा र सुँगुरको भोज (भेजो) आयोजना गरिन्छ भने पाँचौँ दिन पितृपूजा गर्ने परम्परा छ। छैटौँ दिन वरपरका गाउँका बुढापाका तथा युवायुवती भेला भई सामूहिक रूपमा वनभोज आयोजना गरेर चाड मनाइन्छ। पछिल्लो समय भने वनभोज जाने चलन क्रमशः हराउँदै गएको अध्यक्ष आठपहरियाले बताउनुभयो।

सातौँ दिन “ताराआप्मा” अर्थात् धनुषवाण प्रतियोगिता आयोजना गरिन्छ। आठौँ तथा अन्तिम दिन मार्गाथानमा विशेष पूजा गरी वर्षभर अन्नपात र बालीनाली राम्रो होस् भन्ने कामना गर्दै चाडको समापन गरिन्छ।

यस अवधिमा देश तथा विदेशमा रहेका आठपहरियाहरू आफ्नो जन्मथलो फर्किने परम्पराले गाउँबस्तीमा चहलपहल बढ्ने गरेको छ। चाडमा विशेषगरी महिलाको सुख–समृद्धिका लागि घर तथा कोठेबारीमा पूजा गर्ने चलन पनि रहेको किरात आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले बताउनुभयो।

आठपहरिया समुदायले बिसु चाडपछि भदौरे (न्वागी) र मंसिरे (वाडाङ्मेट) चाड पनि विशेष रूपमा मनाउने गर्छन्। तीमध्ये वाडाङ्मेटलाई उनीहरूले सबैभन्दा ठुलो चाड मान्छन्।

वाडाङ्मेटमा पहिलो सन्तान जन्मेको खुसीयाली तथा वर्षभर दिवंगत भएका आफन्तको स्मरणमा तीन दिनको पैदल यात्रा गरी सुनसरीको बराहक्षेत्र नजिक कोकाहा खोलामा पुगेर केश तथा दाह्री मुण्डन गरी सामूहिक रूपमा बरखी फुकाउने परम्परा छ।
आठपहरियाहरू आफ्नै मौलिक पहिरनमा पुरुषले इष्टकोट र दौरा सुरुवाल तथा महिलाले म्याख्ली, सिन र हारी धारण गर्ने गर्छन्।

धनकुटा नगरपालिकामा मात्रै मुख्य बसोबास रहेको आठपहरिया जातिको जनसंख्या करिब ६ हजारको हाराहारीमा रहेको छ। फरक संस्कार र संस्कृतिको संरक्षण गर्दै आएको यस समुदायले आफूलाई आदिवासी जनजातिमा सूचीकृत गर्नुपर्ने माग गर्दै आए पनि हालसम्म सुनुवाइ हुन सकेको छैन।