• १३ साउन २०८१, आइतबार

फुतफुते झरना पर्यटक आकर्षणको केन्द्र

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी (बेनी), चैत २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा पर्ने फुतफुते झरना पर्यटकको आकर्षणको केन्द्र बनेको छ । नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जाने मौरिस हर्जोग ट्रेलमा पर्ने यो झरना सुन्दर र मनोमहक छ । झरनाको दृश्यले पदयात्रालाई रोमाञ्चक बनाउँछ । थकान मेटाइदिन्छ, दुःख बिर्साइदिन्छ । 

अन्नपूर्ण, अन्नपूर्ण साउथ, निलगिरि र वराहशिखर हिमालबाट हिउँ पग्लिएर बनेको मिस्त्री खोलामा पर्ने यो फुतफुते झरनाले पदमार्गलाई सुन्दरता दिएको छ । हुमखोलाबाट एक घण्टाको पैदल यात्रापछि झरनामा पुग्न सकिन्छ ।  

माथिबाट खसेको झरना र पानीको नीलो तालको अवलोकन गर्दै रमाउने गरेका छन् । झरनासँगै तस्बिर र भिडियो खिच्न पर्यटक लोभिन्छन् ।  झरनाको सुन्दरताले पर्यटकको थकान मेटाइदिन्छ । झरनाको अवलोकन गर्दा निकै आनन्द अनुभूति हुने पदयात्रामा जानुभएका अन्नपूर्ण गाउँपालिका–५, शिखका सुरेन गुरुङले बताउनुभयो । स्थानीयहरू आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने पदमार्गलाई तीन वर्षअघि ‘मौरिस हर्जोग ट्रेल’ नामकरण गरी पूर्वाधार निर्माणमा जुटेका छन् । १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमालको पहिलो पटक आरोहण गर्नुभएको थियो । त्यसैले पालिकाले मौरिसको नामबाट पदमार्गको नामकरण गरेको हो ।  यो पदमार्ग मिस्त्री खोलाको किनारै किनार भएर अन्नपूर्ण आधार शिविर पुग्छ । 

पछिल्ला पाँच वर्षयता पर्यटन मन्त्रालय र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मार्फत पदमार्गलाई व्यवस्थित बनाउन  करिब साढे तीन करोड रुपियाँ बराबरको भौतिक पूर्वाधार निर्माण गरिएको मौरिस हर्गोज ट्रेल व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले बताउनुभयो । 

उहाँका अनुसार पदमार्ग, झोलुङ्गे पुल, फड्के पुल र सिँढी निर्माण गरिएको छ । छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशालामा गरी छवटा खोलामा झोलुङ्गे पुल निर्माण भएको छ भने छ स्थानमा आश्रयस्थल निर्माण गरिएको छ  । 

समुद्री सतहदेखि चार हजार पाँच सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृश्य मनमोहक छ । शिविरमा नीलो रङ र गोलो आकारका पाँचवटा ताल छन् । नारच्याङवासीले उक्त ताललाई पञ्चकुण्ड भनेर नामकरण गरेका छन् । ती तालबाट हिमालको छायाँ हेर्न सकिन्छ । अन्नपूर्ण आधार शिविरमा अहिले आठवटा आरोही टोली पुगेको गुरुङले बताउनुभयो ।