• १३ साउन २०८१, आइतबार

चैत २४ देखि सन्दकपुर महोत्सव हुँदै

blog

इलामको धार्मिक तथा पर्यटकीय स्थल माई पोखरी । तस्बिर कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, चैत २१ गते । आफ्नो क्षेत्रका पर्यटकीय स्थलहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गराउने उद्देश्यले इलामको पर्यटकीय क्षेत्र सन्दकपुरमा महोत्सव आयोजना हुने भएको छ । 

सन्दकपुर गाउँपालिकाको आयोजनामा आगामी चैत २४ गतेदेखि वैशाख १० गते सम्म ‘प्रथम सन्दकपुर महोत्सव ०७९-०८०’ हुन लागेको हो । महोत्सव अवधिभर सन्दकपुर भित्रने पर्यटकहरूलाई मनोरञ्जन गराउन विभिन्न कार्यक्रम पनि आयोजना गरिएको छ । महोत्सवमा चैत २४ गते देखि वैशाख १ गते सम्म आमन्त्रित सन्दकपुर गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष जीवन शिवाले बताउनु भयो । महोत्सवमा सन्दकपुर क्षेत्रका मुख्य पर्यटकीय स्थलहरूमा जानका लागि ल्यान्डरोभर सफारी गराउने तयारी आयोजकको रहेको अध्यक्ष शिवाले जानकारी दिनुभयो । 

महोत्सवमा सन्दकपुर पुगेका पर्यटकलाई पर्यटकीय स्थलहरू माई पोखरी, टोड्के झरना, छिन्टापु, फुस्रे पोखरी, ढाप पोखरी हुँदै सन्कपुरको ३६३६ मिटरको उचाइ सम्म पुर्याउने व्यवस्था गरिएको महोत्सव प्रचार संयोजक सुरेश थापाले बताउनु भयो । थापाका अनुसार हाँगे थाम सामुदायिक वनमा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा, चौँरी–याक, लेकाली भोटे कुकुरको समेत अवलोकन गराइने छ ।  महोत्सवको मुख्य स्थल रहेको सन्दकपुर गाउँपालिकाको देउरालीमा महोत्सव अवधिमा पर्यटकीय स्थलहरूको भिडियो प्रदर्शनी, विभिन्न जातजातिको झाँकी, साइक्लिङ प्रतियोगिता, प्रथम खुला–इलाम माई पोखरी म्याराथन आयोजना गरिएको प्रचार संयोजक थापा बताउनु हुन्छ । महोत्सवमा आउने पर्यटकलाई स्थानीय परिकारको स्वाद चखाइने छ ।