• १३ साउन २०८१, आइतबार

पाँचथरको फालेलुङमा चौँरी पर्यटन महोत्सव

blog

पाँचथरको फालेलुङ ४ चारराते क्षेत्रमा चरिरहेका चौंरी । तस्बिर : गोरखापत्र

राधा लुइटेल

फिदिम, चैत २० गते । पाँचथरको फालेलुङमा २०७४ सालदेखि आयोजना हुँदै आएको चौँरी महोत्सवको छैटौँ संस्करण यो वर्ष चैत ३० देखि वैशाख २ गतेसम्म सञ्चालन हुने भएको छ ।

यो वर्ष आयोजना हुन लागेको महोत्सवलाई ‘छैटौँ फालेलुङ चौँरी पर्यटन महोत्सव’ भनिएको छ । फालेलुलुङ गाउँ पालिकाको प्रवर्धनमा चौँरी पर्यटन महोत्सवको आयोजना फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्धन संस्था र दीप ज्योति युवा क्लबले गर्न लागेका हुन् ।

फालेलुङ ४ चाररातेमा हुन महोत्सवको तयारी भइरहेको आयोजक संस्थाले सोमबार फिदिममा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको हो । 

हिमालको पर्यायका रूपमा स्थापित चौँरी गाई र तिनका प्रजातिको संरक्षणसँगै चौँरीजन्य उत्पादनहरूको प्रवर्धन र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जवेगुले बताउनुभयो ।

महोत्सवमा पाँच सय भन्दा धेरै चौँरी र याकको प्रदर्शनी गरिनेछ । यो सँगै याक राइडिङ, हर्स राइडिङ जस्ता गतिविधि पनि महोत्सवमा राखिएको फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्धन संस्थाका उपाध्यक्ष शिल्प राईले जानकारी दिनुभयो । 

महोत्सव क्षेत्रमा चौँरी र भेडाजन्य उत्पादनका स्टल राखिने बताइएको छ । महोत्सवमा नेपालका विभिन्न जिल्लासँगै भारतको पन्जाब, वेष्ट बङ्गाल, कोलकत्तासँगै भुटान हुँदै विभिन्न मुलुकका आन्तरिक र बाह्य गरी दुई हजार भन्दाबढी पर्यटक ल्याउने आयोजकको लक्ष्य छ ।