आज सम्पूर्ण विश्व नै पानीको सङ्कटसँग जुधिरहेको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार जीवनको यो सबैभन्दा अपरिहार्य आवश्यकतालाई पूरा गर्न यदि चाँडै नै उपयुक्त किसिमले भगीरथ प्रयत्न गरिएन भने आउँदो समयमा स्थिति अझ विषम र विकराल हुन जानेछ। मानिसले थोपा थोपा पानीका लागि पनि तड्पिने र पछुताउनुपर्ने स्थिति बन्नेछ। यसको सबैभन्दा प्रमुख कारण सीमित पानी र दिनानुदिन बढ्दो जनसङ्ख्या हो, जसले पानीको सङ्कट बढाउन अहं भूमिका निर्वाह गरेको छ।
विश्वको पानीको स्थितिमाथि दृष्टि दिने हो भने यो कुरा एकदमै स्पष्ट हुन्छ कि पृथ्वीको सतहमा ७० प्रतिशत पानी छ; जसको ९७.५ प्रतिशत पानी नुनिलो छ। अढाई प्रतिशत बाँकी रहेको शुद्ध पानी पनि ६८.७ प्रतिशत बर्फका रूपमा, ३० प्रतिशत भूमिगत जल र केवल ०.३ प्रतिशत मात्र पृथ्वीको सतहमा रहेको छ। सतहको पानी पनि ८७ प्रतिशत तालमा र दुई प्रतिशत जति मात्र नदीहरूमा रहेको विज्ञको अनुसन्धानबाट प्रस्ट हुन्छ। अझ सोचनीय समस्या त के कुराको छ भने यी सबै कुरा जान्दाजान्दै पनि हामीले यस अमूल्य जीवनदायिनी प्राकृतिक सम्पदालाई उचित कदर गर्न सकिरहेका या सिकिरहेका छैनौँ।
निकै पहिला जति बेला संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुन थिए, उनले यसबारे चेतावनी दिँदै के भनेका थिए भने मौजुदा समयमा विश्वका विभिन्न भागमा पानीको अत्यन्तै ठूलो समस्या छ। अहिले भइरहेको पानीको बढ्दो दुरुपयोग या बर्बादीलाई रोकिएन भने स्थिति अत्यन्तै भयावह हुनेछ। आउँदो २०५० सम्ममा विश्वको जनसङ्ख्या आजको सात अर्बबाट बढेर नौ अर्ब पुग्न जाने विज्ञहरूको अनुमान छ।
पानी, भोजन आदिको माग र जलवायु परिवर्तनको समस्या दिनानुदिन अझ बढ्दै जानेछ। माग बढ्दा आउँदा केही वर्षमै विश्वका कतिपय भागमा पानीको सङ्कट अझ गहिरो हुनेछ। त्यतिबेला विभिन्न देशले आफ्नो आर्थिक र राजनीतिक लाभका लागि पानीको उपयोग गर्न हिच्किचाउने छैनन्। यस कारणले राजनीतिक तथा सामाजिक अस्थिरता र क्षेत्रीय तनाव बढ्न जाने खतरा पनि त्यत्तिकै छ। यस सम्बन्धमा विशेषज्ञहरूले के चेतावनी दिइसकेका छन् भने दक्षिण एसियामा ब्रह्मपुत्र नदी क्षेत्र पानीका लागि सम्भावित ठूलो जोखिमयुक्त क्षेत्र हुन जानेछ।
पानीका कारणले आउने समयमा थप विभिन्न चुनौती खडा हुनेछन्। गरिब तप्कालाई सफा र सुरक्षित पिउने पानी, सर–सफाइको सुविधा उपलब्ध गराउने, विश्व जनसङ्ख्यालाई आवश्यक खाद्यान्न उपलब्ध गराउनेजस्ता समस्याका अतिरिक्त विश्वव्यापी बढ्दो गर्मीको दुष्प्रभावको सामना गर्नुपर्ने डरलाग्दो स्थिति उत्पन्न हुनेछ। यो सत्य हो कि कृषिको बढ्दो आवश्यकता, खाद्यान्न उत्पादन, ऊर्जा उपभोग, प्रदूषण र जल व्यवस्थापन कमजोरीका कारणबाट स्वच्छ पानीको आपूर्तिमाथि अहिले नै ठूलो दबाब बढिरहेको छ।
यति मात्रै पनि होइन, बितेका ५० वर्षमा पृथ्वीको सतहभित्रबाट तानिएको पानीको मात्रा पनि तीन गुणाले बढिसकेको विज्ञहरूले औँल्याएका छन्। कुनै राम्रो योजना र उपयुक्त संयोजनको अभावले लाखौँ लाख मानिस भोकमरी, बिमारी र ऊर्जाको कमीले अत्यन्तै ठूलो गरिबीसँग जुध्नुपर्ने हुन्छ। जहाँसम्म एसिया प्रायद्वीपको कुरा छ, विश्वको ६० प्रतिशत जनसङ्ख्या यही क्षेत्रमा रहन्छ तर यस इलाकामा विश्व जल सम्पदाको एकतिहाई हिस्सा मात्र रहेको छ। विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका देश चीन र भारतको मात्रै जनसङ्ख्या पौने तीन अर्बजति पुगिसकेको छ। यत्रो ठूलो जनसङ्ख्यामाथि अझ थप बढेको विश्व जनसङ्ख्याका लागि २०५० सम्ममा कति पानी खपत हुन्छ ? सहजै अनुमान गर्न सकिन्छ।
भविष्यमा पानीको माग र आपूर्तिको यो भयावह तथा भीषण अन्तरलाई पाट्न सहज नहुने प्रस्टै छ। आजको विश्वका लागि यो कम ठूलो चुनौती होइन। हुन पनि विश्वमा आज आवासीय, औद्योगिक तथा कृषि क्षेत्रमा भू–जलस्रोतको बढ्दो उपयोगका कारण पानीको सङ्कट अहिले नै निकै तीव्र गतिमा गहिरिँदै गइरहेको बताइएको छ। परिणामतः धेरैजसो क्षेत्रमा पानीको गुणस्तरमा कमी आइरहेको या आइसकेको छ। त्यसले गर्दा सफा पानीमा रहने–बस्ने जीवका विभिन्न प्रजातिको विविधता र पारिस्थितिक अवस्था (इकोसिस्टम)मा तीव्र गतिले नोक्सान पुगिरहेको छ। विश्वका अधिकांश भागमा पानीमा फ्लोराइड, आर्सेनिक, आइरन तथा अन्य कडा धातु रहेका कारणले समेत त्यस्तो पानी पिउन योग्य नरहेको तथ्य पनि बारम्बार प्रकाशमा आई नै रहेका छन्।
प्राकृतिक रूपले तटीय र अन्तःतटीय क्षेत्र पानीको नुनिलोपनाको समस्यासँग जुधिरहेका छन्। कतिपय देशको भूमिगत जल भण्डार प्रायः खाली भइसकेको छ र जेजति बचेको छ, त्यो पनि प्रदूषित भइसकेको छ। नदीको पानी पनि पिउनयोग्य रहेको छैन। यस्तो स्थितिमा बढ्दो पानीको
सङ्कटको सामना गर्न व्यवस्थित सामुदायिक विकेन्द्रित पानी व्यवस्थापनको उपाय अपनाउनुबाहेक अरू कुनै विकल्प छैन। यसैले पानीलाई निजीकरणको विकल्पमा सामुदायिकीकरण गर्ने र पानीका स्रोतलाई अतिक्रमणबाट बचाउनु आजको विश्वको ज्वलन्त आवश्यकता हो। यस क्रममा अतिरिक्त पानीसम्बन्धी कानुनको निर्माण, पानीको कुशल उपयोग, पानीलाई पुनर्प्रशोधित गर्ने र आधारभूत संरचना र संसाधनमाथि विशेष ध्यान दिनुपर्ने अपरिहार्य आवश्यकता बढेको छ।
पानी मानव अस्तित्वकै निमित्त अत्यावश्यक र आधारभूत विषय हो। यसको अभावमा मानिसको अस्तित्वको कल्पना गर्न सकिँदैन। जल छ भने खाद्यान्न पनि हुन्छ, वनस्पति पनि हुन्छ। त्यसैले आज जल संरक्षरण गर्नु नै पर्यावरणको पनि संरक्षण हो भन्ने मान्यता विश्वव्यापी रूपमा विकसित भइसकेको र भइरहेको छ। समग्रमा के महìवपूर्ण कुरा बुझ्नैपर्ने भएको छ भने ‘पानी छ भने मानिसको भविष्य पनि छ।’ यसैले अब हामीले आजैदेखि पानीको संरक्षण र सदुपयोग गर्न सिक्नु र सिकाउनुपर्छ। अन्यथा पछि पछुताउन पनि नपाइने स्थिति खडा हुने प्रस्ट छ।
जलस्रोतमा विश्वकै दोस्रो धनी देश मानिएको हाम्रो देशमा छ हजार नदीनाला भए पनि यसको सदुपयोग हुन सकिरहेको छैन। हाम्रा खेतबारी ८० प्रतिशत असिञ्चित नै छन्। सफा र सुरक्षित पिउने पानी पनि अझै पुग्न सकेको छैन। जलविद्युत्को ठूलो सम्भावना भएर पनि अहिलेसम्म डेढ हजार मेगावाट विद्युत्सम्म पानीबाट निकाल्न सकिएको छैन। जलाशययुक्त जलविद्युत् परियोजना निर्माण गर्ने हो भने विद्युत्, सिँचाइ, जलयातायत, न्यून शुल्कमा ढुवानी, सुरक्षित पिउने पानी सबैको एकीकृत विकास गर्न सकिने महत्वपूर्ण सुझाव राष्ट्रप्रेमी तथा जनप्रेमी विशेषज्ञले बारम्बार दिइरहेका छन् तर राष्ट्रिय राजनीतिक नेतृत्वको गैरजिम्मेवार प्रवृत्तिले गर्दा यो महत्वपूर्ण स्रोतको सही उपयोग हुन नसकेर अनेक समस्या झेल्नु परिरहेको छ।
आजको एक्काइसौँ शताब्दी पानीका निम्ति सङ्घर्षको शताब्दी हुने खतरा टड्कारो बन्दै गएको चेतावनी विशेषज्ञले बारम्बार दिइरहेका छन् तर यस खतराप्रति बेवास्ता गर्ने र मानव अस्तित्वकै सङ्कटलाई सँघारमै निम्त्याउने अवाञ्छित कार्य पटक्कै हुन छाडेको छैन। पानीको सङ्कटले नराम्रोसँग घेरिइसक्दा पनि यसको समाधानका निमित्त गम्भीर किसिमले सोचविचार नगरिनु विडम्बनापूर्ण पीडादायक स्थिति हो।
अजस्र जलस्रोतले सुसज्जित देश भएर पनि नेपालले यसको पूर्ण सदुपयोग गर्न सकेको छैन। विश्वमा पानी सङ्कटको समस्याले भयावह रूप नलिँदै नेपालले पानी अर्थात् जलस्रोतको उपयुक्त योजना बनाएर जान सक्यो र सिक्यो भने यस स्रोतबाट नेपालको विकासका अनेकौँ समस्या हल भएर जानेमा दुईमत नहोला। समयको माग र आवश्यकतामाथि ध्यान केन्द्रित गरेर योजना बनाउन सके नेपालले पानीको उपयोग गरेर कृषि, उद्योगलगायत धेरै क्षेत्रको दिगो र भरपर्दो विकासमा योगदान दिन सक्ने र नेपाल सम्पन्न हुन सक्ने स्थिति छ।
लेखक समसामयिक विषयका जानकार हुनुहुन्छ।