• १३ साउन २०८१, आइतबार

सबैलाई सम्मान र विश्वासको परिस्थिति सिर्जना गर्छौं : उपप्रधानमन्त्री खड्का

blog

पदभार ग्रहण गर्नुभएपछि नवनियुक्त उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का । तस्बिर : सुजन गुरुङ

काठमाडौं, चैत १७ गते । नवनियुक्त उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिबद्धता जनाउनुभएको छ । 

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेपछि मन्त्रालयको कार्यभार सम्हाल्दै सिंहदरबारमा उहाँले यस्तो बताउनुभएको हो । 

मन्त्री खड्काले रक्षा मन्त्रालय एकदमै महत्त्वपूर्ण मन्त्रालय भएकाले सबै सम्बन्धित पक्षसँगको छलफलबाट आफू अघि बढ्ने बताउनुभयो । उहाँले सामूहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर सरकार सञ्चालन गर्ने बताउनुभयो । उहाँले न्यूनतम साझा कार्यक्रम अबको केही दिनमा नै ल्याउने बताउँदै न्यूनतम साझा कार्यक्रमबाट नै सरकारका प्राथमिकता, सरकारका महत्त्वपूर्ण नीतिगत सुधारका काम अघि सार्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘यो मन्त्रालय महत्त्वपूर्ण छ, यसलाई बुझेर नै मैले आफ्ना काम प्रधानमन्त्रीको निर्देशनमा रक्षा मन्त्रालयका अधिकारी, नेपाली सेनाको प्रधानसेनापति लगायत सम्पूर्ण सम्बन्धित व्यक्तिसँग छलफल गर्नेछौँ । हामी सामूहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर जानेछौँ । हामीले न्यूनतम साझा कार्यक्रमको तयारी गर्दैछौँ । मस्यौदा तयार भएको छ । सरकार विस्तार गर्ने काम लगभग सम्पन्न भएको छ । केही दिन भित्रमा नै न्यूनतम साझा कार्यक्रममार्फत ल्याउनेछौँ । सरकारको न्यूनतम साझा कार्यक्रम केही दिन भित्रमा नै सार्वजनिक गर्छौँ । त्यसबाट नै सरकारका प्राथमिकता, सरकारका महत्त्वपूर्ण नीतिगत सुधारका विषयहरू, लगायत समग्र विषयमा हामी केन्द्रित हुनेछौँ ।’’