• १३ असोज २०८१, आइतबार

आन्दोलनले नागरिकको सेवा प्रभावित

blog

सेवा प्रभावित भएपछि शुक्रबार सुनसान देखिएको फुङ्लिङ नगरपालिका कार्यालय ।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत १७ गते । ताप्लेजुङका स्थानीय तहमा प्रवाह हुने सेवा चार दिनयता निरन्तर प्रभावित हुँदैआएको छ । कोशी पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले गरेको तालाबन्दीसहितको आन्दोलनका कारण स्थानीय तहका सेवा प्रभावित हुँदैआएको हो । 

कोशी नामकरणपछि सुरु भएको पहिचानवादी आन्दोलनको प्रभाव हाल ताप्लेजुङसहित प्रदेशभरि रहेको छ । यसैक्रममा कोशी नामकरणविरुद्धको आन्दोलनलाई सहयोग गर्न भन्दै सङ्घर्ष समितिले जिल्लाका स्थानीय तहका कार्यालयमा तालाबन्दी र कालो झण्डा राखेपछि गएको मङ्गलबारेदेखि सेवा प्रभावित भएको छ । 

सदरमुकामस्थित फुङ्लिङ नगरपालिकासहित जिल्लाका नौ वटै स्थानीय तहले प्रवाह गर्ने सेवा प्रभावित भएको पाइएको छ । स्थानीय तहअन्तर्गत सबै पालिका कार्यालय र ६१ वटै वडा कार्यालयमा सङ्घर्ष समितिले तालाबन्दी गरेयता अर्थात् चार दिनदेखि सेवा प्रभावित हुँदैआएको बताइएको छ । पालिका र वडा कार्यालयले प्रदान गर्ने सेवा प्रभावित हुँदा सर्वसाधारण सेवाग्राही भने मारमा परेका छन् । 

पहिचानवादी आन्दोलनरत पक्षले पालिका र वडा कार्यालयमा लगाएको तालाबन्दी प्रहरीसहित सुरक्षा संयन्त्रले अधिकांशमा खुलाए पनि सेवा प्रभावित नै भएको छ । प्रहरीले ताला तोडे पनि स्थानीय तहले कार्यालयको मुख्य ढोका र कार्यालय प्रवेशद्वार बन्द नै रहेका छन् । कतिपय स्थानीय तहका वडा कार्यालयमा लगाएको ताल्चा अहिलेसम्म खुलाइएको छैन । चार दिनसम्म पनि ताला नखुलाइएका वडाहरूको सेवा पूर्णरुपमा प्रभावित भएको स्थानीयले बताएका छन् । 

मुख्य ढोका बन्द गरे पनि अन्य ढोका खोलेर प्रवेशद्वारको प्रयोग गरी कार्यालय खुलाएर सेवा भने प्रवाह गर्दैआएको स्थानीय तहले जनाएका छन् । सदरमुकाम भित्रकै फङ्लिङ नगरपालिकाले पनि मुख्य ढोका बन्द राखेर कार्यालय सञ्चालन गरेको पाइएको छ । नगरपालिकाका एक कर्मचारीका अनुसार मुख्य ढोका बन्द गरे पनि भित्रबाट सेवा प्रवाह गर्दैआएको बताउनुभयो । आन्दोलनकारीले गरेको तालाबन्दीको सूचनापछि सेवाग्राही नै नआएका उहाँको भनाइ छ ।

यस्तै, मैवाखोला गाउँपालिकाका प्रवक्ता एवम् वडा १ का वडाध्यक्ष चन्द्रकुमार तामाङले पहिलेजस्तो सेवाग्राही नआउने गरेको बताउनुभयो । सेवा लिन आएका सेवाग्राहीलाई भने सेवा प्रवाह गरिरहेको उहाँले बताउनुभयो । सिरिजङ्घा गाउँपालिकाले पनि आंशिक मात्र सेवा प्रवाह भइरहेको जनाएको छ । यसरी पहिचानवादीको तालाबन्दीसहितको आन्दोलनका कारण जिल्ला स्थानीय तहबाट आंशिक मात्र सेवा प्रवाह भइरहेको पाइएको छ ।

कोशी प्रदेशमा प्रदेशको नामकरणलगत्तै नाम खारेज गर्नुपर्ने, पहिचानवादीहरूको सहमतिमा प्रदेशको पुनः नामकरण गरी ‘किराँत लिम्बुवान’ राख्नुपर्नेलगायत माग राखेर सङ्घर्ष समितिको नेतृत्वमा प्रदर्शन, चक्का जाम, तालाबन्दीसहित निरन्तर आन्दोलन चर्किरहेको छ । संयुक्त सङ्घर्ष समितिमा आदिवासी जनजातिजन्य जातीय संस्था, केही क्षेत्रीयस्तरका राजनीतिक सङ्गठनलगायत सहभागी छन् । कोशी नामकरणविरुद्ध पहिचानवादी आन्दोलनकै क्रममा पदम लिम्बू (लाजेहाङ) को मृत्युसमेत भइसकेको छ ।