• ९ पुस २०८१, मङ्गलबार

खच्चडबाट ढुवानी हुने सामानको भाडादर घट्यो

blog

सदरमुुकाम सिमकोटका लागि खच्चडमा ढुवानी गरेर सामग्री ल्याइँदै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, चैत १७ गते । सलीसल्लाबाट सदरमुकाम सिमकोटसम्म खच्चडमा ढुवानी भएर आउने सबैखाले सामानको ढुवानी दर घटेको छ । सामानहरू धेरै गाडीमा सलीसल्लासम्म ढुवानी भएर आउने भएपछि प्रतिस्पर्धात्मक रूपमा खच्चडमा सामान ढुवानी हुन थालेपछि ढुवानी दर घटेको हो ।

टी सप्लायर्सका सञ्चालक तीर्थ बुढाले एक हप्तायता सलीसल्लाबाट सिमकोटसम्म खच्चडमा ढुवानी भएर आउने सामानको ढुवानी दर आधा बढेको बताउनुभयो । यसअघि सो स्थानबाट प्रतिकेजी ८० रुपियाँ पर्नेगरेकोमा अहिले प्रतिकेजी ४० देखि ४५ रुपियाँ पर्नेगरेको छ । सामान धेरै ढुवानी भएर आउनु र प्रतिस्पर्धात्मक बजारको कारण पनि ढुवानी दरमा कमी आएको बताउनुभयो । 

खच्चड व्यवसायीलाई बढी काम दिन ढुवानी दर घटेको बताइएको छ । हाल सलीसल्लाबाट सदरमुकाम सिमकोट दैनिक दुई सयभन्दा बढी खच्चडले सामान ढुवानी गर्दैआएका छन् । यी खच्चडहरूले दैनिक उपभोग्य सामानदेखि खाद्यान्न, विकास निर्माण र लत्ताकपडा समेत ढुवानी गर्दैआएका छन् । खच्चडमा ढुवानी गर्ने व्यवसायी हुम्ला, बाजुरा, मुगु र जुम्लाको रहनुभएको छ । एउटा लटमा २५ देखि ३० खच्चडमा सामान ढुवानी हुने भएका कारण तीन जना कामदारको आवश्यकता पर्नेगर्छ । 

रावत जनरल स्टोरका सञ्चालक लोकेन्द्र रावतले सलीसल्लाबाट खच्चडमा ढुवानी भएर आउने सबैखाले सामानको ढुवानी दर घटेको बताउनुभयो । सामान सलीसल्लामा सुर्खेत र नेपालगञ्जबाट ढुवानी भएर आउने भएपछि खच्चड व्यवसायीले काम बढी लिन ढुवानी दर घटाएको बताउनुभयो । 

पैदल मार्गबाट ढुवानी भएर आउने प्रत्येक सामानको मूल्य १५ देखि २० प्रतिशतसम्म घटेको बताउँदै यसले उपभोक्तालाई राहत पुगेको बताउनुभयो ।