• २१ वैशाख २०८२, आइतबार

मन्त्रिपरिषद् विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छु : प्रधानमन्त्री

blog

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतिद्वारा कोटेश्वरमा आयोजित पाँचौ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, चैत १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासमा कहिल्यै नमर्ने प्रतिबद्धताका साथ केही ठूला र नयाँ काम गर्ने योजना आफूले बनाइरहेको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनु भएको हो ।

आफूले सरकारको नेतृत्व लिएपछि सुशासन, सामाजिक न्याय, विकास, निर्माण र समृद्धिको दृष्टिकोणले केही नयाँ खालको रेकर्ड बनाउने कामको सुरुवात गरेको दाबी गर्नुहुँदै उहाँले अब इतिहासमा कहिल्यै नमर्ने खालको काम गर्ने योजनामा लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अब यो पटक सरकारको नेतृत्व विशेष परिस्थितिमा प्राप्त भएको तपाईँहरूले महसुस गर्नु भएकै होला । मैले तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको छ । यो बीचमा भए/गरेका कामहरू सबभन्दा नजिकबाट देख्नु भएकै छ । मैले अहिले त्यसको व्याख्या गर्न सम्भव छैन । एकातिर सुशासनको दृष्टिकोणले, सामाजिक न्यायको दृष्टिकोणले र विकास, निर्माण र समृद्धिको दृष्टिकोणले केही रिकर्डहरू बनाउने कोसिस भइराखेको छ । मलाई अहिले त्यसको फेहरिस्त बताउने समय छैन । तर हामीले केही नयाँ सुरुवात पक्कै गरेका गछौं ।’’


प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद्ले पूर्णता पाउने र त्यसपछि सरकारको ध्यान देशमा आर्थिक समृद्धिको दृष्टिकोणले, सुशासनको दृष्टिकोणले र सामाजिक न्यायको दृष्टिकोणले केही ऐतिहासिक रेकर्ड बनाएर जानुपर्छ भन्नेमा रहेको पनि दोहोर्‍याउनु भयो । उहाँले त्यसका लागि इमान्दार भएर सरकारलाई सहयोग गर्न पनि निजामती कर्मचारीहरूलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री प्रचण्डले अहिले पनि परिवर्तनका विरुद्ध विभिन्न खालको षड्यन्त्र भइरहेको उल्लेख गर्नुहुँदै सचेत भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि औँल्याउनुभयो ।

‘‘आज सरकारले पूर्णता प्राप्त गर्दैछ । हामी तीन बजे शपथ गरिसकेपछि हाम्रो ध्यान अब यो देशमा आर्थिक समृद्धिको दृष्टिकोणले, सुशासनको दृष्टिकोणले र सामाजिक न्यायको दृष्टिकोणले केही ऐतिहासिक रिकर्ड बनाएर जानुपर्छ भन्नेमा म प्रतिबद्ध छु । तपाईँ कर्मचारी साथीहरूको यस सन्दर्भमा ठूलो सहयोगको मैले अपेक्षा गरेको छु ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘तपाईँहरूको सहयोग, तपाईँहरूको फिडब्याक निरन्तर चाहिन्छ । तपाईँहरूले जे अनुभव गर्नु भएको छ । कर्मचारीको हैसियतमा । तपाईँहरूको इमान्दार सहयोग भयो भने नयाँ रिकर्ड बनाउन सकिन्छ भन्ने मैले विश्वास लिएको छु । मैले अहिले धेरै भन्न सम्भव छैन ।’’

प्रधानमन्त्री प्रचण्डले पार्टी वा पार्टीका सङ्गठनहरूको नेतृत्व टिके प्रथाबाट चयन गर्दा फाइदा नभएको स्वीकार गर्नु भयो । उहाँले अब पार्टीको पनि राष्ट्रिय महाधिवेशन छिट्टै गर्ने र सहमतिमा नभए नेतृत्व चयनका लागि निर्वाचनमा जान उपयुक्त हुने देखिएको पनि बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सहमतिमा नभए नेतृत्व चयनको काम प्रतिस्पर्धाबाट गर्नु वैज्ञानिक हुने देखिएको भन्दै सोही अनुसार नेतृत्व चयन गर्न पार्टी मातहतका सङ्गठनहरूलाई सचेत गराउनुभयो ।


‘‘मैले प्राय सङ्गठनहरूको नेतृत्वको कुरा गर्दा भए सहमति/नभए निर्वाचन पनि भन्ने गरिएको छ । सहमति भएन भने जबरजस्ती टिको लगाउने प्रथाले हामीलाई फाइदा गरेको छैन । बरु स्वस्थ प्रतिस्पर्धाबाट भयो भने केही पनि बिग्रँदैन । हामीले पार्टीमा पनि अव छिट्टै अधिवेशनतिर जाँदैछौं । त्यो अधिवेशनमा पनि हामीले सोचेका छौँ कि हामी लोकतान्त्रिक भनौँ वा डेमोक्रयाटिक प्रतिस्पर्धाबाट नै नेतृत्व चयन गर्नु नै बढी वैज्ञानिक हुने देखियो ।,’’ उहाँले थप्दै भन्नुभयो, ‘‘अहिले हामी जुन राजनीतिमा छौँ । जुन परिस्थितिमा छौँ । त्यो परिस्थितिमा प्रतिस्पर्धाको बाटोभन्दा सहज बाटो अरू देखिएको छैन । सहमतिबाट भयो भने सो मच दि ब्रेटर । सहमति, सहकार्यबाट हुने कुरालाई इन्कार गर्ने कुरा भएन । भएन भने सरल बाटो भनेको निर्वाचन नै हो ।’’

प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा कर्मचारीहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै सरकार उनीहरूको ट्रेड युनियनको पक्षमा रहेको पनि स्पष्ट पार्नुभयो । अहिले पनि मुलुकमा कर्मचारी ट्रेड युनियनको आवश्यकता छ कि छैन ? भन्ने बारे बहस जारी रहेको र आफू भने त्यसको पक्षमा रहेको उहाँको भनाइ थियो ।