• ६ जेठ २०८१, आइतबार

उपाध्यक्ष खुला ब्याडमिन्टन सम्पन्न

blog

खुला ब्याडमिन्टन प्रतियोगिताको विजेताहरु । तस्बिरः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत १७ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा उपाध्यक्ष खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको प्रशासकीय केन्द्र साँवा थलङमा बुधवार सुरु भएको प्रतियोगिता बिहीबार राति अबेर सम्पन्न भएको हो । 

प्रतियोगिताको पुरुष डबल सिनियर ‘ए’, तर्फ दीपेन गुरुङ र मिलिन गुरुङको जोडी प्रथम र नवीन सिलवाल र चाणक्य पाठकको जोडी द्वितीय भएको छ । पुरुष डबल सिनियर ‘बी’, तर्फ भने अनीश लावती र विपिन सेडाइँको जोड तथा मिहाङ राई र जुनुन राईको जोडी क्रमशः प्रथम र द्वितीय भएको छ । 

यस्तै कर्मचारीतर्फ मिङ्मा शेर्पा र डिकबहादुर राउतको जोडीले प्रथम तथा मचिन्द्र लिम्बू र विवश लिम्बूको जोडीले द्वितीय स्थान हासिल गरेको छ । त्यसै गरी भेट्रान्स (४५ वर्षमाथि) समूहतर्फ मानबहादुर पालुङ्वा र भूपाल रानाको जोडी प्रथम तथा राम नेयोङ र नरेन्द्र इधिङ्गोको जोडी द्वितीय भएको छ । 

प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः पुरुष डबल सिनियर ‘ए’ ४५ हजार र ३० हजार रुपियाँ, सिनियर ‘बी’ तर्फ ३५ हजार र २५ हजार रुपियाँ, कर्मचारीतर्फ ३५ हजार र २५ हजार तथा भेट्रान्सतर्फ २० हजार र १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । पुरुष डबल सिनियर ‘ए’ र ‘बी’ तर्फ क्रमशः ७ र २४ टोली, कर्मचारीतर्फ १६ र भेट्रान्सतर्फ ६ टोली (जोडी) को सहभागिता रहेको थियो । 

यता प्रतियोगिताका विजेताहरूलाई मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की र उपाध्यक्ष डण्डु लामाले पुरस्कार तथा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगिता मिक्वाखोला गाउँपालिकाले आयोजना गरेको हो ।